त्यसलगत्तै भव बाहिर भेला भएका समर्थकहरुले रावलको समर्थन तथा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरेका थिए । रावल चढेको गाडीलाई समर्थकले मोटरसाइकल र्यालीसहित धनगढी चौराह घुमाएर अत्तरिया पुर्याएका थिए । अत्तरियामा आयोजित कोणसभालाई सम्बोधन गरेपछि अत्तरियाकै एक जना शुभेच्छुकको घरमा खाना खाएर उनी गृह जिल्ला अछामतर्फ हिँडेका थिए ।
धनगढीबाट हिँडेको साँझ उनी डोटीको शिलगढीमा बास बसेका थिए । दोस्रो दिन शनिबार बिहानै शिलगढीबाट अछामका लागि हिँडेका रावल अछामको प्रवेशद्वार चौखुटेमा भेला भएका समर्थकसँगको भेटघाटपछि साँफेबगरतर्फ अघि बढेका थिए । रावलको गृहनगर साँफेमा पनि उनका समर्थकहरूले मोटरसाइकल र्याली गर्दै स्वागत गरेका थिए । त्यसलगत्तै साँफेबगरमा आयोजित कोणसभामा सम्बोधन गर्दै रावलले कडा शब्दमा एमाले अध्यक्ष ओलीको आलोचना गरेका थिए । एमाले महासचिव शंकर पोखरेलको नाम नलिए पनि पोखरेलप्रति पनि उनको रोष प्रस्ट झल्किन्थ्यो । ‘निरंकुशतालाई गाड्न झापा र दाङमा खाल्डो तयार छ,’ उनले भने ‘मैले ५१ वर्ष देश र जनताको पक्षमा उठाएको झण्डालाई च्यात्न खोजेपछि दुस्ख लागेको छ । अब दुःखलाई शक्तिमा परिणत गरेर अत्याचारविरुद्ध शंखघोष गर्नु परेको छ । म एक्लै छैन ।’
साँफेबगरमा आयोजित कोणसभालाई सम्बोधन गरेपछि उनी रामारोशन गाउँपालिकाले शनिबार नै आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड आयोजनाको उद्घाटनका लागि हिँडेका थिए । रामारोशन गाउँपालिकाको प्रशासनिक केन्द्र मुजाबगरमा पुग्दा रावललाई बाक्लो संख्यामा उपस्थित स्थानीय बासिन्दालाई उनको स्वागत गरेका थिए । रामारोशनको रनिङ सिल्ड कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मातृभूमि जागरण अभियानमार्फत आफूलाई सहयोग गर्न स्थानीय बासिन्दाहरूलाई अपिल गरेका थिए ।
गाउँपालिकाको औपचारिक कार्यक्रमलाई सम्बोधन गरिसकेपछि शनिबार नै आयोजित समर्थक कार्यकर्ताहरूको भेलालाई उनले बेग्लै सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा पनि रावलले देश र प्रवासमा विभिन्न व्यक्ति र समूहसँग वार्ता छलफल चलिरहेको जानकारी गराउँदै विश्वस्त भएर आफूले घोषणा गरिरहेको मातृभूमि जागरण अभियानमार्फत अघि बढ्न भनेका थिए ।
रावलका सहयोगी गोविन्द दुवालका अनुसार रावलले आइतबार बिहान पनि मुजाबगरमा समर्थक र स्थानीय बासिन्दाहरूसँग थप भेटघाट गरेका छन् । रावल आइतबार नै साँफेबगर नगरपालिकाद्वारा आयोजित नगरपालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । त्यसपछिका कार्यक्रमका बारेमा छलफल भइरहेको दुवालले बताए ।
रावलको पक्षमा खुल्ने एमाले कार्यकर्तामाथि कारबाहीको शृंखला सुरु
यता भीम रावलको पक्षमा खुल्न थालेका एमाले नेता कार्यकर्ताहरूमाथि कारबाहीको शृंखला सुरु भएको छ । त्यस क्रममा शुक्रबार रावलको अभियानलाई समर्थन गर्दै उनको स्वागतमा धनगढी विमानस्थल पुगेका कृष्णराज सुवेदी र भीष्मराज सुवेदीलाई एमालेले कारबाही गरेको जनाएका छ ।
नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्रीसमेत रहेका कृष्णराज सुवेदी र कैलाली जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको जनाएको छ ।
एमाले कैलाली सचिवालयको शनिबार बसेको बैठकले भीष्मराज सुवेदीलाई जिल्ला कमिटीबाट निष्काशित गरिएको छ । साथै, दुवै जनालाई पार्टीको संगठित सदस्यसमेत नहरनेगरी निष्कासन गर्न गरिएको निर्णय अनुमोदनका लागि केन्द्रिय कमिटीलाई पठाइएको एमाले कैलालीका उपसचिव चुडामणि भट्टले बताए ।
यता रावलको गृहजिल्ला अछाममा एमालेकै ठूलो पंक्ति रावलको समर्थनमा देखिएपछि पार्टीभित्र अन्योल असहज अवस्था उत्पन्न भएको एमाले नेता कार्यकर्ताहरु बताउन थालेका छन् । एमाले अछामका अध्यक्ष चन्द्र बोहराले भने, ‘अहिल्यै कसैलाई कारबाही गर्ने विचारमा छैनौं । तर पार्टी अनुशासनविरुद्ध निरन्तर गतिविधिमा संलग्न हुनेमाथि विचार हुने नै छ । आगामी बैठकमा त्यसबारे छलफल हुन्छ ।’ उनले पार्टी जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरूलाई पार्टीको अनुशासनमा बस्न आग्रह गरेको बताए ।
-कान्तिपुर
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...