धार्मिक, सांस्कृतीक तथा परम्परागत कार्यमा प्रभाव
डोटी- कोरोना भाइरस (कोभिड १९) को महामारी पछि धार्मिक कृयाकलापमा समेत प्रभाव परेको छ । आ–आफ्नो धर्म परम्परा संस्कृती अनुसार मनाइने मेला पर्व, जात्रा, विवाह, व्रतबन्द, काजक्रिया लगायतका कार्य समेत कोरोना महामारीका कारण प्रभावित बनेका छन् ।
सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने डोटीको बडीकेदार मेला यो वर्ष कोरोना संक्रमणकै कारण रोकीएको छ । मेलाले गर्दा कारोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै गाउँपालिकाले सूचना जारी गर्दै उक्त मेला नहुने जानकारी दिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बडीकेदार गाउँपालिकाले आफ्नो गाउँपालिकाभर यो वर्ष मेला पर्व नगर्ने निर्णय गरेको हो । गाउँपालिकाले तिहारको देउसीभैलोदेखि ठूला मेलापर्वहरु समेत नमनाउन तथा त्यस्ता मेलामा नजान स्थानीयवासीलाई आग्रह गरेको थियो । त्यसै अनुरुप बडीकेदारमा मेला नहुने भएको छ ।
भक्तजनको मनोकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडीकेदार गाउँपालिका –५ को उच्च लेकाली डाँडामा तिहारपछि लाग्ने उक्त मेला कोरोना संक्रमणका कारण नहुने भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बीकेदार गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र पर्ने बसो धार्मीक स्थलमा यो वर्ष मेला पर्व नगर्ने नगराउने निर्णय गरेको उनको भनाइ छ । सो ठाउँमा आयोजना हुने मेलापर्व भर्न तराई तथा भारतका विभिन्न ठाँउबाट दर्शनार्थीहरु आउने भएका कारण भिड बढि हुने र संक्रमणको जोखिम समेत बढ्ने भएकाले गाउँपालिका भित्र हुने सबै मेलापर्व पूर्णरूपमा बन्द गरिएको अध्यक्ष चन्दले बताए । गाउँपालिकामा मेला पर्व मनाउन रोक लगाइए पनि सामाजिक दूरी कायम गरी शक्तिपीठहरुमा पूजा पाठ गर्न भने रोक नलगाइएको उनले बताए ।
मनले मागेको वर प्रदान हुने विश्वासका कारण उक्त मेलामा देशका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत बर्सेनि हजारौंको संख्यामा भक्तजनहरु दर्शन गर्न तथा आफ्नो भाकल गर्न आउने गरेको केदार मेला व्यवस्थापन समितिका अध्यक्ष गणेश जोशीले बताए ।
यता कोरोना संक्रमणकै कारण डोटीको सदरमुकाम सिलगढीमा रहेको प्रशिद्ध शैलेश्वरी मन्दिरमा लाग्ने जात्रा यो वर्ष सिमित व्यक्तिको उपस्तिथिमा पुजा–पाठ गरेर मात्रै मनाउने तयारी भएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताए । ‘कोरोनाका कारण विश्वनै आतंकित भएका वेला धार्मिक तथा शक्तिपिठमा ठुलो मेला लगाउन उचित छैन भट्टले भने, ‘अहिले कोरोनाको निक्कै महामारी छ । बाचे अर्को साल भव्यताका साथ मनाउला । नेपालकै प्रशिद्ध धार्मिक, ऐतिहासिक एवं पर्यटकीय आकर्षण रहेको शक्तिपीठ शैलेश्वरी भगवती मन्दिरमा यसपाली पुजा आजा मात्रै गरेर मनाउन उपयुक्त ठानेका छौं । त्यसै अनुरुप गरिने छ ।’
स्कन्द पुराणको मानस खण्डमा उल्लेख भए अनुसार शिवले विवाहपछि पार्वतीसँग घुम्दै आउने क्रममा यस क्षेत्रको रमणीय दृष्यबाट लोभिएर यसै क्षेत्रमा सयल गर्दै वर्षौं बिताए । उता स्वर्गमा तारकासुर नामको दैत्यले देवगणहरुलाई आतंकित तुल्याउँदा ब्रह्माजीलाई अघि लगाउदै देवगणहरु भगवान शिवको खोजीमा यस क्षेत्रमा पुग्दा भगवान शिव र माता पार्वती कामवासनामा तल्लिन रहेको देखेपछि माता पार्वती लज्जाले शिला पिण्डमा लुकेकोले त्यसै शिलालाई माता शैलेश्वरीका रुपमा स्थापना भएको कुरा स्कन्द पुराणको मानस खण्डमा उल्लेख गरिएको क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशंकर भट्टले बताए । यही पुण्यभूमिमा १२ वर्षको बनवासपछि अयोध्या फर्की भगवान रामले अश्वमेध यज्ञ सकेपछि आफ्नो गुरु वशिष्टको आज्ञाले चन्दनगिरी पर्वत हालको सिलगढी नगरीमा आई माता शैलेश्वरीको पूजा आराधाना गरेपछि माताले दर्शन दिएको पनि स्कन्द पुराणको मानस खण्डमा उल्लेख रहेकोले यो क्षेत्र धार्मिक, एतिहाँसिक एवं सांस्कृतिक रुपमा महत्वपूर्ण ठाउँ भएको बताउँदै यहाँको मेला पर्व र पुजा आजा महत्वपूर्ण भएपनि यस बर्ष धुमधामका साथ मनाउन नसकिन उनले बताए ।
जात्रा, पर्व, मेला धार्मिक आस्था र मानविय सहिस्णुताका लागि मात्रै नभई मिलनको केन्द्र बिन्दु पनि भएको दिपायल सिलगढी नगरपालिका ६ का ७५ वर्षिय नहकुल सिंह बताउनु हुन्छ । ’आफ्नो कार्यशिलसिलामा प्रवास तथा घर बाहिर रहेका ब्यक्तिहरु मेलापर्वका बेला धार्मिक आस्था सहित बर्षको एक पटक आउनु हुथ्यो सिंहले भने,‘आफन्त साथीभाइ तथा छरछिमेकस्सँग भेटघाट हुने र दुःख सुख साटिने गथ्र्यो तर अहिले कोरोनाका कारण न मेला पर्व न भेटघाट कलियुग यस्तै हुन्छ भन्थ्य हो रहेछ ।’
सिंह भन्छन् ,’ यस्तो रोग कहाँ बाट आयो, मान्छे देखी मान्छे नै डराउनु पर्ने । हूलमूलमा जीउ जोगाउनू, अनिकालमा बीउ जोगाउनू भन्ने पुरानो उखान अहिले लागू हुदैछ । रोग हटे अर्को बर्ष भेट भैहाल्ला । अर्को वर्ष मेला मनाउला । यो बेला सबैले स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ ।’
कोरोनाका कारण सुदूरपश्चिमको मौलिक लोक संस्कृती समेत प्रभावित बनेको छ । बिस्तारै लोप हुदै गइ रहेको नेपाली लोक संस्कृति झल्कने नौमतीबाजा कोभिड–१९का कारण झन् लोप हुने अवस्था पुगेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विवाह , व्रतवन्ध , जात्रा ,मेला पर्वमा सुनिने बाजाको आवाज कम बजेको सुनिन्छ ।
उसै पनि अन्य बाजाको प्रभाब र दमाई जातीको बाजा बजाउने पेसालाई संरक्षण गर्न नसक्दा लोप हुने अबस्थामा पुगेको बाजा कोरोना भाइरसका कारण झन् कम प्रयोगमा आएको बताउनु हुन्छ बोगटा गाउँ पालिका–६ गगुडाका शेर बहादुर नेपाली । ‘परापुर्ब काल देखिनै राज्याभिसेक, विवाह, व्रतबन्ध, पुजा र अन्य खुसीयालीका कार्यमा घन्कने लोक बाजा अन्तर्गत पर्ने नौममती बाजा लोप हुन थालेको छ नेपालीले भने,‘नौमती बाजा लोप हुँदा पनि बाजा संरक्षण गर्न कुनै पक्षले पहल गरेको पाईदैन ।’ दमाहा, टेम्को, सनई , कर्नाल, धंकुरी, झ्याली लगायतका बाजाहरु मिलाएर १०, ११ जनाको समुहले बजाउने बाजाहरु अहिले फाटफुट मात्रामा मात्र देखीने गरेको उनी बताउँछन् ।
आफ्ना बाबु बाजेले गर्दै आएको काम आफुहरुले पनि गर्दै आएको तर नँया पुस्ताले बाजा बजाउने काम गर्न नखोजे पछि लोप हुने अबस्थामा पुगेको बताउनु हुन्छ आदर्श गाउँ पालिका–६ बसखोलाका कटे नेपाली । मौलिक संस्कृति अन्तर्गत पर्ने नौमती बाजा संरक्षणकालागि कहि कतैबाट सहयोग नभएको बताउँदै उनले सहयोग गरेर बाजा संरक्षण अभियानमा लाग्न आग्रह गरे । बाजाको तालमा छमछम नाचिने बाजाहरु अहिलेका बिभिन्न गीत, संगीतले बिस्थापीत गर्न खोजेका छन् उनले भने ।
बाजा बजाउनेहरुलाई जातीयताको आधारमा गरिने व्यवहार र बाजा बजाएर मात्रै जिविकोपार्जन गर्न समस्या हुन थालेपछि उनीहरु अहिले अन्य पेसाको खोजीमा लागेका हुन सक्ने साहित्यकार तथा मुर्तिकार धनबहादुर मल्ल बताउनु हुन्छ । यस्ता मौलिकता बोकेका लोक संस्कृती झल्किने बाजागाजा र संस्कृतीलाई बचाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नु पर्ने मल्ल बताउँछन् ।
कोरोना भाइरसले धार्मिक परम्परा तथा तामझामका साथ मनाइने विवाह, व्रतबन्द, न्वारन, जन्मदिन, निधन पछि गरिने कर्मकाण्ड लगायतका कार्यमा समेत प्रभाव पारेको छ । यस्ता कार्यक्रमहरुमा आफन्त, छिमेकी तथा साथीभाईहरुको उल्यखे उपस्थिति हुने गरेको भएपनि यो वर्ष यस्ता कार्यक्रमहरुमा समेत प्रभा परेको छ ।
यस्ता कार्यक्रममा आफन्त तथा छिमेकीको उपस्तिथि नभए, कार्यमा निम्ता नदिए मनमुटाब हुने गरेको पाइन्छ । यस्ता कार्यक्रमले सामाजिक घुलमिल, समाजमा त्यो परिवार र ब्यक्तिको मानसम्मान, अस्थित्व र प्रतिस्ठासँग मानिसको सहभागिता तथा तामजामले आलंकन गरिन्थ्यो । तर यो वर्ष यस्ता कार्यहरु सिमित व्यक्तिहरुको उपस्थीतीमा बनाउँनु पर्ने बाध्यता रहेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले खुला तरिकाले विवाहामा आफन्तहरुलाइ बोलाएर मनाउन नसकीएको तितो यथार्थ सुनाउनु हुन्छ शिखर नगर पालिका ११ का चक्र बलायर । ‘कोरोना संक्रमणको जोखिमका कारण सबै साथी भाइ ,आफन्त बोलाएर खुशीसाटासाट गर्न सकिएन, बलायरले भने,‘धेरै आफन्त, इष्टमित्र र साथीभाइलाई नबोलाउँदा दुखेसो पनि सुनियो तर कोरोना बाध्यता थियो धेरैलाई बुझउन कोशिस गरे कसैले बुझे भने कोही रिसाय ।’
गत महिना मात्रै छोरीको विवाह सम्पन्न गरेका दिपायल सिलगढी नगरपालिका ४ का धर्म कठायत पनि कोरोनाका कारण विवाह खल्लो भएको बताउँछन् । कोरोनाका कारण आफन्त, छरछिमेकी इष्टमित्रसँगको भेटघाट सहभागिता र धार्मिक परम्परा अनुसार कन्यादान गरी छोरोको विवाह गर्न नपाए पछि सिमित सहभागितामा विवाह कार्य सम्पन्न गर्नु परेकाले खल्लो महशुस भएको उनको भनाइछ ।
कोरोनाले गर्दा मानिसको निधन पछि गरिने दाहसंस्कार, कर्मकाण्डमा समेत प्रभाव परेको देखिन्छ । कोही मानिसको अस्पतालमा अन्य केही कारण मृत्यु भए पनि सहभागिता नहुने, घरमा निधन भए पनि मृत्यु पछि गरिने कर्मकाण्डमा परम्परा अनुसार मानिस जम्मा पारेर कार्य गर्न सकिने अवस्था नरहेको कतिपय ब्यक्तिहरु बताउँछन् ।
नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)को सहकार्यमा तयार पारिएको रिपोर्ट
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...