२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

महिलाको ‘हत्या’ गरेर तीन दिनसम्म शवमा झारफुक

कञ्चनपुर – आँगनभरि अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा हालेर रातो बनाइएका फलामका डन्डी । बीचमा महिलाको शव । शवको वरिपरि तीन जना धामीझाँक्री कामिरहेका थिए । ‘यो हामीले गरेको, हामी नै ठीक पार्छौं,’ उनीहरू भनिरहेका थिए । शव गन्हाइसकेको थियो । तैपनि केही क्षणमा होसमा ल्याउने भन्दै हल्लिइरहेका थिए ।

मृतक रञ्चुला साउदकी छोरी र आफन्त महाकाली प्रादेशिक अस्पतालमा । तस्बिर : भवानी भट्ट/कान्तिपुर

कञ्चनपुरको वेदकोट नगरपालिका–६ का वडा सदस्य धनसिंह पुजाराले शनिबार दिउँसो कमला साउदको घरमा देखेको दृश्य यही हो । मुसेपानीमा धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु भएको खबर सुनेपछि उनी त्यहाँ पुगेका थिए । झाँक्रीको कुटपिटबाट ४२ वर्षीया रञ्चुला साउदको बिहीबार नै मृत्यु भएको थियो । शव गन्हाएको अवस्थामा आँगनमै राखिएको थियो । शरीरभरि घाउ र फलामको डन्डी तताएर पोलेका डाम थिए । ‘बिहानै मेरो घरमा एक–दुई जना आएर साउदको घरमा यस्तो भएको छ भने,’ वडा सदस्य पुजाराले भने, ‘म त्यहाँ जाँदा धामीहरू मैमाथि खनिए, त्यसपछि प्रशासनमा फोन गरेर प्रहरी बोलाउनुपर्‍यो ।’

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत चुरेको बत्छेला क्षेत्रमा पदमार्ग निर्माणको काममा खटिएकी मजदुर थिइन् रञ्चुला । एकल महिला उनी ज्याला–मजदुरी गरेर दुई छोरी र आफ्नो गुजारा गरिरहेकी थिइन् । श्रीमान्‌को ७ वर्षअघि भारतमा मृत्यु भएको थियो ।

टाउको दुखेपछि उनी मंगलबार छिमेकी कमला साउदको घरमा गएकी थिइन्, जहाँ एक महिनादेखि भीमदत्त नगरपालिकाको हल्दुखाल र बाराकुण्डाका दुई जना धामीझाँक्री आएर बसिरहेका थिए । रञ्चुलाले पनि धामीझाँक्रीलाई देखाइन् । उनलाई ‘भूत’ लागेको भन्दै थारू समुदायका भर्रा (झारफुक गर्ने) कहाँ जान भनियो । त्यो दिनसम्म उनमा सामान्य टाउको दुख्नेबाहेक अरू समस्या थिएन । राति थप असजिलो भएपछि उनी फेरि धामीझाँक्री पाहुना बसेको घरमा पुगिन्, जहाँ फेरि झारफुक गरियो ।

धामीहरू धर्मानन्द भट्ट र नारायणदत्त भट्टले मन्त्र सुनाउने भन्दै पटक–पटक कोठामा लैजान्थे, फेरि बाहिर ल्याउँथे । उनीहरूले झारफुक गर्दागर्दै अर्को दिन साँझपख उनको जिब्रो लरबरिन थाल्यो । झारफुकका नाममा उनीमाथि धामीहरूले अत्याचार गरे । रञ्चुलाकी छोरी सरिताका अनुसार आगोमा तताएका फलामका डन्डीले मुख र शरीरमा डामेका कारण रञ्चुलाको मृत्यु भयो तर झाँक्रीहरूले भने आफूहरूले नै ‘बेहोस’ बनाएकाले फर्काउने दाबी गरिरहेका थिए । ‘यसले हाम्रो बारेमा गाउँलेसँग अनेक कुरा गरेकी छ, हामीले नै यसलाई बेहोस बनाएका हौं, यो कुरा बाहिर भन्यौ भने तिमीहरूलाई पनि यस्तै बनाइदिन्छु,’ धामीले धम्क्याएको सरिताले सुनाइन् ।

सरिताका अनुसार रञ्चुलाको बिहीबार दिउँसो मृत्यु भएको हो । त्यही दिन साँझ रञ्चुलाका देवर पदमलाई पनि कमलाले नै फोन गरेर बोलाएकी थिइन् । उनी बैतडीको शिवनाथ गाउँपालिकास्थित घरमा थिए । ‘तिम्रो भाउजूको शरीरमा तिम्री आमाको आत्मा आएको छ, यसको झारफुक गर्नुपर्छ भन्दै मलाई बोलाए,’ पदमले भने, ‘म आउँदा त लास मात्रै देखें ।’

रञ्चुलाका दाइ करनसिंह घटाल बुधबार नै आएका थिए । ‘धामीझाँक्रीले नै मेरी बहिनी मारेका हुन्,’ उनको दाबी छ । उनका अनुसार कमला पनि धामीझाँक्री नै हुन् । उनका दुई छोरी मात्रै छन् । छोरा नपाएपछि उनले भट्ट धामीझाँक्रीहरूलाई बेला–बेलामा घरमा ल्याउने गर्थिन् । वडा सदस्य पुजाराका अनुसार कमलाले छोरा पाउने आसमा धामीझाँक्रीमा विश्वास गर्थिन् । पुजाराले खबर गरेपछि प्रशासनले घटनास्थलमा हस्तक्षेप गरेको थियो ।

प्रहरीले धामीझाँक्री दुवै भट्टसहित कमलालगायत सात जनालाई पक्राउ गरेको छ । घटनास्थलबाट फलामका डन्डीहरूसमेत बरामद भएका छन् । ‘घटना शंकास्पद छ तर अहिले नै केही भन्न सकिँदैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले भने, ‘शव गन्हाइसकेको छ ।’ शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामप्रसाद चौधरीले शव गलिसकेकाले घाउ कस्तो हो भन्न नसकिने बताए । ‘लामो समयको शवमा फोका उठ्ने, छाला खुइलिने हुन्छ तर यो केले, कसरी भएको हो छुट्याउन सकिँदैन,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा सोधपुछ गर्दा आरोपितहरूले बिरामीलाई निको पार्न खोजेको बयान दिएका छन् ।’ मृतकका आफन्त र स्थानीयले भने धामीझाँक्रीकै कुटाइबाट रञ्चुलाको मृत्यु भएको बताएका छन् ।

वेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले पनि जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिनुपर्ने बताएका छन् ।

त्यस्तै मानवअधिकारका लागि एकल महिला समूह कञ्चनपुरकी अध्यक्ष जानकी जोशीले पनि घटना सुनियोजित भएको दाबी गरेकी छन् । ‘शरीरभरि डाम छ, फोका उठेका छन्, यो हत्या नभई के हो ?’ उनले भनिन्, ‘पीडितलाई न्यायसँगै दोषीलाई कारबाही हुनुपर्छ, तर बेसहारा बनेका नाबालिग छोरीहरूको जिम्मेवारी कसले लिन्छ ?’

कान्तिपुरबाट साभार गरिएको

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ बैशाख ४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP