२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

डोटी चेम्बर अफ कमर्सको भवन निर्माण स्थलमा झडप : वडाध्यक्ष घाइते

डोटी– डोटी चेम्बर अफ कमर्सको भवन निर्माण स्थलमा झडप भएको छ । चेम्बरले आफ्नो नाममा रहेको जमिन माथिको चलनचल्तीको वर्षौं पुरानो बाटो (शाखा सडक) मिचेर भवन निर्माण गर्न खोजेपछि स्थानीयले रोक्न खोज्दा झडप भएको हो ।

झडपमा विवाद साम्य पार्न गएका दिपायल सिलगढी नगरपालिका– २ का वडा अध्यक्ष राजेन्द्र खड्का र स्थानीय युवा रोशन कठायत घाइते भएकाछन् । वडाअध्यक्ष खड्काको हातको एउटा औंला भाँचिएको छ भने कठायत सामान्य घाइते छन् । घाइतेको सुजंङ्ग अस्पताल राजपुरमा उपचार भैरहेको छ ।

वडा कार्यालय र स्थानीयहरुले यस अघि चेम्बरले वर्षौ पुरानो चलन चल्तिको बाटो मिचेर आफ्नो कार्यालय भवन निर्माण गर्न लागेको भन्दै जिल्ला प्रशासन, नगरपालिका र नापी कार्यालयलाई पत्राचार गरी छानविन गर्न अनुरोध गरेको थियो ।

नापी कार्यालयले भवन निर्माण क्षेत्र कि.नं. ३४० डोटी चेम्बर अफ कमर्सको नाममा रहेको र सोही जमिनमा हाल अस्थायी सडक रहेको प्रतिवेदन जिल्ला प्रशासन, नगरपालिका, चेम्बर र वडा कार्यालयलाई बुझाएको छ ।

चेम्बरले केहीसमय अघि अरुबाट जमिन खरिद गरेर आफ्नो नाममा गरेको थियो । स्थानीयले बर्षौ देखि उक्त जमिनबाट अस्थायी सडक सञ्चालन भैरहेकोले चेम्बरले सो सडककोबाटो छोडेर भवन निर्माण गर्नु पर्ने माग गर्दै आएकाछन् । स्थानीयको मागलाई व्यवास्था गर्दै चेम्बरले आफ्नो नाममा भएको पुरै जमिन ओगटेर भवन निर्माण गर्न लागेपछि विवाद उत्पन्न भएको हो ।

सरोकारवालासँगको छलफल पछि सहमती जुटाएर अगाडी बढ्ने गरी तत्कालका लागि निर्माण कार्या रोक्नु पर्ने स्थानीयको माग रहेको छ । शनिबार चेम्बरका पदाधिकारी भवन निर्माण स्थलमा गएर निर्माण कार्य अगाडी बढाउन थालेपछि स्थानीय युवाले वडाअध्यक्षलाई खबर गरेका थिए । वडाध्यक्ष खड्काले नगरपालिका, स्थानीय, प्रशासन, नापी, वडा कार्यालय र चेम्बरका प्रतिनिधि बसेर आपसी सहमति गरेर अगाडी बढ्न सुझाब दिएको बताए । सुझाब दिदादिदै चेम्बरले अटेरी गरेर भवन निर्माण गरेरै छोड्ने भन्दै आफुलाई के गर्नसक्छस् गर भन्दै होच्याएपछि विवाद सृजना भएको उनको भनाई छ । विवाद पछि धकेला धकेल भएपछि आफ्नो औंला भाँचिएको र रड हालेर उपचार गराइरहेको उनले बताए ।

चेम्बरले दिपायल सिलगढी नगरपालिका वडा नं. २ अन्तरगत सेती किनार हुँदै पुल बजार, माझी टोल, दिसिनपा वडा नं. २, ३ र दिल्पेश्वर मावि जाने शाखा सडकमा रहेको जमिनमा भवन निर्माण गर्न थालेको छ ।

डोटी चेम्बरका सचिव तेज डुम्रेलले निर्माण स्थलमा काम चलिरहेको बताए । मेसिन लगाएर काम निरन्तर चलिरहेको अवस्थामा झडप भएको र आफु सहित सदस्य राम विष्टलाई सामान्य चोट लागेको उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सहरी विकास कार्यालय अन्तरगत ४० लाखको बजेटमा भवन निर्माण कार्य भैरहेको उनले बताए ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७८ बैशाख २५

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP