२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

सुदूरपश्चिमका कोरोना विजेताकाे गुनासो : कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो

धनगढी– कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनु परेको अनुभव सुनाउँछन् । सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा कोरोना ठीक भइसकेकालाई पनि पुनः देखिन सक्ने भएको भन्दै आफूहरू सामाजिक अपहेलनामा परेको कोरोना विजेताहरूको दुःखेसो छ ।

आफूहरु मात्र नभई नजिकका छिमेकी र आफन्तले समेत अपहेलित हुनु परेको  कैलालीको घोडाघोडी नगरपालिका–३ का एक कोरोना विजेता बताए । “हामीलाई कोरोना छैन, हामीले कोरोना जितेका छौँ तर समाजसँग हा¥यौँ, हाम्रा कारण वरपरका व्यक्तिलाई समेत समुदायमा अप्ठ्यारो भएको छ” उनले भने । उनि सुनाउछन् “मेरो छिमेकी सामुदायिक वनको समितिमा छन, छलफल गर्दा उनलाई सधैँ बोलाउँथे तर अहिले मेरै कारण उहाँलाई बैठकमा बोलाउन छाडिएको छ ।” 

त्यस्तै घोडाघोडी नगरपालिका–३ कै अर्का कोरोना विजेताले प्रधानमन्त्री कृषि रोजगार कार्यक्रम अन्तर्गत काम गर्न जाने गरेका  छिमेकीलाई आफ्नो घरमा आएको भन्दै काम गर्नबाट वञ्चित गरिएको गुनासो गरे । आफ्नो स्वास्थ्य अवस्था सामान्य भइसक्दा पनि अझै समाजले घृणा गरेको देख्दा उहाँलाई निकै पीडाबोध हुने गर्दछ । “हामी पूर्णरूपमा निको भैसकेका छौँ”, घोडाघोडी नगरपालिका–८ का कोरोना विजेताले भने “तर अझै पनि हाम्रो घर नजिक कोही आउँदैनन् ।” 

कोरोना जितेका घोडाघोडी नगरपालिका–१० का रमेश पाण्डेले भने, “हामीलार्ई आफ्नै गाउँ समाजले त साथ दिँदैन भने अरू कोसँग सहयोगको अपेक्षा गर्ने ? एक अर्कालार्ई परेको खण्डमा काँधमा काँध मिलाउने हामी नेपालीको स्वाभिमान कहाँ गयो होला ? मर्दा पर्दा एकजुट हुने नेपाली संस्कार कहाँ हरायो ?” कोरोना महामारीले सामाजिक सद्भाव र मानवतामा अनेक प्रश्न उब्जाएको उनको भनाइ छ । “भारतबाट आएका मान्छे भन्ने बित्तिकै घृणा गर्छन, झन आफू त सङ्क्रमित भइसकेकाले समाजले गरेको व्यवहार निकै पीडादायी रहेको बताउँछन् , घोडाघोडी नगरपालिका–६ का अर्का कोरोना विजेता ।

उनी भन्छन, “अहिले त निको भइसक्यो तर अझै पनि हामीलाई सङ्क्रमित नै छ भन्ने दृष्टिले हेरिन्छ ।” “शुरुमा आफूमा कुनै लक्षण थिएन, नगरपालिकाबाट सङ्क्रमित भयो भनेर खबर आउँदा पत्यार नै लागेन । सङ्क्रमित भएको सुन्नेबित्तिकै टाढा बसँे तर अब निको भइसक्दा पनि समाजले अझै स्वीकार्न सकेको छैन”, उनी भन्छन् । सबै सखाप बनायो, सबैलार्ई रोग सारेर गयो  भनेर अनेकौँ लाञ्छनायुक्त प्रहार समाजबाट खेपिरहनु परेको घोडाघोडी नगरपालिका–११ का अर्का कोरोना विजेताले बताए । उनीलाई सङ्क्रमित भएको पुष्टि हुनुअघि नै परिवारका सबै सदस्य क्वारेन्टिनमा थिए । सङ्क्रमित भएको पुष्टि हुनासाथ समाजले परिवारका सदस्यलार्ई हेर्ने नजर नै बदलिएको बताए ।

“उनीहरू माथि अपराधीको जस्तो व्यवहार गरियो ।” उनले दुखेसो सुनाए । गाउँ समाजले रोग लिएर आयो, गाउँभरि सारेर गयो भनेर आरोप लगाए पनि कोरोना जितिसक्दा आफूले विशेष सतर्कता अपनाएको उनले बताए । आफूले पूर्ण स्वास्थ्य सतर्कता अपनाएकै कारण परिवार, आफन्त तथा सम्पर्कमा आएका कसैमा पनि सङ्क्रमण सर्न नपाएको उनको भनाइ छ । उनले भने– “हामी पनि रोग सर्न दिनु हुन्न भन्ने कुरामा सचेत छौँ तर त्यो रोगलाई पराजित गरिसक्दा पनि समाजमा स्थापित हुन निकै समस्या भइरहेको छ ।” रासस

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ भाद्र २८

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP