२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

भोली जिल्लाभर डोटी कांग्रेसले कार्यक्रम गर्दै : कुन स्थानीय तहमा कस्ले सम्बोधन गर्ने

डोटी- नेपाली कांग्रेस डोटीले बिहीबार जिल्लाका सबै स्थानीय तहहरुमा कार्यक्रम गर्ने भएको छ । ४५औं राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा जिल्लाका नौ वटै स्थानीय तहहरुमा कार्यक्रम तय गरिएको कांग्रेसले जनाएको छ ।

विभिन्न स्थानीय तहको कार्यक्रमका लागि प्रतिनिधि समेत तोकेको नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले बताए । जोशीका अनुसार आदर्श गाउँपालीकामा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर नगरपालिकामा प्रदेशसभा सदस्य भरत बहादुर खड्काले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पार्टी सभापती प्रदिप कुमार देउवाले पूर्वीचौकी गाउँपालिकाको कार्यक्रम सम्बोधन गर्ने छन् भने पार्टी सचिव नारायण जोशीले दिपायल सिलगढी नगरपालिकाको कार्यक्रमलाई सम्बोधन गर्ने छन् । सायल गाउँपालिकामा क्षेत्रीय सभापति विजय खड्कालाई खटाईएको छ । त्यस्तै बडीकेदार गाउँपालिकाको कार्यक्रमका लागि महाधिबेसन प्रतिनिधि रामप्रशाद उपाध्यायलाई खटाईएको छ ।

जोरायल गाउँपालिकाको कार्यक्रमका लागि महासमिति सदस्य वीरबहादुर जेठारा, केआईसिंह गाउँपालिकाका लागि जिल्ला सदस्य जित बहादुर खड्कालाई प्रतिनिधि तोकिएको छ । बोगटान फड्सील गाउँपालिकाको कार्यक्रमका लागि जिल्ला सदस्य शुशिल घर्तीलाई खटाईएको सचिव जोशीले जानकारी दिए ।
स्थानीय तहका प्रमुख तथा उप–प्रमुख, स्थानीय तहका पार्टी सभापति, भातृ संगठनका प्रमुख तथा प्रतिनिधि तथा अन्य नेताहरुलाई समेत सम्बन्धित पालिकामा तोकिएको छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको सन्देश लिएर प्रवासी जीवन त्यागेर भारतबाट नेपाल आएको सम्झनामा यसपटक पनि डोटी लगायत देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनाउने कार्यक्रम रहेको छ ।

बीपी त्यतिबेला नेपाल आउँदा तत्कालीन सरकारले गोली ठोकेर मार्न पनि सक्दथ्यो । तर, उनले आफ्नो ज्यानको बाजी लगाएर गणेशमान सिंह, शैलजा आचार्य लगायतसँग नेपाल आएका थिए । बीपीको एउटै उद्धेश्य थियोह देशभित्रका समस्याको समाधान सार्वभौम जनताबाट नै गरिनुपर्दछ । आपसमा समझदारीबाटै समाधान हुन्छ । उनले त्यतिबेला देश रक्षाका लागि दल र राजा मिल्नुपर्ने धारणा राखेका थिए । तर ८ वर्ष प्रवास बसेर फर्केका बीपीलाई मेलमिलापको वातावरण बनाउनुको सट्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै तत्कालीन सुन्दरीजल बन्दीगृहमा पुर्याइएको थियो ।

बीपी जेल परे पनि मेलमिलापको ढोका भने खुल्यो । ०३३ सालपछिका जति पनि क्रान्ति र परिवर्तन भए त्यसमा बीपीको त्यही मेलमिलाप र एकताको नीतिले काम गरिरहेको छ । बीपी २०३९ सालमा बिते । काँग्रेसले हरेक वर्ष पुस १६ गते देशव्यापीरूपमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७७ पुष १५

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP