२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday
बुढी पोल्ने पर्व

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व

धनगढीः ७ पहाडी जिल्ला सहित सुदूरपश्चिम प्रदेशमा आज वुढी पोल्ने पर्व मनाईदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिनलाई बुढी पोल्ने पर्वका रुपमा मनाउने परम्परा अनुसार आज धुमधामका साथ यो मनाउन लागिएको छ।

प्रत्येक वर्ष असोज संक्रान्तिका दिन पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा बुन्ढुनी पर्व सुदूरपश्चिममा मनाउने गरिएको जनविश्वास रही आएको छ। 

यो पर्वमा गाईबस्तु हेर्ने गोठालाहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वको दिन सल्ला, बाँस लिङगो आदि रुखहरु काटेर बनाएको बुढीलाई पोल्ने चलन छ।

द्वापर युगमा राक्षसनी पुतनाले राजा कंशको आदेशले भगवान श्रीकृष्णलाई दूधको रुपमा विष पिलाएर मार्न खोजेको कुरा कृष्णले थाहा पाएर उल्टै पुतनाको वध गरेको खुसीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने गरिन्छ।

पुतना दहनका लागि शनिबार साँझ सबै घरबाट काँस, अम्रिसो लगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ। दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाइ दिने चलन छ।

बुढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउँदै थुक्ने पनि गर्दछन् र नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान गर्ने गरिन्छ। साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ।

यसो गर्दा पशु चौपायमा कुनै रोग नलाग्ने विश्वास रहेको छ। पुत्ला दहन गर्दा ‘बुढीलाई पोल गाईबाच्छा पाल’ भन्ने गरिन्छ। यो पर्व प्रदेश सातका डोटी, डडेल्धुरा बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा मनाउने गरिएको छ। 

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ आश्विन १

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP