२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

सुदूरपश्चिममा बन्दको असर : कार्यकर्ता टायर बाल्ने, प्रहरी निभाउने

धनगढी – नेकपाको प्रचण्ड–नेपाल खेमाले आह्वान गरेको आम हड्तालका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बजार बिहानैदेखि बन्द छ।

प्रचण्ड नेपाल समूहका कार्यकर्ता तथा अनेरास्वीयुका विद्यार्थीले बिहीबार बिहान धनगढीका विभिन्न ठाउँमा टायर बालेका छन् ।

उनीहरुले धनगढीको क्याम्पस रोड, पुष्पलाल चोक, रातो पुल र चटकपुर लगायतका ठाउमा टायर बालेका छन् । धनगढीको क्याम्पस रोडमा अनेरास्वीयुका विद्यार्थीले टायर बालेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो निभाउनुका साथै, टायरहरु नियन्त्रणमा लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायको टोली बिहानै क्याम्पस रोड पुगेको थियो।

प्रहरी निरीक्षक दान बहादुर रोकायाले प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र अनेरास्वीयुका विद्यार्थीलाई बजारमा नाराबाजी र टायर बालेर नहिँड्न आग्रह गरेका छन् । क्याम्पस रोडमा केहीबेर प्रहरी र बन्दकर्ताबिच भनाभन समेत भएको थियो।

अत्यावश्यक सेवा बाहेक सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् भने बजार व्यवसाय समेत ठप्प छ । दुई पाङ्ग्रे सवारी साधन अटो रिक्सा र मोटरसाइकल छिटफुट रुपमा चलेका छन् । बन्दकर्ताहरुले बिहान खुलेका चिया, नास्ता पसल समेत बन्द गराएका छन् ।

बन्दका कारण बिहानै क्याम्पस पढ्न गएका विद्यार्थीहरु घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले अप्रिय घटना हुन नदिन जिल्लाभर ६ सय भन्दा बढि प्रहरी परिचालन गरेको बताए।

नेकपा (प्रचण्ड–नेपाल) समूहका कैलाली सदस्य रमेश भट्टराईले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरे त्यसको प्रतिवाद गर्न तयार रहेको बताए।

उनले व्यापारीहरुले व्यवसाय खोले, बजारमा यातायातका सवारी साधन सञ्चालन गरे स्वयम आफैले जिम्मेवारी हुनुपर्ने समेत चेतावानी दिएका छन्न् । गृहमन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै निर्धक्क भएर गाडी चलाउन अनुरोध गरेको थियो।

काम चलाउ बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक नियुक्ति गरेको भन्दै दाहाल–नेपाल हड्तालमा उत्रिएका हुन् ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ माघ २२

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP