२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

खप्तड रंगशालालाई राष्ट्रिय स्तरको खेलमैदानका रुपमा स्तरोन्नती गरिने छ : नगर प्रमुख खड्का

दिपायल– दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का (विजय)ले नगरमा एउटा राष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्ने बताए । नगरपालिकाले राजपुरस्थित खप्तड रंगशालामा आयोजना गरेको “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१” को उद्घान गर्दै उनले नगरका सबै वडाहरुमा खेलमैदान निर्माण गर्नुका साथै नगरमा एउटा राष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्ने बताएका हुन् ।
नगरपालिकासँग ३ वटा खेलमैदानहरु भए पनि त्यो पर्याप्त नभएको बताए । खेलमैदान निर्माणका लागि आन्तरिक तयारी भइरहेको बताउँदै उनले सिलगढी क्षेत्रमा खेलमैदान निर्माणका लागि आगामी आर्थिक वर्षमा १५ देखि २० रोपनी जमिन खरिद गर्ने तयारी रहेको बताए ।
“खेलकुद सबैका लागि आवश्यक छ,‘नगर प्रमुख खड्काले भने,‘खेलकुद क्षेत्रको विकासका लागि चाहिने पहिलो पूर्वाधार भनेको खेलमैदान हो । खेलमैदान भएपछि मात्रै उत्कृष्ठ खेलाडी उत्पादन हुने भएकाले खेलमैदानको आवश्यकता रहेको छ । आज खेल जगतमा धेरै मान्छेहरुको आकर्षण बढेको छ । त्यो कुरा दिपायल सिलगढी सरकारले गहिरो ढंगबाट बझेको छ, तसर्थ नगरका प्रत्यक वडाहरुमा खेलमैदान निर्माण गरिने छ ।”
राजपुरमा रहेको खप्तड रंगशालाको स्तरोन्नतीका लागि प्रक्रिया अगाडी बढीसकेको बताउँदै नगर प्रमुख खड्काले अदालतको घर रहेको जमिन नगर विकासको नाममा दर्ता हुने प्रक्रिया अगाडी बढेको बताए । सो जमिन नगर विकासको नाममा दर्ता भएपछि रंगशालालाई जिल्ला, प्रदेश र राष्ट्रिस्तरका खेलकूद प्रतियोगिता आयोजना गर्न सक्ने गरि स्तरोन्नती गरिने उनले बताए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भलिबल प्रतियोगिताले नगर, जिल्ला, प्रदेश र राष्ट्रको नाम उच्चराख्ने गरी खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गर्दै खेलाडीहरुलाई शुभकामना व्यक्त गरे ।
नगर उप–प्रमुख कल्पना महर साउदले खेलाडीहरुलाई अनुशासित र मर्यादित भएर प्रतियोगितामा सहभागि हुन आग्रह गरिन् । साथै उनले जनप्रतिनिधि तथा स्थानीयहरुलाई प्रतियोगिता सफल पार्नका लागि सहयोग गर्न अनुरोध गरिन् ।
प्रतियोगिताको खप्तड रंगशाला राजपुरमा शनिबार उद्घटान गरिएको हो । प्रतियोगितामा नगरपालिकाका ९ वटै वडाबाट ९ वटा टिम सहभागि रहेका छन् । आजको खेलमा वडा नं. ८ र वडा नं. ६ बीच पहिलो खेल भएको थियो भने वडा नं. २ र वडा नं. ७ बीच दोस्रो खेल भएको थियो । प्रतियोगितामा वडा नं. ८ र वडा नम्बर २ ले लगातार दुई सेट हात पारेर जित हासिल गरेका थिए ।
प्रतियोगिता ५ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेता टिमले नगद एक लाख रुपैंयासहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार र तेस्रोले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित ५० हजार रुपैंया पुरष्कार प्राप्त गर्नेछन् ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ फाल्गुन ३

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP