एउटा केटाले एउटी केटीसँग भेट्यो। उसलाई ऊ निकै मन परी। केटीले केटालाई आफू पहिले अर्कै पुरुषसँगको सम्बन्धमा रहेको र निकै हिंंसामा परेको कथा सुनाई।
मायामा चुर्लुम्म प्रेमीले आफ्नी प्रेमिकाको सधैं रक्षा गर्ने अठोट गर्यो। त्यसबेला उसलाई लागेको थिएन ऊ आफ्नी प्रेमिकाबाटै घरेलु हिंसाको शिकार बन्ला भन्ने। तर भयो त्यस्तै।
जर्मनीमा बस्ने टामी वाइसेनबेर्गकी प्रेमिकाले सुनाएकी थिइन् यो कथा। वाइसेनबर्ग प्रेमिकाको दुःखद् विगत सुनेर द्रविभूत भए। उनले पुरुष हिंस्रक हुँदैनन् भनेर प्रमाणित गर्ने अठोट गरे। तर, वाइसेनबेर्गलाई उसकी प्रेमिकाले सुनाएको कथा मनगढन्ते थियो भन्ने थाहा पाउन ६ वर्ष लाग्यो।
हिंसाको हतियार भावनात्मक निर्भरता
सुगठित शरीर भएको युवा पुरुष वाइसेनबेर्ग घरेलु हिंंसामा पर्यो होला भनेर पत्याउन जो कोहीलाई गाह्रै पर्छ। रहँदाबस्दा दुवै जोडी एकअर्का प्रति अति निर्भर हुन थाले।
वाइसेनबेर्ग भन्छन्, ‘हामी एकपटक छुट्टी मनाउन गएका थियौं। होेटलमा एउटा कोठा बुक गरेका थियौं। मेरी प्रेमिकालाई त्यो कोठा मन परेन र उसले त्यसको पैसा तिर्न अस्वीकार गरी।’
त्यसबाहेक प्रेमिकाले राति नै होटल म्यानेजरलाई भेटेर उसको होटल निकै घटिया छ भन्न र अर्को होटल खोज्न वाइसेनबर्गलाई दबाब दिइन्। वाइसेनबर्ग भन्छन्, ‘कोठा ठिकै थियो, मैले उसले भनेको नमानेपछि ऊ झगडा गर्न थाली। त्यसपछि म त्यो होेटलबाट एक्लै निस्किएँ।’
त्यसपछि उनकी गर्लफ्रेन्ड कारमा आइन् र वाइसेनबर्गलाई भेट्नेबित्तिकै गालामा अनगिन्ती चट्कन लगाइन्, चिच्याउन थालिन्। यो घटनाको केही दिनपछि प्रेमिकाले आफू बाल्यावस्थामा असुरक्षित जीवन बाँचेकाले कहिलेकाहीँ उत्तेजक र हिंस्रक व्यवहार देखाउने गरेको बताइन्। वाइसेनबर्गको मन पग्लियो, उनले प्रेमिकालाई झन् धेरै माया गर्न थाले।
समय बित्दै जाँदा भावनात्मक निर्भरता बढ्दै गयो। वाइसेनबेर्गलाई लाग्न थाल्यो, ‘म त घरेलु कामदारमा रुपान्तर भइसकेको छु, जसलाई निश्चित समयमा निश्चित काम ठिक तरिकाले गर्नैपर्छ।’
आफ्नी प्रेमिकाका सबै नियमको पूर्ण पालना गर्नु उनको जीवनको उद्देश्य जस्तै बन्न थाल्यो। प्रेमिकालाई यदि कुनै फल खानुपर्यो भने कुन रुखको कुन फल खाने, त्यसलाई कसरी टिप्ने र प्लेटमा कसरी पस्किने जस्तो उनका आफ्नै नियम थिए। उनी भन्छन्, ‘यो क्रममा अलिकति पनि गल्ती भयो भने त्यसको परिणाम भोग्न म तयार रहनुपर्थ्याे ।’
केही कुरा चित्त बुझेन भने प्रेमिका मारपिटमा उत्रिन्थिन्। एक पटक त वाइसेनबेर्गको हात भाँच्चिएर अस्पतालमा भर्ती हुनुपर्यो। यसपटक पनि वाइसेनबर्गले न आफूलाई बचाउने प्रयास गरे, न त प्रतिकारमा प्रेमिकामाथि हात उठाए।
उनी कोसँग भेट्ने, कोसँग नभेट्ने पनि प्रेमिकाले नै तय गर्थिन्। परिवारका जुन जुन सदस्यलाई उनीहरुको सम्बन्धबारे शंंका थियो, उनीहरुबाट समेत वाइसेनबर्ग टाढिँदै गए। ‘केही वर्षसम्म प्रेमिका आफैंले सबै कुरा बुझ्लिन् र अवस्थामा सुधार आउला भनेर पर्खिएँ तर, त्यो दिन कहिल्यै आएन,’ वाइसेनबेर्ग भन्छन्।
खतरामा पुरुष
टामी वाइसेनबेर्गसँग जे भयो त्यसैैसँग मिल्दाजुल्दा घटनाबारेको गुनासा एक वर्षभित्र जर्मनीमा २६ हजार पुरुषले दर्ता गराएको त्यहाँको प्रहरीले जनाएको छ। जर्मनीको आधिकारिक तथ्यांकले देखाउँछ त्यहाँ घरेलु हिंसाको गुनासो दर्ता गराउनेमध्ये करिब २० प्रतिशत पुरुष छन्।
उत्तरी इंंग्ल्याण्डको कम्ब्रिया विश्वविद्यालयमा अनुसन्धानकर्ता एलिजाबेथ बेट्सका अनुसार समाज पुरुषलाई अपराधी ठान्न कत्ति पनि ढिलो गर्दैन र उनीहरुलाई पीडित ठान्न सजिलो मान्दैन।
उनी भन्छिन्, ‘कतिपय टेलिभिजन वा कमेडी शोमा मानिसहरुलाई हँसाउन पुरुषमाथि अत्याचार भएको देखाइन्छ। महिलाबाट पुरुष प्रताडित भएको देखेर दर्शक हाँस्छन्। तर, यसको नकारात्मक प्रभाव पीडित पुरुषमा परिरहेको हुन्छ।’
अधिकांश घटनामा लज्जा र हाँसोको पात्र बनाइने डरले पुरुष यस्ता घटना अरुलाई सुनाउँदैनन्। बेट्सको अनुसन्धानका अनुसार लामो समय हिंंसा ब्यहोरेका पुरुषमा मानसिक र शारीरिक समस्या आउन थाल्छ।
जर्मनीको पारिवारिक मामिला मन्त्रालयको एउटा अध्ययनले देशमा प्रत्येक छैटौं पुरुषलाई उसकी महिला पार्टनरले रिसमा धक्का दिएको र करिब १० प्रतिशत पुरुषले थप्पड खाएको वा अन्य वस्तुले हिर्काउँदा ठूलो चोट खाएको देखाएको छ।
सबैभन्दा आम गुनासो भावनात्मक आक्रमणको छ। यो अध्ययनका सह–लेखक राल्फ पुसेर्ट भन्छन्, ‘जीवनमा कहिलेकाहीँ आफ्नो पार्टनरबाट हिंंसा व्यहोरेका महिला र पुरुषको संंख्या बराबर नै छ। यद्यपि, गम्भीर प्रकृतिका हिंसा भने महिलामाथि बढी भएका छन्।’
वैश्विक समस्या
पुरुष हिंसा जर्मनीमा मात्र हुँदैन। मेक्सिकोमा त घरेलु हिंसाका कुल पीडितमध्ये २५ प्रतिशत पुरुष हुन्छन्। केन्या, नाइजेरिया र घानाजस्ता अफ्रिकी देशमा महिलाहरु आफ्ना पतिलाई उसको बेरोजगारी वा गरिबीको बहानामा पिट्ने गर्छन्। यस्ता पीडितका लागि अधिकांंश देशमा राम्रो ‘सपोर्ट सिस्टम’ छैन। ग्रामीण क्षेत्रमा त कसैका लागि पनि छैन।
पछिल्लो समय नेपाल र भारतमा पनि यस्ता गुनासाहरु बढ्न थालेका छन्। पुरुष हिंंसामा परेको गुनासो न त समाजले स्वीकार गर्छ, न त यस्तो कुरालाई गम्भीरतापूर्वक लिइन्छ। घरेलु हिंंसाबाट पीडित केही पुरुषले आत्महत्या गरेको समेत पाइएको छ।
जर्मनीमा विस्तारै अवस्थामा परिवर्तन आउँदैछ। यस वर्षदेखि घरेलु हिंंसा पीडित पुरुषका लागि टेलिफोन हेल्पलाइन सुरु पनि भएको छ। बिलेफेल्ड सहरमा रहेको ‘म्यान ओ मान’ सल्लाह केन्द्रमा कार्यरत आन्द्रेआस हासे भन्छन्, ‘फोन निरन्तर बजिरहन्छ। पुरुष आफ्नो गुनासो सुनाउने ठाउँ खोजिरहेका छन्।’
विशेषज्ञहरुका अनुसार सबैभन्दा पहिले त पुरुषले उनीहरु पनि पीडित हुनसक्छन् र पीडित हुने उनीमात्रै विश्वका एक्ला होइनन् भन्ने राम्रोसँग बुझ्नु पर्छ।
बिलफेल्डको हेल्पलाइनमा फोन गर्ने पुरुषलाई सबैभन्दा पहिले यही कुरा बुझाइन्छ, यसबाट पुरुषलाई केही राहत पुग्छ।
टामी वाइसेनबेर्ग पनि जब आफू हिंंसामा परेको कुरामा स्पष्ट भए, त्यसपछि उनले घर छाडे। अहिले उनी एउटा सेल्फ–हेल्प समूह बनाएर घरेलु हिंंसा पीडित पुरुषको सहयोगमा जुटेका छन्।
यद्यपि, विश्वमा महिला र बालिकामाथि हुने घरेलु हिंसा अत्यधिक र सर्वत्र छ। कोरोना कालमा त महिला हिंसा झनै बढेको छ।
यो सत्य हो, महिलामाथि हुने घरेलु हिंसा निकै गम्भीर हुन्छ। नेपालजस्तो देशमा त यो समस्या झनै विकराल छ। तर, पुरुषले घरेलु हिंंसा व्यहोर्दैनन् भन्ने चाहिँ सत्य होइन।
–जर्मन पत्रिका डोयचे वेलेबाट अनूदित
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...