दिपायल– गर्मीयाम सुरु भएसँगै सुदूरपश्चिममा डेंगुका बिरामी बढ्न थालेका छन् । लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगुका संक्रमित तराई मधेशका कैलाली र कञ्चनपुरभन्दा पहाडी जिल्लामा बढी छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार चार महिनायता प्रदेशभरि एक सय १३ जनामा डेंगु देखिएको छ । यो संख्या बिरामी भएर उपचारका लागि विभिन्न अस्पतालमा पुगेका संक्रमितको हो ।
प्रदेशका नौवटा जिल्लामध्ये डोटी र अछाममा सबैभन्दा बढी ३०–३० जनामा डेंगुको संक्रमण देखिएको छ । यो अवधिमा कञ्चनपुरमा २२, कैलालीमा आठ तथा बैतडी र डडेल्धुरामा एक–एकजना संक्रमित देखिएको निर्देशनालयका सरुवारोग फोकल पर्सन हेमराज जोशीले जानकारी दिए । केही वर्षयता हिमाली जिल्लामा समेत डेंगुका संक्रमित फेला पर्न थालेको निर्देशनालयले जनाएको छ ।
पछिल्लो चार महिनायता हिमाली जिल्ला बाजुरामा आठ, बझाङमा दुई र दार्चुलामा ११ जनामा डेंगुको संक्रमण पुष्टि भएको फोकल पर्सन जोशीले जानकारी दिए । पहिले तराईमा मात्र पाइने लामखुट्टे गाडीसँगै पहाड उक्लेपछि पहाडमा डेंगु बढ्न थालेको स्वास्थ्यकर्मी बताउँछन् ।
सरसफाइको कमी, मौसममा देखिएको परिवर्तनले पहाडी क्षेत्र पनि लामखुट्टेको वासस्थानका लागि उपयुक्त हुनुजस्ता कारणले लामखुट्टे बढेर डेंगुको संक्रमण फैलन थालेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख लालबहादुर धामीले बताए । ‘बर्सेनि हावापानी बदलिँदै जाँदा पहाडी क्षेत्रमा पनि लामखुट्टे बढ्न थालेका छन्,’ उनले भने, ‘यसले डेंगुको संक्रमण पनि बढेको छ ।’ पानी परेपछि बर्खामा डेंगुको संक्रमण बढ्ने स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । डेंगुको संक्रमण फैलन नदिन नागरिकमा जनचेतना फैलाउने प्रयास स्वास्थ्य कार्यालयले गरिरहेको प्रमुख धामीले बताए । ‘डेंगु देखिने मौसम आउँदै छ, पानी परेपछि लामखुट्टे बढ्ने भएकाले डेंगुको संक्रमण पनि बढ्छ,’ उनले भने, ‘महामारीका रूपमा फैलन नदिन सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ ।’
लामखुट्टेको टोकाइबाट सर्ने डेंगु वर्षायाममा महामारीका रूपमा फैलने गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सन् २०२३ मा प्रदेशभरि एक हजार १९४ जनामा डेंगु देखिएकोमा चारजनाको मृत्यु भएको थियो । दार्चुलामा सबैभन्दा बढी २७३, बाजुरामा ८० र बझाङमा ६४ जना डेंगुका बिरामी उपचारका लागि अस्पताल भर्ना भएका थिए । त्यस्तै, अछाममा २२६ र कैलालीमा २७१ जना डेंगुका बिरामी फेला परेको निर्देशनालयले जनाएको छ ।
संक्रमित लामखुट्टेको टोकाइबाट डेंगुको भाइरस मानिसमा सर्ने गर्छ । डेंगु सामान्य उपचारबाट निको हुने भए पनि समयमै उपचार नहुँदा र डेंगुका कारण अन्य रोगले स्वास्थ्य अवस्था कमजोर भएर जोखिम निम्तिने चिकित्सक बताउँछन् । निर्देशनालयका सरुवा रोग फोकल पर्सन जोशीले डेंगु महामारीका रूपमा फैलन नदिन स्वास्थ्य कार्यालय, स्थानीय तह र अन्य सरोकारवाला निकायले सचेतनामूलक कार्यक्रम गरिरहेको दाबी गरे । डेंगुको उपचारका लागि अस्पतालमा व्यवस्थापन गर्ने, स्वास्थ्यकर्मीको क्षमता वृद्धि गर्ने काम पनि भइरहेको उनले बताए ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...