काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारबाट हट्ने निश्चित भइसकेपछि पनि देशभर प्राकृतिक विपत्ति रोक्नका लागि आवश्यक पहल गरेको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफू प्रत्यक्ष सहभागी भएर बाढी पहिरो न्युनीकरणमा लागेको बताए।
उनले देशभर विपत्तिबाट क्षति भइरहेको बेलामा आजै विश्वासको मत माग्ने उचित हुन्छ वा हुँदैन होला भनेर आफूले सोचेको बताए।
‘निकै ठूलो क्षति भइरहेको छ, हामी एकढिक्का भएर प्रतिवाद गर्नुपर्ने, सतर्कता अपनाउनुपर्ने बेलामा हामी फेरि सरकार परिवर्तन र विश्वासको मत लिने नलिनेतिर केन्द्रीत हुनुपर्ने बिडम्बनाको अवस्थामा छ। कसैलाई दोष दिन लागेको त होइन, तर यो बिडम्बनाको स्थितिमा छौँ,’ उनले भने।
साथै, उनले गत असार १७ गते नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्यको समझदारी भएपछि पनि क्षती न्युनीकरणमा लागेको दाबी गरे।
‘म पनि त्यसमा सहभागी भएर प्रयास गरिएको पनि जानकारी गराउँछु। यो पटक जुन रुपमा मनसुन आक्रमक रुपमा प्रस्तुत भएको छ। हुनसक्नेजति तयारी गर्न निर्देशन दिएको छु,’ उनले भने।
प्रचण्डले अघि भने, ‘भर्खरै माननीय सदस्यहरूले उठाएजस्तै अहिले चलिरहेको अविरल वर्षा, बाढी पहिरोको कारण देशभर ठूलो धनजनको क्षति भएको छ।’
सरकारले मनसुन आक्रमक हुने भएपछि पूर्व तयारी गरेको उनको दाबी थियो।
‘यो सरकारले यो पटकको मनसुन आक्रमक हुनेवाला छ भन्ने मौसम पूर्वानुमान विभागबाट वक्तव्य आएपछि पूर्व तयारीका लागि हुनसक्नेजति पहल गरिएको थियो। म यति भन्छु, यत्रो बाढी पहिलो क्षति भइरहेकै बेला हामी सरकार परिवर्तनको जो प्रक्रियाभित्र प्रवेश गर्यौँ, प्रतिपक्षका साथीहरूले राजीनामाको कुरा उठाइरहनुभयो,’ उनले भने, ‘त्यस्तो बेलामा पनि मैले नेपाली सेना, गृह, विपद् व्यवस्थापन लगायत सबैलाई बाढी पहिरोबाट सम्भावित क्षतिको न्युनीकरण गर्नेबारे यो प्रक्रिया सुरु भएपछि पनि पहल गरिएको तथ्य ध्यानाकर्षण गराउन चाहन्छु।’
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...