२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

८ वर्ष देखि अलपत्र पुल : चौथो पटक म्याद थप्दा २२ प्रतिशत मात्रै काम

पप्पु राजेन्द्र जेभीले ८ वर्ष देखि अलपत्र पारेको पुल निर्माण स्थल

दिपायल- निर्माण कम्पिनिको लापरबाहीका कारण एउटै आयोजनाको काम ८ वर्षसम्म रोकिएको छ । आयोजनासँगै अन्य विकास निर्माणका काममा पनि बाधा पुगेको छ ।

डोटीको शिखर नगरपालिका– १० बानेडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन मोटरेवल पुलको काम ८ वर्षमा २२ प्रतिशत मात्रै सम्पन्न भएको सडक डिभिजन कार्यालय डोटीले जनाएको छ । निर्माणको जिम्मा पाएको पप्पु राजेन्द्र जोइन्ट भेन्चर (जेभी) को लापरबाहीका कारण ३ वर्षमा निर्माण सम्मपन्न गरिसक्नु पर्ने पुलको काम ८ वर्षमा २२ प्रतिशत मात्रै सम्पन्न भएको हो ।

मूल्य अभिवृद्धि कर (भ्याट)सहित २६ करोड २० लाख ८८ हजार लागतमा निर्माण हुने भनिएको ३२० मिटर लामो उक्त आरसिसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय डोटीले पप्पु राजेन्द्र जोइन्ट भेन्चर (जेभी) सँग सम्झौता गरेको थियो । हाल पुल निर्माणको काम राजेन्द्र निर्माण सेवाले गर्दै आएको छ । विसं २०४९ मा निर्माण सुरु भएको सातनाली मेल्लेक सडकलाई केआइसिंह राजमार्गसँग जोड्ने उक्त पुल निर्माणको कार्य अघि बढाइएको थियो ।

निर्माण कम्पनीले पुल निर्माणका सामग्रीहरु अलपत्र छाडेर फरार भएको छ । ८ वर्षसम्म पुल निर्माण नभएको भन्दै स्थानीयहरु आक्रोसित भएका छन् । स्थानीयहरुले पुल निर्माणको काम ढिला गर्ने निर्माण कम्पन्नीलाई कारबाही गर्न र निर्माण कार्य अगाडी बढाउन स्थानीय सरकार र सडक डिभिजनलाई पटक–पटक दबाब दिदै आएका छन् । हामीले पुल निर्माणको काम अगाडी बढाउनका लागि पटक–पटक अनुरोध गरेउ,“स्थानीय गणेश बलायरले भने,“सडक डिभिजन देखि स्थानीय सरकारलाई पनि आबश्यक कारबाही लागि अनुरोध गरेउ तर, पुनः म्याद थपेर त्यही कम्पन्नीलाई जिम्मा लगाइयो । अब हामी कडा आन्दोलनमा उत्रिने तयारीमा छौं ।”

शिखर नगरपालिकाको वडा नं. ११ र आदर्श गाउँपालिकाको वडा नं. ५ पुल निर्माण नभएकै कारण सडक सञ्जालसँग जोडिन सकेको छैन । त्यहाँका स्थानीयहरु अहिले पनि घण्टौं पैदल यात्रा गर्न बाध्य छन् । सेती नदीमा पुल नभएकै कारण नदी पारीका वडाहरुमा सडक विस्तार गर्न नसकिएको शिखर नगरपालिकाका प्रवत्ता धिर्क बहादुर सिंहले बताए । “हामीले नगरका सबै वडा केन्द्र, विद्यालय र स्वास्थ्य संस्थाहरु छुने गरेर सडक विस्तार गरेका छौं, त्यो हाम्रो योजनामा पनि छ,“उनले भने,“सेती नदीको पुल निर्माणको काममा ढिलाइ भएका कारण सकिरहेका छैनौं । सडकसँगै अन्य विकासका कामहरु पनि पुलकै अभावमा रोकिएका छन् ।”

नदी माथि मोटरेबल पुल नभएकै कारण गाउँमा अन्य विकासका योजनाहरु पनि रोकिएको शिखर नगरपालिका–११ तल्लीसातका लाल जोराले गुनासो गरे । पुल र पश्चिम सेती कुर्दा कुदै हामी विकासमा निकै पछि परेका छौं,“उनले भने,“सडक विस्तार गर्न सकिएको छैन, खानेपानी, भवन, घर जस्ता भौतिक पूर्वाधार निर्माण गरौं भने पनि सामग्री ढुवानी गर्न निकै कठिन छ । खाद्यान्न पनि अहिले पिठिउँमै बोकेर लग्नु पर्छ । पुल बन्ला र सडक आउला बनेर कुर्दाकुर्दै निकै पछि परेउँ ।”
निर्माण कम्पनीले पुल निर्माण क्षेत्रमा क्रसर समेत सञ्चालन गरेको थियो । पुलको काम हुँदैछ भनेर स्थानीयहरु ढुक्क थिए । तर निर्माण कम्पनीले ३/४ वर्ष सम्म नजिकैको नदी उत्खलन गर्दै बालुवा, ढुंगागिट्टी मात्रै अन्यत्र ओसारेको स्थानीयको आरोप छ । “सुरुवात निकै छिटोछिटो काम गरे जस्तो ग¥यो,“स्थानीय भीम पार्कीले भने,“बालुवा ढुंगागिट्टी चोर्न पो रहेछ । बालुवा ढुंगागिट्टी अन्यत्र लग्न थालेपछि गाउँलेले विरोध गरेर बाटो थुन्यौं । अनि मात्रै रोकीयो ।”

निर्माण कम्पनीले आयोजना स्थलमा जोतेको क्रसर

म्याद थप्न नियमावली संसोधन

विभागले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुको पटक–पटक म्याद थप्दा यस्ता योजनाहरु अलपत्र पर्ने गरेका छन् । कम्पनी सञ्चालकहरुले पावर र सेटिङ्गका आधारमा योजनाको म्याद थप्ने र भुक्तानी लिने गरेका कारण पुलको काम अलपत्र परेको स्थानीयको गुनासो छ ।

पप्पु राजेन्द्र जोइन्ट भेन्चर (जेभी) का सञ्चालन भीम बहादुर साउँद सुदूरपश्चिमका अग्रेणी निर्माण व्यवसायी हुन् । पुल निर्माणको निर्माण सम्झौता सुरुमा उनले नै गरेका थिए । परशुराम नगरपालिकाको मेयर भएपछि उनले निर्माण कम्पनी आफ्ना सहदोर भतिजको नाममा गरेका थिए । पछिल्लो समय म्याद थप भएको कागजातमा भने उनका भतिज सुरेन्द्र साउँदको हस्ताक्षर रहेको छ । हाल राजेन्द्र निर्माण सेवाको जिम्मेबारी उनले सम्हाली रहेका छन् ।

विसं २०७४ असार २९ गते काम सम्पन्न गर्ने गरी विसं २०७१ मा ठेक्का सम्झौता भएको सो पुल निर्माणका लागि हालसम्म चार पटक म्याद थप भएको छ । सडक विभागले १२औं पटक संसोधन गरेको सार्वजनिक खरिद नियमावली अनुरुप चौथो पटक म्याद थप भएको सडक डिभिजन कार्यालय डोटीका सूचना अधिकारी इन्जिनियर रामचन्द्र जैशीले बताए । उनका अनुसार पछिल्लो समय २०७८ चैत्र ३० गते २०८० असार मसान्तसम्म काम सम्पन्न गर्ने गरेर म्याद थप गरिएको हो । यस अघि २०७५ पुस ५ गते पहिलो पटक म्याद थप गरिएको थियो । २०७७ चैत्र ५ गते दोस्रो पटक र २०७८ भदौ ४ गते तेस्रो पटक म्याद थप गरिएको पाइन्छ । यसरी नियमावली नै संसोधन गरेर पटक–पटक म्याद थप गरिएको सो योजनाको भौतिक कार्य प्रगति दुई वर्ष देखि २२ प्रतिशतमा सिमित छ । हालसम्म निर्माण कम्पनीले ५ करोड ३ लाख ४ हजार १८८ रुपैंया भुक्तानी लिएको इन्जिनियर जैशीले बताए ।

ताक्लाकोट जोड्ने सपना अधुरै

निर्वाचनका समयमा यहाँका जनप्रतिनिधिहरुले सो पुलको योजना सुनाउँदै डोटी, बझाङ हुँदै चिनको वाउडर ताक्लाकोटसम्म सडक पु¥याउने सपना देखाउनु हुन्छ । डोटीबाट निर्वाचित पूर्वमन्त्री वीर बहादुर बलायर धनगढी–डोटी तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोड्नका लागि द्रूतमार्ग निर्माण गरिने र त्यसका लागि यही निर्माणाधीन पुलको प्रयोग गरिने योजना सुनाउने गर्थे । ताक्लाकोट जाड्ने उनको पुरानो सपना हो । २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हुँदा समेत उनले पुल निर्माण सम्पन्न भएपछि सो सडकको योजना अघि सारिने बताउदै आएका थिए ।

डोटीबाटै निर्वाचित पूर्वमन्त्री प्रेम बहादुर आले मगरले पनि यस पटकको घोषणा पत्रमा ताक्लाकोट सडक प्राथमिकताका साथ राखेका थिए । पुल निर्माण सम्पन्न पछि सो सडकको योजना अघि सार्न पहल गर्ने उनको योजना पनि यही पुलका कारण थाती रहेको छ ।

तोकिएको समयमा पुल नबन्दा नदी पारी बस्ती भएका जनताको घर नजिकैबाट गाडी चढ्ने रहर र सपना समेत चकनाचुर भएको छ । पुल नबन्दा त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौंँ लामो यात्रा गर्नु पर्ने बाध्यता रहेको छ ।

बालकको जीवन बर्बाद

सेती नदीमा निर्माणाधिन सो पुलका कारण एक जना बालको जीवन नै बर्बाद भएको छ । ८ वर्ष सम्म निर्माण कार्य सम्पन्न हुन नसकेको उक्त पुल निर्माण क्षेत्रमा जडान गरिएको विद्युतका कारण स्थानीय बालकले दुबै हात गुमाउनु परेको छ ।

शिखर नगरपालिका–१० बानेडुंग्रीसैनका १२ वर्षीय सतिस ठगुन्नाका दुबै हात करेन्ट लागेर गुमेका हुन् । निर्माण कम्पनीले भुँई नै छुने गरेर राखेको ट्रान्समिटरबाट सतिसलाई करेन्ट लागेको हो ।

२०७६ कार्तिक १६ गते विद्यालयको विदा पछि साथीहरुसँगै बाख्रा चराउन पुल निर्माण क्षेत्र तिर गएका सतीसलाई बेबरी टिप्ने क्रममा करेन्ट लागेको थियो । बुवा बेपत्ता भएका सतिस आमासँगै बस्दै आएका थिए । आमा विष्ना देवी ठगुन्नाले सतिसलाई मजदुरी गरेर पालन पोषण गरिरहेकी थिइन् । अहिले उनको पीडा दर्दनाक छ । निर्माण कम्पनीले सतिसको उपचारमा ७ लाख खर्च ग¥यो तर सतिसका हात जोड्न सकेन । न त पुल नै जोड्न सक्यो ।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७९ माघ १४

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP