२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

डोटीका उम्मेदवार घरदैलो अभियानमा जुटे

डोटी – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीका विभिन्न राजनीतिक दलका उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन्। नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)बीच जिल्लामा उम्मेदवार मनोनयनमा तालमेल भएसँगै घरदैलो अभियानमा जुटेका हुन्। नेपाली काङ्ग्रेस र नेकपा एमाले भने अलग अलग अभियान सञ्चालन गरी मतदाताको विश्वास जित्न प्रयासरत छन्। अहिले नेताहरु नागरिकका घर घर मात्र हैन खेत खेतमै पुग्न थालेको स्थानीयवासीहरु बताउँछन्।

उम्मेदवारी दर्तासँगै यहाँका नेता कार्यकर्ताहरु अहिले घरदैलो अभियान अन्तर्गत गाउँका जनतासँग प्रत्यक्ष भेटघाट गर्न थालेपछि गाउँमा चुनाबी रौनक छाएको जोरायल गाउँपालिका–२ का लोकबहादुर मल्लले बताए।

उनले भने– “विभिन्न पार्टीका नेता, कार्यकर्ताहरु गाउँ गाउँमा भोट माग्न आएका छन्। अहिले यहाँका गाउँघरमा चहल पहल निकै बढेको छ।” घरदैलो अभियान लिएर आएका नेताहरुसँग यहाँका नागरिकले शिक्षा, स्वास्थ्य, सडकको मद्दालाई प्राथमिकतामा राख्ने उम्मेदवारलाई आफ्नो मत दिने बताउँदै आएका छन्। बडिकेदार गाउँपालिका–१ का प्रेमबहादुर देउवाले भने– “भाषण भन्दा पनि जनताले विकास चाहेका छन्। विकासप्रति प्रतिवद्ध उम्मेदवारलाई हामी भोट दिन्छौँ।”

यसपटक स्थानीय तहमा नयाँ अनुहार सहित युवा उम्मेदवार बढी भएकाले यहाँका स्थानीय बासिन्दा आशावादी देखिएका छन्। गाउँमा चुनावी चहलपहल बढेसँगै कामका लागि जिल्ला बाहिर तथा छिमेकी मुलुक भारत गएका यहाँका सयौँ नागरिक अहिले गाउँ फर्किन थालेको आदर्श गाउँपालिकाका स्थानीयवासी गणेश विष्टले बताए।

उनले भने–“कोरोनाको त्रास अब छैन। गाउँमा चुनावी चहलपहल बढेपछि कामका लागि जिल्ला बाहिर र छिमेकी मुलुक भारत गएकाहरु पनि भोट हाल्न गाउँ फर्किन थालेका छन्। सुनसान भएका गाउँमा चहलपहल निकै बढेको छ।”
डोटीका नौ वटै स्थानीय तहमा सोमबार उम्मेदवारी दर्ता भएसँगै नेताहरुको दौडधूप पनि बढेको हो। जिल्लाका दुई नगरपालिकासहित सात गाउँपालिकामा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा तथा राष्ट्रिय जनमोर्चाका नेताहरुबाट उम्मेदवारी दर्ता भएको हो। नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलहरूले यहाँका नौ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको डोटीका प्रमुख निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए।

नेपाली काङ्ग्रेसबाट यहाँको सबैभन्दा पुरानो नगरपालिका दीपायल सिलगढी नगरपालिकाको प्रमुख पदमा बाजी खड्का र उपप्रमुखमा कलावती महरा (साउद) को उम्मेदवारी परेको छ।

शिखर नगरपालिकाको प्रमुखमा दीर्घ बलायर, उपप्रमुखमा सुनिता रावल (जोरा), आदर्श गाउँपालिकाको अध्यक्षमा गणेश खड्का, उपाध्यक्षमा लक्ष्मी रोकाया, सायल गाउँपालिकाको अध्यक्षमा धर्मराज जोशी, उपाध्यक्षमा कमला ओली, केआइसिंह गाउँपालिकाको अध्यक्ष लोकेन्द्र शाही, उपाध्यक्षमा मीना विष्ट, बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा डिलबहादुर बम, उपाध्यक्षमा विष्ना बम, बडिकेदार गाउँपालिकाको अध्यक्षमा भैरब साउद र उपाध्यक्षमा डम्मरी कलेल, जोरायल गाउँपालिकाको अध्यक्षमा दीपककुमार विष्ट, उपाध्यक्ष चन्द्र साउद तथा पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद उपाध्याय, उपाध्यक्षमा पशुपति खड्काको उम्मेदवारी परेको छ।

नेकपा ९एमाले० बाट दीपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासी र उपप्रमुखमा रुपा कठायत र शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर तथा उपप्रमुखमा लक्ष्मी मल्लबाट उम्मेदवारी दर्ता भएका छन्।
यसैगरी, पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा कृष्णकुमार खड्का, उपाध्यक्षमा शारदा साउद, जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा, उपाध्यक्षमा जमुना बोहरा, बोगटान फुड्सिलमा गाउँपालिकाको अध्यक्षमा हस्त बुढा, उपाध्यक्षमा ज्ञानु मल्ल (बम) र सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेल, उपाध्यक्षमा विष्ना सिंहको उम्मेदवारी परेको छ।

नेकपा (माओवादी केन्द्र)बाट दीपायल सिलगढी नगरपालिकाको प्रमुखमा खगेन्द्रबहादुर साउद, उपप्रमुखमा एकीकृत समाजवादीकी ऐश्वर्या विष्ट, सायल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका डबल साउद, उपाध्यक्षमा एकीकृत समाजवादीका टीका सिंह, शिखर नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका सागर भट्ट तथा उपप्रमुखमा माओवादी केन्द्रका रमेश जोशी (सैपाल) को उम्मेदवारी परेको छ।

यसैगरी, बडिकेदार गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका भक्तबहादुर साउद, उपाध्यक्षमा माओवादी केन्द्रका सुशील घर्तिमगर, जोरायल गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका किरण मल्ल, उपाध्यक्षमा माओवादी केन्द्रका प्रेमा ओलीको उम्मेदवारी परेको छ। डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरी पाँच स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रले तथा चार स्थानीय तहमा एकीकृत समाजवादीले आफ्ना उम्मेदवारहरुलाई निर्वाचनमा उतारेका छन्।

रासस

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०७९ बैशाख १३

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP