२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

खप्तडमा खेलकुद : ३२ किलोमिटरको यात्रा २ घण्टा १८ मिनेटमा पार

दिपायल- धार्मिक एवं पर्यटकीय स्थल खप्तडमा म्याराथन तथा भलिवल प्रतियोगिताको आयोजना गरिएको छ । खप्तड तथा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि गंगा दशहराको अवसर पारेर खप्तड राष्ट्रिय निकुञ्जमा खेलकुद प्रतियोगिताको आयोजना गरिएको हो ।

गंगा दशहरा पर्वको अवसरमा उद्योग वाणिज्य संघ, नेपाली सेनाको भैरब प्रसाद गण सिलगढी र नम्बर पाँच बाहिनी अड्डा राजपुर डोटीले प्रतियोगिताको आयोजना गरेको थियो । म्याराथन र भलिवलसँगै खप्तडमा डेउडा प्रतियोगिता र योग शिविरसमेत आयोजना गरिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष खेमराज भण्डारीले जानकारी दिनु भयो । जेठ २५ र २६ गते भलिबल प्रतियोगिता, २७ गते डेउडा प्रतियोता र शनिबार म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो ।

धार्मीक र पर्यटकीय स्थल खप्तड र सुदूरपश्चिमको चर्चित शैलेश्वरी मन्दिरसम्म म्याराथन प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितालाई म्याराथन भनिए पनि दौडको दूरी भने जम्मा ३२ किलोमिटर रहेको थियो । जबकि म्यानथनको दूरी ४२.१९५ किलोमिटर हुने गर्छ ।

‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’ नामक प्रतियोगितामा नेपाली सेनाको भवानी गण बक्स अछामका अमलदार सुशीलकुमार शाही प्रथम हुनुभएको छ । उहाँले ३२ किलोमिटरको दुरी २ घण्टा १८ मिनेट ३१ सेकेण्डमा पार गर्नु भयो ।

४० जना प्रतिष्पर्धी रहेको उक्त प्रतियोगितामा रणवम गण डडेल्धुराका सिपाही नरेश सिंह बोहरा २ घण्टा ३० मिनेट ५७ सेकेन्ड पार गर्दै द्वितीय हुनुभयो । त्यस्तै रणवम गण डडेल्धुराकै सिपाही राम सिंह पाल २ घण्टा ३२ मिनेट ४३ सेकेन्ड पार गर्दै तेस्रो हुनुभयो ।

प्रतियोगितामा मेल्लेक गाउँपालिका ५ का सिभिल सागर धामी २ घण्टा ३५ मिनेट ४० सेकेन्डमा पार गर्दै चौथो हुनुभयो भने त्रिवेणी नगरपालिका बाजुरा घर भएका सागर सार्कीले २ घण्टा ४४ मिनेट ५ सेकेन्डमा दूरी पार गर्दै पाँचौ हुनुभयो ।

म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुने धावकहरुले क्रमशः १ लाख, ७५ हजार, ५० हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै ५ जनाले १० हजारका दरले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो भने म्याराथन दौड पुरा गर्ने अन्य ३२ जनाले प्रोत्साहन स्वरुप ३ हजारका दरले पुरस्कार प्राप्त गर्नु भयो ।

भलिबल र डेउडा प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेहरुलाई क्रमशः २५ हजार १५ हजार र १० हजार उपलब्ध गराइएको खेलकुद व्यवस्थापक प्रेम भण्डारीले जानकारी दिनु भयो ।

खप्तडको धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्व दर्शाउने हेतुले सुदूरपश्चिमको पर्यटन प्रवर्धनलाई ध्यानमा राखी व्यापक प्रचार प्रसार गर्नुका साथै युवाहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने सोचका साथ खेलकुद र पर्यटनलाई जोडर प्रतियोगिताको आयोजना गरिएको डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताउनु भयो ।

खप्तडको धार्मिक र सांस्कृतिक महत्व सँगसँगै पर्यटकीय प्रवर्धन गर्नु पर्ने आवश्यकता देखे पछि छोटो समयमा प्रतियोगिता गर्ने योजना बनेको प्रमुख सेनानी जनमत कार्कीले बताउनु भयो । ‘खप्तड जस्तो प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन र यसको विज्ञापन कसरी गर्न सकिन्छ भन्ने सोचले हामीले यो कार्यक्रमको आयोजना गरेका हौं, उहाँले भन्नुभयो,‘ यो प्रतियोगिताले राष्ट्रकै गहना खप्तड पुग्न सहज छ भन्ने शन्देश समेत दिएको छ ।’

Related News

पाँचौँ पटकमा प्रचण्डले पाएनन् विश्वासको मत, १८ महिनामा ढल्यो सरकार
पाँचौँ पटकमा प्रचण्डले पाएनन् विश्वासको मत, १८ महिनामा ढल्यो सरकार
  • २०७९ जेष्ठ २८

काठमाडौ– पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

TOP