काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएकी छन् । त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत मन्त्री राणाले सोमबार बिहान यस्तो बताएकी हुन् ।
‘ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोगका सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ,’ उनले भनेकी छन् ‘बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन् ।’
बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उत्पन्न परिस्थितिले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू प्रभावित भएका जनाउँदै त्यहाँबाट विद्यार्थी र यहाँ उनीहरूका आफन्तहरूले समेत चिन्ता व्यक्त गरेपछि उनीहरूलाई त्यहाँ सुरक्षित तवरमा बस्ने र आवश्यक परे नेपाल फर्किने व्यवस्थाका लागि पनि परराष्ट्र मन्त्रालयले उचित प्रबन्ध गरेको उनले बताइन् ।
मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि अधिकारी तोकिएको तथा ढाकास्थित नेपाली दूतावासलाई पनि त्यहाँ रहेका विद्यार्थीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न तथा नेपाल फर्कन चाहनेहरूका लागि उनीहरूको यात्रामा सहजीकरण गर्न निर्देशन दिइएअनुसार दूतावासले सो कार्यसम्पादन गरिरहेको मन्त्री राणाले बताइन ।
आइतबार मात्र हवाईमार्गबाट १ सय १५ र काँकडभिट्टा नाका भएर ३ सय ५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । आइतबार बिहान फर्किएका ५६ जना नेपाली विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रका अधिकारीले स्वागत गरेका थिए । बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमकाकारण नेपाली विद्यार्थीहरू समस्यामा पर्न थालेको समाचार आएपछि उनीहरूको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरिएको र ढाकास्थित नेपाली दूतावासलाई निमियत सम्पर्कमा राखिएको छ ।
यस विषयमा परराष्ट्रमन्त्री राणाले पनि ढाकास्थित नेपाली राजदूतावासलाई निरन्तर सम्पर्क गरी त्यहाँका नेपालीहरूका बारेमा जानकरी लिइरहेको बताइन । आइतबारसम्म बंगलादेशबाट १ हजार २ सय विद्यार्थी स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बंगलादेशमा सरकारले निर्धारण गरेको रोजगारीमा कोटा प्रणालीको विरोधमा विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...