२०८१ माघ ३, बिहीबार
January 16, 2025, Thursday

कालापानी सडक निर्माणार्थ सरकारहरुसंग रकम माग

दिपायल– नेपाल सरकारले पर्याप्त बजेट विनियोजन नगरेपछि दार्चुला–टिंकर सडक निर्माणमा सक्दो आर्थिक योगदान गर्न देशभरका स्थानीय सरकारहरूसंग अपिल गरिएको छ ।

जेठ १५ गते ल्याइएको नयाँ बजेटमा महाकाली कोरिडोरअन्तर्गत नेपाली सेनाबाट निर्माणाधीन दार्चुला–टिंकर सडक खण्डको लागि ९ करोड रूपैयाँ मात्र बजेट छुट्याइएको छ । ७९ किलोमिटर लामो सडकमध्ये हालसम्म १३ किलोमिटर मात्रै खनिएको छ । पर्याप्त बजेट विनियोजनको माग पटक–पटक गरिए पनि सरकारले संबोधन नगरेको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताए।

असार ८ गते सम्पन्न १६औं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा टिंकर सडक निर्माणका लागि देशभरिका स्थानीय सरकारसँग आर्थिक सहयोगको अपिल गर्ने निर्णय भएको छ । ‘संघीय सरकारले पर्याप्त बजेट नछुट्याएको अवस्थामा यसको महत्व र आवश्यकता उजागर गर्न स्थानीय सरकार अग्रसर भएको छ’ गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले भने । उनले भने– ‘हरेक स्थानीय सरकारले कम्तिमा १ लाख रूपैयाँ आर्थिक योगदान गर्दा पनि साढे ७ करोड संकलन हुने अवस्था छ ।’

गाउँपालिकाले टिंकर सडक निर्माणका लागि ५ लाख रूपैयाँ बजेट विनियोजन गरेको प्रवक्ता उपेन्द्रसिंह धामीले बताए। देशभरका स्थानीय सरकारबाट प्राप्त हुने रकमसंगै खर्च गरिने तयारी छ । सेनामार्फत निर्माण भइरहेको टिंकर सडकमा ०८०÷८१ मा १४ करोड १९ लाख रूपैयाँ बजेट दिइएको छ । यो बजेटबाट ३ किलोमिटर नयाँ ट्रयाक निर्माण र २ किलोमिटर सडकको स्तरोन्नती गर्ने काम भइरहेको छ । यो वर्षसम्म १३ किमि सडक निर्माण भइसक्ने सेनाले जनाएको छ ।

सडक निर्माणका लागि पर्याप्ट बजेट उपलब्ध नहुँदा १० वर्षभित्र निर्माण गर्ने लक्ष्य लम्बिएर दोब्बर समय लाग्ने अवस्था छ । ‘प्रधानमन्त्री, विभागीय मन्त्रीहरू, दलका शीर्ष नेताहरू सबैलाई भेटेर माग राख्यौं, लिखित अनुरोध पनि गर्‍यौं तर बजेटमा न्याय पाइएन’ व्यास गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुवँरको भनाइ छ ।

स्थानीय सरकारसँगै सातवटै प्रदेश सरकारसँग पनि टिंकर सडक निर्माणमा सहयोग माग्ने गाउँपालिकाको तयारी छ । गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले भने– ‘देशभरिका ७ सय ६१ वटै सरकारको सहकार्य र सामूहिक योगदानमा अहिलेसम्म कुनै पनि विकास निर्माण थालिएको छैन, टिंकर सडक निर्माणमा यस्तो नमुना र उदाहरणीय अभ्यास गर्ने हाम्रो प्रस्ताव हो ।’

व्यास गाउँपालिकाको ६ वटै वडाका अधिकांश बस्ती जोडेर टिंकर सडक निर्माण हुँदैछ । हालसम्म वडा नम्बर ३, ४, ५ र ६ को भूगोलमा ट्रयाक निर्माण खोलिएको छ । वडा नम्बर १ र २ को क्षेत्रमा सडक निर्माण गर्न बाँकी छ । महाकाली नदीको किनारैकिनार निर्माण हुने सडक निर्माण कठिन भूगोल, कडा चट्टान र अन्तर्राष्ट्रिय सीमाक्षेत्रका कारण चुनौतीपूर्ण छ ।

अतिक्रमित नेपाली भूमि नजिकका अन्तिम बस्तीहरू छाङरु र तिंकर गाउँ जोड्ने गरी सडक निर्माण हुनेछ । त्रिदेशीय सीमाक्षेत्रमा निर्माण हुने र पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालनको ढोका खोल्ने भएकाले पनि यो सडक निर्माणलाई व्यास गाउँपालिकाले उच्च महत्व दिएको अध्यक्ष मंगलसिंह धामीको भनाइ छ ।

 

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०८१ असार १५

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP