२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

बजेट निर्माणका क्रममा बहुमत जनप्रतिनिधिलाई पेलेर जाने रणनीतिमा नगर प्रमुख हमाल

दिपायल– धनगढी उपमहानगरपालिकासहित अहिले स्थानीय तहहरु आगामी आर्थिक वर्षको बजेट तयारीमा छन् । तर, सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले अहिलेसम्म कार्यपालिका बैठक बसाउन सकेको छैन ।

जग्गा सम्बन्धी कार्यविधि विवादका कारण नगर प्रमुख गोपाल हमालले कार्यपालिका बैठक बसाउन नखोजेको वडा अध्यक्षहरुको गुनासो छ । गत मंसिरमा कार्यपालिका बैठकभित्र छलफलमा रहेको कार्यविधि पारित नभई दोस्रो दिन नगर प्रमुख हमालले राजपत्रमा प्रकाशित गर्न लगाएपछि वडा अध्यक्ष र नगर प्रमुखबिच विवाद शुरु भएको थियो ।

‘कार्यविधि विवाद देखाउँदै नगर प्रमुख हमालले सो समयमा हिउँदे नगर सभा बोलाएनन् । मंसिर यता कार्यपालिका बैठक पनि बसेको छैन’ धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले भने –‘नगर सुधारका लागि आवश्यक योजना, नीति तथा कार्यक्रमका विषयमा कार्यपालिकाभित्र व्यापक छलफल हुनुपथ्र्यो । तर, नगर प्रमुख त्यस अनुसार अघि बढ्न इच्छुक छैनन् ।’

नगर प्रमुख हमालले कार्यपालिका बैठकनै नबसाई एकलौटी रुपमा केही दिन अघिमात्र वडागत बजेट सिलिङ्ग पठाएको छ । उनले भने –‘बजेट निर्माणका चरणहरु कुनै पनि नअपनाई नगर प्रमुखले आफुखुशी कार्य गरिरहेका छन् ।’ उनले जेठको दोस्रो सातापछि वडामा बजेट सिलिङ्ग पठाउँदा वडामा छलफल गर्न समय अपुग रहेको बताए ।

स्थानीय तहको योजना तर्जुमा दिगदर्शन अनुसार श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले बैशाख १० गतेभित्र कुल बजेट अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने उल्लेख छ भने प्रमुख प्रशासकिय अधिकृतले बैशाख १५ गतेभित्र विषयगत शाखा, महाशाखा तथा वडा कार्यालयलाई बजेट सीमा तथा मार्गदर्शन उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धि खडकाले भने –‘कार्यपालिका बैठक त बसाउन नमानेका नगर प्रमुख हमालले विषयगत समितिहरुको पनि बैठक बसाउँदैनन् । विषयगत समितिमा रहेका जनप्रतिनिधिहरुलाई कर्मचारीले कस्ता नीति, कार्यक्रम र निर्णयहरु पठाइरहेका छन भन्ने समेत थाहा हुँदैन् ।’ उनले नगर प्रमुख हमालले सहमतिको बाटो रोज्नुभन्दा पनि एकलौटी गर्न खोजिरहेको बताउँदै –‘कुनै पनि ऐन, कानुन तथा योजना बन्दा जनप्रतिनिधिहरुबिच असहमतिका बुँदाहरु आउँछन् । ति असहमतिहरुमा संवाद र छलफल गरेर सहमतितिर ल्याउने प्रयास हुनुपर्नेमा नगर प्रमुखले समस्याको समाधान खोजेका छैनन् । जसका कारण अबको नगर सभामा पनि समस्या हुने देखिन्छ ।’

असार १० गतेभित्र नगर सभा आह्वान गरि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । तर, धनगढीमा जननिर्वाचित जनप्रतिनिधिबिचको विवाद समाधान हुन सकेको छैन् । नगर प्रमुख हमालले संवादभन्दा पनि जनप्रतिनिधिबिच विभाजन ल्याएर आफुखुशी बजेट ल्याउने तयारी गरेको बताइन्छ ।

नगरको आम्दानी बढाउने वडामा न्यून बजेट

धनगढी उपमहानगरपालिकाको प्रमुख आयश्रोत पनि हो –‘नदीजन्य पदार्थ’ । तर, नगरले नदीजन्य पदार्थ उत्खन्न हुने वडामै न्यून बजेट विनियोजन गरेको छ ।

वडामा बजेट बढाउन माग गर्दै आइरहेका वडा अध्यक्षहरुको गुनासोलाई सम्बोधन नगरि उपमहानगरले वडामा कम बजेट विनियोजन गरेको वडा अध्यक्षहरुको गुनासो रहेको छ । वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले भने –‘हामीलाई आवश्यकता अनुसार बजेट नदिने भए नपठाउ भनेको हो । अहिले उपमहानगरले वडामा पठाएको बजेट सिलिङ्ग चित्तबुझदो छैन् ।’ उनले वडाबासीले विकास निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका थुप्रै योजनाहरु माग गर्ने तर, उपमहानगरले वडामा विनियोजन गरेको बजेटले सम्बोधन नहुने बताए ।

वडा नम्बर १७ का वडा अध्यक्ष माधव रानाले भने –‘हाम्रो वडामा नदीजन्य पदार्थ उत्खन्न उपमहानगरपालिकाले गराउँछ । वडामा भइरहेको उत्खन्नले किसानको खेत वर्षेनी कटान भइरहेको छ भने वस्तीहरु पनि जोखिममा रहेका छन् । तर, वडामा विनियोजित बजेटले तटबन्धन गर्न पनि पुग्दैन् । उपमहानगरले जति आम्दानी यो वडाबाट गरिरहेको छ । त्यसभन्दा पनि कम हामीलाई बजेट पठाउने गरेको छ ।’

उपमहानगरपालिकाले वडा नम्बर १७ मा ५५ लाख ३९ हजार छ सय १४ रकम विनियोजन गरेको छ । जसमा एक योजना वडा गौरवको योजनामा अनिवार्य छनौट गर्नुपर्ने उल्लेख छ । वडा गौरवको योजना २० लाख भन्दा माथि हुनुपर्ने सर्त रहेको छ । उनले भने –‘शिक्षा, स्वास्थ्य, सिचाइ, खानेपानी, विगतका अधुरा योजनालाई निरन्तरता लगायत मानिसका सामान्य आवश्यकताहरुका योजना बनाउन यो बजेट अपुग छ ।’

जनप्रतिनिधिबिच विवादः मारमा नगरबासी

स्थानीय तहको योजना तर्जुमा दिगदर्शन २०७८ मा योजना छनौटदेखि बजेट निर्माणका चरणहरु छन् । धनगढी उपमहानगरपालिकामा जनप्रतिनिधिहरुबिचको विवादले यि चरणहरु पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन् ।

दिगदर्शनमा वडाबाट योजना माग गर्ने, विभिन्न संघ–संस्था, सरोकारवालाहरुसंग छलफल गर्ने, विज्ञहरुको राय लग्ने, वडाको योजनाका प्राथमिकता निर्धारण गर्ने लगायत छन् । तर, उपमहानगरले वडामा ढिलो गरि बजेट सिलिङ्ग पठाउँदा समस्या भएको वडा अध्यक्षहरुको गुनासो छ ।

आकस्मिक बैठकमै विवाद, उजुरीमा भनियो– ‘कार्यपालिका बैठक’

जेठ १५ गते धनगढी नगर प्रमुखले कार्यपालिका बैठक सञ्चालनमा सहयोग गर्न जनप्रतिनिधिहरुसंग आक्समिक बैठक बोलाए । तर, सत्ता गठबन्धनबाट निर्वाचित वडा अध्यक्ष र काँग्रेसका वडा अध्यक्षबिच विवाद भयो ।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेबाट निर्वाचित अध्यक्षहरु एकतर्फ थिए भने काँग्रेसका केही अध्यक्षबिच विवाद भएको जनाइएको छ । काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले बैठकमा अभद्र व्यवहार गरेको भन्दै नगर प्रमुख हमाललाई सत्ता गठबन्धनबाट निर्वाचित वडा अध्यक्षहरुले कारबाही माग गर्दै जाहेरी गरेका छन् ।

उजुरीमा आक्समिक बैठकलाई उनीहरुले कार्यपालिका बैठक भनेका छन् । उजुरीमा भनिएको छ –‘कार्यपालिका बैठकमा सन्तोष मुडभरी, गजेन्द्र शाही, प्रेम भण्डारी लगायतले आक्रमणको प्रयास गरेकोले कार्यपालिका जस्तो गरिमामयमा सुनियोजित अपराधको प्रयासलाई तुरुन्तै कारबाहीको माग गरी हष्ताक्षर गरेका छौं ।’

सो उजुरीमा वडा नम्बर १८ का वडा अध्यक्ष भुवन रिजाल, वडा नम्बर ७ का मोति राना थारु, वडा ८ का जुगराम चौधरी, १६ का शिवकुमार राना, १२ का शेरबहादुर महरा, ११ का रुपबहादुर कुँवर र ६ का भागिराम चौधरीको हष्ताक्षर रहेको छ ।

धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेको छ । अहिले सत्तागठबन्धन नयाँ ढंगमा गएसंग नगर प्रमुख हमालले काँग्रेसका केही तथा नेकपा माओवादी र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको सहयोग पाइरहेका छन् ।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०८१ जेष्ठ १९

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP