२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

दिपायल सिलगढी सरकारले रोजगार रणनीति बनाएर कार्यान्वयन गर्ने

दिपायल- दिपायल सिलगढी नगरपालिकाले रोजगार रणनीति बनाएर कार्यान्वयन गर्ने भएको छ । स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्ने र नगरवासीलाई प्रत्यक्ष रोजगारीसँग जोड्ने उद्देश्यसहित रणनीति बनाउन लागिएको हो ।

नगरको रोजगार रणनीति निर्माणका लागि नगरपालिकाले आइतबार सरोकारवालासँग छलफल गरेको छ । नीति निर्माण मसौदा समिति र त्यसको कार्यान्वयनका लागि रोजगार संवाद मञ्चसमेत गठन गरेको छ ।

रोजगारीको अवसर सिर्जना गर्ने हेतुुसहित नगर सरकारले यस वर्ष ‘श्रमको सम्मान राष्ट्रको अभिनय’ नारा दिएको छ ।

नगरवासीलाई प्रत्यक्ष रोजगारीसँग जोड्न नगरसरकार रणनीतिकरुपमा अगाडी बढेको नगर प्रमुख बाजीसिंह खड्का (विजय)ले बताए । “हामीले नगरवासीलाई स्वरोजगार बनाउने लक्ष सहित यात्राको थालनी गरेका छौं,“उनले भने,“केही व्यक्तिहरुलाई नगरसरकारले प्रत्यक्ष स्वरोजगारीसँग जोड्छ । नगरसरकारले स्वरोजगार बनाएको जनशक्तिले थप अन्य व्यक्तिहरुलाई रोजगारी दिन्छन् । रणनीतिकरुपमा अघि बढीसके पछि हामी यसलाई पूर्णता दिएरै छोड्छौं ।”

“नगर सरकारको बजेट, श्रोतसाधन, काम, कर्तव्य र अधिकारको सिमाभित्र रहेर काम गर्नुपर्ने भएकाले सबै व्यक्तिहरुलाई हामीले जागिर दिन सक्दैनौ । तर, रोजगारी सिर्जना हुने, युवाहरु प्रत्यक्ष रोजगारसँग जोडिने गरी ज्ञान सीप र अनुदानको व्यवस्था गछौं । जसले नगरवासीहरुलाई व्यवसाय सञ्चालन गर्न र रोजगारी सिर्जना गर्न मदत गर्ने छ,“नगर प्रमुख खड्काले भने ।”

माछा मारेर एक छाक खान दिनु भन्दा, माछा मार्ने सीप र माछा मार्ने जाल उपलब्ध गराउनुु उपयुक्त हुुन्छ भन्ने लागेर रणनीतिकरुपमा नगरसरकार अगाडी बढेको खड्काले बताए । नगरवासीलाई आत्मनिर्भर, स्वरोजगार र रोजगारी दिनसक्ने व्यवसायी बनाउने प्रमुख लक्ष्य रहेको उनको भनाई छ ।

नगरमा रोजगारीको अवसर सिर्जना गर्ने र नगरवासीलाई प्रत्यक्ष स्वरोजगार बनाउने लक्ष्यसहित रोजगार संवाद मञ्च र रोजगार मस्यौदा रणनीति तर्जुमा समिति गठन गरिएको नगरपालिका स्वरोजगार शाखा प्रमुख टेकराज भण्डारीले बताए । रणनीति तयार भए पछि त्यसको कार्यान्वयनमा विशेष जोड दिइने उनले बताए ।

छलफल कार्यक्रममा दिपायल सिलगढी नगर पालिकाका उप–प्रमुख कलावती महर साउद, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सचिव, नगरपालिकाका शाखा प्रमुखहरु, उद्योग वाणिज्य संघका प्रतिनिधि, होटल व्यवसायि संघका प्रतिनिधि लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ असार १६

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP