जदौ गोसाइँ
चिन्नु भो ?
तपाई मेरो पूर्खाको गौरव
म उही हली हुँ मालिक
तिम्रा मोबाइल र कम्प्यूटरमा दगुर्ने औँलामा
टाँसिए या टाँसिएनन् माटाका कणहरु
त्यही माटोको आद्रता ओढेर
त्यही माटोको सुवास बोकेर
झुलाएको हुँ अन्न बाली
वर्षौ वर्षसम्म
र
बनेको थिएँ
भान्साको नूनदेखि कौसीको चून सम्मको ढाक्रे
पेटमा पटुका बाँधेर
हलोसँगै जोतेको हूँ पिँडुला र पाखुराको मासु
म उही हली हुँ गोसाइँ
काटेर ल्याउथेँ
जात्रा हेर्न हिँडेकी
वैशालु युवतीका
पसारेका कपालझैँ
भीरको बाबियो
र पो बढारिन्थ्यो तिम्रो कौसी
घण्टौ हिँड्थ्यो मसँगै उकालो
डोकोभरीको स–सानो पसल बोकेर
र पो पाक्थ्यो तिम्रो भान्सामा परिकार !
साँझ अबेरसम्म
जूनको उज्यालो ओढेर
सोझ्याइरहन्थे आँगनमा अचानो
र पो जोगिन्थ्यो तिम्रा अँगेनामा आगो
मधेश झरेपछि त चिन्न पनि छोड्नुभएछ क्यार !
दिपायल – कञ्चनपुरमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ...