२०७८ आश्विन ९, शनिबार
September 25, 2021, Saturday
अदालतले तारेखमा छोडिदिँदा अन्याय भएको पीडितको गुनासो

बलात्कार पछि किशोरीलाई गर्भवती बनाएको आरोप लागेका शिक्षक तारेखमा छुटे

डोटी — छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छोडेको छ ।

केआईसिंह गाउँपालिका–४ की १९ वर्षीया किशोरी गर्भवतीसमेत थिइन् । गाउँकै झिमेमालिका माविका शिक्षक सोफीनाथ भट्टले बलात्कार गर्दा गर्भ बसेको किशोरीले बताएकी छन् ।

कारागार पुर्‍याउनुपर्ने व्यक्तिलाई अदालतले तारेखमा छोडिदिँदा अन्याय भएको पीडितको गुनासो छ । ‘अदालतप्रतिको विश्वास नै गुम्यो,’ किशोरीका काकाले भने, ‘एकातिर गर्दै नगरेको गल्तीले छोरीको भविष्य बर्बाद भयो, अर्कातिर दोषीलाई थुनामा राख्नुको साटो अदालतले मनोबल बढाएर गाउँमा पठाइदियो ।’

कात्तिक १ गते जिल्ला अस्पताल डोटीमा परीक्षण गर्दा किशोरीको पेटमा १३ साता ४ दिनको भ्रूण रहेको पुष्टि भएको थियो । उनले काठमाडौं गएर गर्भपतन गराइसकेकी छन् ।

जिल्ला अदालत डोटीका न्यायाधीश विदुर काफ्लेको इजलासले बुधबार भट्टलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतको फैसला चित्त नबुझेपछि उच्च अदालतमा पुनरावेदन गरेको सरकारी वकिलको कार्यालय डोटीका न्यायाधिवक्ता पूर्णबहादुर केसीले बताए ।

शिक्षक भट्टले विद्यालयको वनभोजमा गएका बेला खिचिएको तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ । त्यसपछि उनले सबै घटना बताएपछि परिवारले किटानी जाहेरी दिएको थियो ।

जिल्ला न्यायाधीश काफ्लेले ‘प्राप्त प्रमाणका आधारमा प्रतिवादी भट्ट कसुरदार रहेको विश्वास गर्ने ठाउँ भए पनि उनी शारीरिक अशक्त हुनुका साथै अभियोग र अधिकतम सजायलाई आधार मानेर थुनामा राख्नुपर्ने आवश्यकता नरहेको’ उल्लेख गरेका छन् ।

आरोपित भट्ट एउटा खुट्टा खुम्च्याएर हिँड्छन् । न्यायाधिवक्ता केसीले मुलुकी फौजदारी संहिता २०७४ अनुसार भट्टलाई तत्काल फेला परेका प्रमाणका आधारमा ७ देखि १० महिनासम्म कारागारमा राखी पुर्पक्ष गर्न सकिने व्यवस्था हुँदाहुँदै धरौटीमा पुर्पक्ष गर्ने आदेश चित्तबुझ्दो नभएको बताए ।
ekantipur.com बाट

Related News

समाज कल्याण परिषदका पदाधिकारीले दिए सामूहिक राजीनामा
समाज कल्याण परिषदका पदाधिकारीले दिए सामूहिक राजीनामा
  • २०७७ कार्तिक २२

काठमाडौं – सरकार परिवर्तन भएसँगै समाज कल्याण परिषद्का पदाधिकारी पनि बाहिरिएका छन् । तत्कालिन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले...

चितवनबाट बादलले भने, ‘अबको चुनाव प्रचण्ड भर्सेस बादल हुन्छ’
चितवनबाट बादलले भने, ‘अबको चुनाव प्रचण्ड भर्सेस बादल हुन्छ’
  • २०७७ कार्तिक २२

काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा‘बादल’ले आफू प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएका छन् । आज...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, विधान महाधिवेशनबारे छलफल
एमालेको केन्द्रीय कमिटी बैठक सुरु, विधान महाधिवेशनबारे छलफल
  • २०७७ कार्तिक २२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको हो ।...

TOP