२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।

‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो’ नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भने ।

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।

मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् ।

जोशीको जन्म २०२० साल पुस २४ गते भएको थियो । काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित नेपाली कांग्रेसका संविधानसभा सदस्य नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर थिए ।

२०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा होमिएका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रजातान्त्रिक आन्दोलनका क्रममा जोशी पटकपटक पक्राउ परि हिरासतमासमेत परेका थिए ।

लोकतान्त्रिक मूल्य-मान्यता र संस्कृतिले नै देशलाई प्रगतिको बाटोमा हिडाउन चाहने जोशीले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका थिए । कुशल संगठनकर्ता र वक्ताका रूपमा परिचित जोशी सामाजिक हितका कार्यमा विशेष रुचि राख्‍ने गर्थे । उनी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष थिए ।

जोशीका एक छोरी र श्रीमति छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ चैत्र १३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP