२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

भुँणका “चाउचाउ बाजे” जो २७ वर्ष देखि चाउचाउ बेच्दै छन् 

 

दिपायल – डोटीको मुख्य बजार दिपायलबाट १०/१२ किलो मिटरकोे सडक यात्रा पछि “भुँण” भन्ने ठाउँ आउँछ । जहाँ वर्षौं पुरानो बरको रुखमुनि एउटा चौतारा छ । चौताराको छेउमै एउटा स्यानो पसल छ ।

 

आदर्श गाउँपालिकाको वडा नम्बर २ मा पर्ने उक्त क्षेत्रमा एक जना “चाउचाउ बाजे” छन् । जसले २७ वर्ष देखि चाउचाउ पकाएर बेचिरहेका छन् । दाउरा पोलेर भट्टीमा पकाएको चाउचाउको स्वादको सबैले प्रसंसा गर्ने गर्दछन् । साहु खर्कको खिर र भुँणकोे चाउचाउकोे स्वाद खुबै मिठो हुने गरेको ग्राहकहरु बताउँछन् ।

 

आदर्श गाउँपालिका – २ साउँनकाँडाका गिरी साउँद (चाउचाउ बाजे) अहिले ६५ वर्षका भए । उनले २०५५ सालदेखि भुँणमा चाउचाउ बेच्दै आएका छन् । ३९ वर्षको उमेरमा हटारुहरुलाई लक्षित गरेर सञ्चलन गरेको उनको व्यवसाय पछिल्लो समय घटेको छ । पसल नजिकैबाट सडक सुचारु भए पछि ग्राहक घटेको उनले बताए ।

 

“पहिला सडक नहुँदा यो बाटो भएर दैनिक सयौं मानिसहरूको आवाज-जावत हुन्थ्यो,” साउँदले भने,” आदर्शका विभिन्न गाउँहरू, गिरीचौका देखि बजाङ जिल्लासम्मका मानिसहरू यो बाटो हिँड्थे । सुरुमा मानिसहरू भारी बोक्दै आउँथे । त्यसपछि भेडाका बथान, खच्चर आउन थाले । दिपायल देखाएको ठाडो उकालोको यात्रा पछि सबैले खाजा खाने र पानी पिउने एउटै ठाउँ थियो यो ।”

“पछिल्लो समय सडक आए पछि यात्रुहरु सिधै गाडीमा हुइँकिन्छन् तसर्थ व्यापार घटेको छ । यहाँको स्वाद लिएका व्यक्तिहरू भने सम्झेर आउँदै गर्छन्,”उनले भने ।

वर्षौं देखि गोरेटोमा स्यानो लगानीमा व्यापार गर्दै आएका साउँद चाउचाउसँगै चना, अण्डा र चिया पनि बेच्छन् । बाटोमा चाउचाउ बेच्दाबेच्दै उनले मानिसहरूका ठूलठूला दुःख कष्ट र अहिलेको परिवर्तित अवस्था नजिकबाट बुझेका छन् ।

“मानिसहरू एक/दुई दिनको पैदल यात्रा गरेर दिपायलबाट खाद्यान्न, लुगाकपडा पिठ्युँमा बोकेर गुजारा गर्ने गरेका थिए । त्यतिखेर मानिसहरूलाई धेरै दुःख थियो,”उनले भने,”खेतीपाती राम्रो हुन्थेन । बजारमा चामल किन्न पाइन्थेन । जहाजले दिपायल एरपोर्टमा चामल झार्थ्यो, सडेको चामल खोसाखोस् हुन्थ्यो । अहिले त के छ र बाहार (आनन्द) छ । घरै सामान पुग्दो, घरै गाडी पुग्दो । आज (अझै) मान्छ ( मानिस) दुःखेसो अड्दा (गर्छन्), दुःख भयो भन्दा (भन्छन् ) यो भन्दा बढी के चाहियो ?”

 

दिपायलबाट डोकोमा सामान बोकेर, चाउचाउ बेचेर २ छोरा ४ छोरी हुर्काएको र परिवार धानेको उनले बताए । “एक घण्टाको दुरीबाट पानी बोकेर ल्याउनु पर्थ्यो, चार घण्टा पिठ्युँमा बोकेर सामान ल्याउनु पर्थ्यो । चाउचाउ बोक्न र पकाउन सजिलो भएका कारण पनि यही व्यवसाय गरेकोे हुँ । यही व्यवसाय गरेर छोराछोरी परिवार पालेको हुँ । अब व्यापार पहिला जस्तो छैन,’उनले भने ।

व्यापार सुरु गर्नु अघि भारतमा काम गरेका उनी “चाउचाउ बाजे” व्यापार सुरु गरेकोे २७ वर्ष देखि निरन्तर चाउचाउ बेचिरहेका छन् ।

 

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०८१ असार ११

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP