दिपायल– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीस्थित छ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको छ । सो सडकमा रात्रिकालीन समयमा हुने दुर्घटना न्यूनीकरणका लागि सात–सात किलोमिटर दूरीमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको हो । वडा नम्बर ३ को मोहना पुलदेखि वडा नम्बर १३ को धनगढी विमानस्थल गेटासम्म स्मार्ट सडक बत्ती जडानको कार्य भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।
सो कार्यालयका अनुसार २१६ पोलमा ४३२ वटा लाइट जडान हुनेछन्। दुई करोड ६८ लाख रुपियाँ खर्चेर सडक बत्ती निर्माणको कार्य भइरहेको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले जानकारी दिए ।
स्मार्ट सडक बत्तीमा रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको छ । माघ अन्तिमबाट बत्ती बाल्ने गरी स्मार्ट सडक बत्ती जडान कार्य भइरहेको छ । सो कार्य सूर्योदय ऊर्जा प्रालिले गरिरहेको छ ।
नेपाल विद्युत् प्राधिकरण ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको साझेदारीमा धनगढी उपमहानगरपालिकाले स्मार्ट सडक बत्ती जडान गरिरहेको हो । यो बत्ती बलेबापत उठ्ने विद्युत् महसुल धनगढी उपमहानगरपालिकाले तिर्ने जनाइएको छ ।
छ लेन सडक निर्माणपछि सडक दुर्घटनामा धेरैले सो क्षेत्रमा ज्यान गुमाइसकेका छन् । छ लेनमा रहेको डिभाइडर र सडकमा बस्ने छाडा चौपायामा सवारी साधन ठोक्किएर दुर्घटना हुने गरेको छ ।
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...