२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

कैलालीको घोडाघोडीमा सूचक प्रजातिका चराको गणना सुुरु

कैलाली- विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडीमा सूचक प्रजाति गणना सुुरु भएको छ । चरा संरक्षण सञ्जाल कैलालीको आयोजनामा गणना सुुरु भएको हो ।

घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गर्ने सूचक प्रजातिका रुपमा जङ्गली धान, मगर गोही, र हरिहाँस छन् । चरा संरक्षण सञ्जाल कैलालीले विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आइरहेको छ । घोडाघोडीमा सूचक प्रजाति गणना प्रत्येक वर्ष दुई पटक गरिन्छ । सोही अनुरुप यसपटक पनि सूचक प्रजाति गणना सुरु गरिएको चरा संरक्षण सञ्जाल कैलालीका कार्यवाहक अध्यक्ष नवराज न्यूरेले जानकारी दिए ।

न्यूरेका अनुुसार सूचक प्रजातिको गणनाले उनीहरुको अवस्था र चुनौती पत्ता लगाई स्थानीय समुदाय र सरोकारवाला निकायलाई संरक्षणमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । गणनाको उदघाटन गर्दै डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले घोडाघोडी क्षेत्रलाई संरक्षण गर्न सरोकारवालाको साझेदारीमा सचेतनामूलकलगायत विभिन्न कार्यक्रम गरिरहेको बताए ।

यहाँ रहेका सूचक प्रजातिको संरक्षण गर्दै उनीहरुको सङ्ख्या बढाउन सबै एकजुट हुनुपर्ने बताउँदै उनले भने, “हामीले प्रदेश सरकारसँग घोडाघोडी क्षेत्रका सवाल सम्बोधन गर्न विभिन्न कार्यक्रम प्रस्ताव गरी बजेट माग गरेका छौँ ।” नेपालमै सबैभन्दा धेरै तालतलैया भएको जिल्लाका रुपमा कैलाली चिनिन्छ । त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबैभन्दा ठूलो प्राकृतिक ताल हो । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल छन् । जसमध्ये घोडाघोडी र नकरोड ताल चराको बासस्थानका लागि सबैभन्दा उपयुुक्त रहेको सञ्जालका अध्यक्ष दयाराम चौधरीले बताए ।

घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्वपूर्ण बासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । यहाँ तीन सय ८१ प्रजातिका चरा पाइन्छन् । घोडाघोडीमा बर्खा र हिउँदमा सूचक प्रजाति गणना गरिँदै आएको छ । यसपटकको बर्खे सूचक प्रजाति गणनामा सञ्जालका कार्यवाहक अध्यक्ष नवराज न्यूरे, सचिव रामकुुमार चौधरी र जमुना न्यूरेको नेतृत्वमा तीन वटा समूह खटिएको छ ।

Related News

धनगढीमा फोहोर माथीको कर हटाउन एमालेको माग
धनगढीमा फोहोर माथीको कर हटाउन एमालेको माग
  • २०८१ जेष्ठ २९

धनगढी- धनगढी उपमहानगरपालिकाले फोहोर सकंलनका नाममा लिदै आएको कर हटाउन...

TOP