२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

दिपायलमा यात्रु सहायता कक्ष स्थापना

डोटी- आउँदै गरेको दशैँतिहारलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जिल्लाको पिपल्ला बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशँैतिहार नजिकिएसँगै जिल्लामा आउने यात्रुको सहायताका लागि डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

दशैँतिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक अशोकबहादुर खड्काले बताउनुभयो । 

उहाँले भन्नुभयो,“दशैँतिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिएका छन्, यस्तो समयमा यात्रुलाई कुनै पनि कुराको समस्या नहोस् भनेर हामीले सहायता कक्ष खोलेका छौँ, समस्या परे सहायत कक्षमा आएर सहयोग लिन सकिन्छ ।”

आज स्थापना गरिएको उक्त यात्रु सहायत कक्ष विजयादशमी, दिपावली तथा छठ पर्वसम्म राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यति मात्र नभइ यात्रु सहायता कक्षमा खटिएका प्रहरीले भाडामा यात्रु ठगिने, सवारी–साधनमा क्षमता भन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्ने र यात्रुलाई समस्या परेको खण्डमा तत्काल सहयाता गर्ने गरी आदेश दिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लले बताउनुभयो ।

 उहाँले भन्नुभयो,“यात्रु सहायता कक्षमा नागरिकका गुनासा तथा सहयोग गर्नका लागि चौबिसैघण्टा प्रहरी टोली खटिने व्यवस्था मिलइएको छ, गुनासो आए तत्काल प्रहरी टोली परिचालन हुने छ ।” जिल्ला प्रहरी कार्यालय डोटीले यात्रु सहायता कक्षमा दिनमा दुई जना तथा रातिको समयमा एक सवारी साधनसहित अवस्था हेरी आवश्यक सङ्ख्यामा प्रहरी टोली रहेर यात्रुलाई सेवा दिने व्यवस्था गरिएको छ । 

प्रहरीले खोलेको उक्त सहायता कक्षमा यात्रुले आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराबारे जानकारी लिनसक्ने छन् । जिल्लामा अहिले दशैँतिहार पर्वका लागि स्थानीयवासीको चहलपहल बढ्दै जान थालेको छ । यहाँका बजारमा नयाँ लुगाकपडा तथा सरसामान किन्नेको हिजोआज भिड लाग्न थालेको दिपायल पिपल्लास्थित उग्रतारा फेन्सिका मेखराज पाण्डेयले बताउनुभयो । 

उहाँले भन्नुभयो,“कोरोनाको त्रास भए पनि दशैँका लागि लुगाफाटो किन्नका लागि ग्राहक आउन थालेका छन्, उनीहरुका कारण बजारमा चहलपहलसहित व्यवसाय पनि फस्टाउन थालेको छ ।” यसैगरी कामका लागि देशका विभिन्न ठाउँमा गएका यहाँका ९ स्थानीयवासी पनि अहिले आफ्ना घर फर्किन थालेका छन् । कोरोना भाइरसका कारण पहिलेका वर्ष जस्तो दशैँको खासै चहलपहल नभए पनि कोरोना जोखिमबाट जोगिनका लागि सबैले सावधानी अपनाउँदै दशैँका लागि घर आउने क्रम बढेको हो । 

अहिले तराईबाट पहाड आउने गाडीमा प्राय दशैँका लागि भन्दै घर आउनेको सङ्ख्या अधिक रहेको पाइएको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको एक मात्र ट्राफिक प्रहरी पोष्ट बुडरका प्रमुख तथा प्रहरी सहायक निरीक्षक राजेन्द्रबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो,“तराईबाट पहाड आउने गाडी जाँचका क्रममा प्राय दशैँका लागि घर आएको भन्ने नागरिक बढी भेटिन्छन्, उनीहरुका कारण दशँै आएको आभास हुने गरेको छ ।”

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ आश्विन २०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP