१८ दिनदेखि अनसनरत केसीप्रति सरकारी बेवास्ताविरूद्ध नाटक- अश्लील सत्ता
गिरीश गिरी- ललितपुर दरबार स्क्वायरमा बुधबार बेलुकी दौडादौड पुग्दा प्रदर्शन समाप्त भइसकेको थियो।
कात्तिक नाच डबलीमा औंठाछापका दुईवटा बडेमान पोस्टर र भुइँमा केही लतपतिएका रंग मात्र बाँकी थिए।
सत्याग्रही डा. गोविन्द केसीका औंठालाई यतिबेला विभिन्न तवरले प्रदर्शनमा प्रयोग गरिँदै आएको छ। यहाँ त्यसै औंठाछापको मुन्तिर रातो धर्को पनि थियो।
‘संसारमा एक व्यक्तिको अर्कोसँग कदापि नमिल्ने एउटै मात्र निशानी यही औंठाछाप हो,’ पोस्टर तयार पारेका कलाकार रविन्द्र श्रेष्ठ अर्थ्याउँदै थिए, ‘यो तलको रातो रंग चाहिँ रगतको प्रतीक हो, जसले आममानिसको प्रतिनिधित्व गर्छ।’
औंठाछापलाई सिर्जनात्मक तवरले विभिन्न सांकेतिक अर्थमा प्रस्तुत गर्दै आएका कलाकार श्रेष्ठ मुलुकभित्रका मुद्दाहरूमा मात्र सीमित छैनन्। उनले मोबाइल तेर्स्याउँदै केही समयअघि कालो वर्णका अमेरिकीहरूको समर्थनमा चलेको आन्दोलन ‘ब्ल्याक लाइभ्स म्याटर’ बेला तयार पारिएको अर्को पोस्टर देखाए। औंठाछापकै माध्यमबाट तयार पारिएको त्यो दृश्य अत्यन्त प्रतीकात्मक थियो।
तन्नेरी कलाकार श्रेष्ठका अनुसार डा. केसीले सत्याग्रह सुरू गरेदेखि उनी समीपमा रहँदै आएका छन्।
‘तेह्रौं सत्याग्रह बेला म अबेर रातसम्म पनि उहाँसँगै शिक्षण अस्पतालमा बस्ने गर्थें,’ श्रेष्ठ भन्दै थिए, ‘त्यतिबेलै मैले उहाँसँग मागेको यो औंठाछाप प्रयोग गरेर नेपाल र बाहिरी केही मुलुकमा पनि प्रदर्शनहरू आयोजना गरिसकेको छु।’
कात्तिक नाच डबलीमा प्रदर्शन सकिइसकेको थियो। एक फन्को लगाउँदा कोही भेटिएलान् कि भनेर चक्कर मारेँ। ठ्याक्कै पछाडि देखापरे, घिमिरे युवराज। त्यहीँ छेउछाउ फोटोकवि कुमार आले र संसारभर पुतली उडाउँदै हिँडेका अर्का चर्चित कलात्मक अभियन्ता मिलन राई लगायत थिए।
घिमिरेको शरीर अलि असामान्य देखिन्थ्यो। आँखा गढेका थिए, कालो चियाको कप समातेको हात कामिरहेको थियो।
‘चौबीस घन्टादेखि केही नखाएर मैले यो प्रदर्शनमा आफूलाई उभ्याएको थिएँ,’ उनले भने, ‘हाम्रानिम्ति अनसन बस्ने सत्याग्रहीको भोक महशुस नगर्दा प्रस्तुतिमा इमानदारी नआउला भनेर यो क्याथार्सिस अपनाएको हुँ।’
घिमिरे युवराज अहिलेका चिनारू होइनन्। कुनै समय उनी आफैं पनि संवाददाता थिए। पछि अर्को विधामा लहसिए। कलाकारिताको धुनले उनलाई राष्ट्रिय नाचघर हुँदै गुरूकुलको डाँडामा लग्यो।
समाचार संकलन गर्न हिँडिरहने हाम्रा निम्ति त्यो ताका दुईजना युवराज घिमिरे थिए। एक जना तत्कालीन कान्तिपुरका हाम्रा सम्पादक र अर्का यिनै। त्यो ताकै यिनको नाम ‘युवराज घिमिरे’ बाट ‘घिमिरे युवराज’ बन्न पुग्यो। घ्यूजस्ता मानिस भएकाले उनको नामको संक्षेप ‘घियु’ हामीलाई अझ प्रिय थियो।
उमेरमा थोरै तलमाथि हुनसक्छ। तर, काठमाडौंका सडकले ब्यहोरेका दबाबहरूमा हामी एउटै पुस्ताको चाप बनेर अंकित छौं।
हाम्रो पुस्ताले जत्तिको उथलपुथलपूर्ण समय सायदै अरू कसैले भोगे होलान्। ०४७ सालको संविधान कार्यान्वयनदेखि अहिलेको गणतान्त्रिक संविधान कार्यान्वयनका क्षणसम्म।
कुनै समय अस्मिना रञ्जितहरूको आयोजनामा यिनै घिमिरे युवराजहरू ‘विचलित वर्तमान’ शीर्षकमा आन्दोलित थिए। अस्मिनाको अभिव्यक्ति ‘प्रतिस्थापन कला’ र आफूजस्ता रंगमञ्चका कलाकारहरूको ‘पफर्मिङ आर्ट’ बीच बलियो सम्बन्ध रहेको घिमिरे बताउँछन्।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...