२०८२ बैशाख १८, बिहीबार
May 1, 2025, Thursday

यार्सागुम्बा सङ्कलनका लागि अनुमति अनिवार्य

दार्चुला – हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सा गुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिनुपर्ने भएको छ। अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले संरक्षण क्षेत्रभित्र यार्सागुम्बा संकलनका लागि अनिवार्य अनुमति लिन सार्वजनिक सूचना जारी गरेको कार्यालय प्रमुख गणेश पौडेलले जानकारी दिएका छन् ।

दार्चुलामा हिमाली क्षेत्रका नागरिक वैशाखदेखि असारसम्म हिमाली क्षेत्रमा गएर वर्षौदेखि यार्सागुम्बा सङ्कलन गर्दै आइरहेका छन्। कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनमा रोक लगाएको थियो। यस पटक यार्सागुम्बा सङ्कलनका लागि वन खोलिएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ।

वैशाख १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अपी नाम्पा संरक्षण क्षेत्रको कार्यालय खलङ्गा, राप्ला सेक्टर सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, खार रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगड पोष्ट र हिकिला पोष्टबाट अनुमति पत्र वितरण भइरहेको कार्यालय प्रमुख पौडेलले बताएका छन् ।

विगतका वर्षमा सम्बन्धित स्थानीय तह र अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयबीच यार्सागुम्बा सङ्कलन अनुमति पत्रका विषयमा विवाद हुने गरेको थियो।

संरक्षण क्षेत्र कार्यालय र स्थानीय तहले अनुमति पत्र जारी गर्दा सङ्कलक अनुमति लिन दोधारमा पर्ने गरेका थिए। यस पटक भने हालसम्म संरक्षण क्षेत्र कार्यालयले मात्रै यार्सागुम्बा सङ्कलनका लागि अनुमति पत्र जारी गरिरहेको छ।

कानुनी रुपमा संरक्षण क्षेत्रलाई नै यार्सागुम्बा सङ्कलन अनुमति पत्र वितरण गर्ने अधिकार रहेको कार्यालय प्रमुख पौडेलको भनाइ छ। जनप्रतिनिधि निर्वाचनको तयारीमा भएकोले पनि यार्सागुम्बा सङ्कलनतर्फ स्थानीय तहको ध्यान पुग्न नसकेको बताइएको छ।

केही यार्सागुम्बा सङ्कलक वैशाख पहिलो हप्तादेखि नै यार्सागुम्बा सङ्कलन हुने पाटनमा पुगिसकेका छन्। संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि जेठ दोस्रो हप्तादेखि असारसम्म बढीमा ३० दिन मात्रै तोकेको छ। यार्सा पाटनमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले अनुगमन गर्ने भएकाले अनिवार्य रुपमा सबैलाई अनुमतिपत्र लिन कार्यालयले सार्वजनिक सूचनामार्फत् आह्वान गरेको छ।

संरक्षण क्षेत्र भित्रका यार्सा सङ्कलकले प्रतिव्यक्ति पाँच सय, संरक्षण क्षेत्र बाहिरकाले प्रतिव्यक्ति दुई हजार र जिल्ला बाहिरका यार्सागुम्बा सङ्कलकले परिचयपत्र लिनका लागि तीन हजार रुपियाँ राजस्व रकम तिनुपर्छ। परिचय पत्र लिदाँ पासपोर्ट साइजको फोटो दुई प्रति र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न राख्नुपर्ने कार्यालयले जनाएको छ। संकलन अनुमति विना यार्सागुम्बाको सङ्कलन र ओसारपसार गरेमा यार्सागुम्बा जफत गरेर कानुन बमोजिम कारवाही गरिने कार्यालय प्रमुख पौडेलले बताएका छन् । यार्सागुम्बा सङ्कलनका लागि यार्सा पाटन प्रवेश गर्दा हातहतियार साथमा लैजान नपाइने तथा खुला रुपमा फोहोर गर्न पाइने छैन।

सङ्कलन अवधिमा कुनै वन पैदावारको हानी नोक्सानी, वन्यजन्तुको चोरी सिकार गरेमा कानुन बमोजिम कारवाही गरिने संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ। खासगरी दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका हिमाली क्षेत्रमा यार्सागुम्बा पाइने गरेको छ। व्यास, अपिहिमाल, दुहुँ, मार्मा र नौगाडका संकलक यार्सागुम्बा सङ्कलनका लागि हिमालसम्म पुग्ने गरेका छन्।

हिमाली क्षेत्रका स्थानीयको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा भएकोले स्थानीय सपरिवार यार्सा पाइने पाटनमा पुग्ने गरेको अपिहिमालका स्थानीय बताँउछन् ।

गोरखापत्रबाट

Related News

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
  • २०७९ बैशाख १८

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा...

TOP