२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

विव्यसमा प्रधानाध्यापकको हस्तक्षेप : आठौं महिनासम्म समितिले पाएन पूर्णता

बोगटान- विद्यालय व्यवस्थापन समिति गठनका लागि प्रक्रिया अघि बढेको आठौं महिना बितिसक्दा पनि समितिले पूर्णता पाएको छैन । बोगटान फुड्सिल गाउँपालिका– २ मा रहेको केदार अखडा माविको विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया हाल सम्म पूर्ण हुन नसकेको हो ।

समिति गठन प्रक्रियामा प्रधानाध्यापकले हस्तक्षप गरेर आफु निकटका मान्छेलाई मात्र समितिमा राख्न खोजेपछि लामो विवादका कारण समितिले पुर्णता नपाएको स्थानीयको आरोप छ । अघिल्लो शैक्षिक सत्रको माघ महिनामा विव्यस गठन प्रक्रिया शुरु भएको थियो । माघ १८ गते विव्यस गठनका लागि भनि अभिभावक भेला बोलाईएको स्थानीयले बताए । सो दिन अभिभावक भेलाबाट समिति गठनका लागि कुनै निर्णय नभएको स्थानीयको भनाई छ ।

अभिभावक भेला बोलाएको दिन उपस्थिति मात्र भयो निर्णय हुन सकेन । त्यसको दोस्रो दिन प्रधानाध्यापकले आफु निकटका केही व्यक्तिहरुलाई मात्र बोलायर अभिभावक भेला भएको दिनको उपस्थितिलाई आधार बनाई ४ जना सदस्य मनोनयन गरेको स्थानीयले गुनासो गरेका छन् । प्रधानाध्यापक गुमान सिंह बोहराले शिखर समाचरासँगको कुराकानीमा अभिभावक भेलाको उपस्थितिलाई आधार बनाएर दोस्रो दिन ८/१० जना प्रतिनिधिहरु बोलायर सदस्यहरु छनोट गरेको स्वीकार गरे ।

शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समिति गठनका लागि शिक्षा विकास तथा समन्वय इकाई, गाउँपालिकाको शिक्षा शाखाका प्रतिनिधिहरुको उपस्थितिमा अभिभावक भेला बोलाउनु पर्ने भए पनि विद्यालयले अभिभावक मात्र बोलायर भेला गराएको स्थानीयको आरोप छ । प्रधानाध्यापक बोहराले समिति गठनका लागि शिक्षा विकास तथा समन्वय इकाई, गाउँपालिकाको शिक्षा शाखा कसैसँग पनि समन्वय नभएको र परम्परागत शैलिमा नै अभिभावक मात्र बोलायर समिति गठनको प्रक्रिया अगाडी बढाउन खोजेको बताउँदै अध्यक्षका आकान्क्षी धेरै भएका कारण समितिलाई पूर्णता दिन नसकिएको बताए ।

प्रधानाध्यापकले समितिमा आफु निकटका मान्छेहरु ल्याएर आफ्नो विगतको कमिकमजोरी ढाकछोप गर्न खोजेको स्थानीयको आरोप छ । प्रधानाध्यापकको निकट भएकै कारण प्रधानाध्यापकको चाहना बमोजिम अभियोग लागेर अदालतमा मुद्धा परेका व्यक्तिलाई समेत समितिका लागि मनोनयन गरिएको स्थानियले गुनासो गरेकाछन् । अभिभावक भेलामा धेरैलेसमितीमा आउने चाहाना गरे पनि प्रधानाध्यापक बोहराले नियमावली देखाउदै अधिकांस आकान्क्षीलाई किनारा लगाएका थिए । आफू प्रतिकुल हुने उम्मेदवारलाई नियमावली देखाएर प्रअले पाखा लगाएको र आफू अनुकुल हुनेलाई नियमावलीको व्यवास्था गरी समितिमा ल्याउने प्रयास गरेको अभिभावकको गुनासो छ ।

अभिभावकहरुले पटक–पटक गल्ती सच्याउन आग्रह गरे पनि विद्यालयले कुनै चासो नदिएको र यसबारे कुरा उठाउँदा उल्टै धम्क्याउने गरेको स्थानीय फणीन्द्र साउदले बताए । प्रकृयागत कुरा गर्दा हामी पदमा भएका बेला जे गरौ, त के गर्छस् भनेर तानाशाह पवृती देखाइ धम्कि दिने काम भएको अभिभावक साउदले गुनासो गरे । साउदले आठौ महिना पुरा हुँदा समेत विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाउनुमा प्रधानाध्यापक बोहरा जिम्मेवार रहेको आरोप लगाए ।

विद्यालय व्यवस्थापन समितिमा आफुलाई सहज हुने मान्छेहरु ल्याउने चाहना भएको तर अभिभावकले नमान्ने गरेको प्रअ बोहराले बताए । आफुले चाहेको मान्छे आउँदा काम गर्न र विद्यालय सञ्चालन गर्न सहज हुने भएपनि स्थानीयले विवाद गर्दा अध्यक्षको टुङ्गो लाग्न नसकेको उनको भनाई छ । समितिका लागि पुराना सबै निर्णयहरु उल्ट्याउन नसकिने बताउँदै प्रअ बोहराले मनोनित भएका सदस्यहरुलाई नै मान्यता दिएर अध्यक्षको टुङ्गो लगायो भने विव्यसले पूर्णता पाउने बताए ।
अभिभावक भेलाको असहमति रहदा रहदै दोस्रो दिन त्यहि उपस्थितिलाई आधार बनाएर आफुनिकटका मनोनित ४ जना सदस्य र ति सदस्यबाट मनोनित दुई जना सदस्य गरी ६ जनाबाटै अध्यक्ष बनाउने तयारी देखिन्छ । वडा कार्यालयले ति ६ जना मध्यबाट एक जनालाई अध्यक्षका लागि सिफारिस गरिदिए समितिलाई पुर्णता दिन सहज हुने प्रअ बोहरा बताउँछन् ।

प्रअ बोहराले विद्यालयका बिषयमा सूचना माग गर्दा समेत सूचना नदिएको स्थानीयले गुनासो गरेको छन् । बोहराले समेत सूचना नदिएको कुरा स्वीकार गरेकाछन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ आश्विन २५

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP