२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

परिवर्तन परियोजनाको समीक्षा : जागरुक भए ग्रामीण महिला


दिपायल- डोटीमा ४ वर्षदेखि सञ्चालनमा रहेको “परिवर्तन परियोजना” ले ग्रामीण महिलाहरुलाई जागरुक गराएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शनिवार सिलगढीमा आयोजना गरिएको “जिल्ला स्तरीय परियोजनाको सिकाइ तथा अनुभव आदाप्रदान कार्यक्रम”का सहभागिहरुले उक्त कुरा बताएका हुन् ।

सम विकास केन्द्र डोटीले सञ्चालन गर्दै आएको परिवर्तन परियोजनाले जिल्लाका तीन वटा पालिकाहरु शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र जोरायल गाउँपालिकामा काम गरिरहेको थियो । परियोजनाको अवधि सकिएसँगै संस्थाले गरेका काम, सिकाइ र अनुभव सहितको समीक्षा गरिएको हो ।

परियोजनाले स्थापना गरेको सुशासन पाठशालामा सहभागी भएपछि महिलाहरु निडर र आत्मनिर्भर हुनुका साथै क्षमतावान भएको शिखर नगरपालिका १ को सुशासन पाठशालाका सदस्यल विना रावलले बताइन् । परियोजनाबाट अर्थपूर्ण महिला सहभागिता, महिला अधिकार, संघियता, तीनै तहका सरकारको काम कर्तव्य, योजना छनोट, टोल भेला न्यायिक समिति, सार्वजनिक सुनुवाइ, सामाजिक परिक्षण, मौलिक हक, संविधानले गरेका व्यवस्था लगायतका यावत कुराहरुको ज्ञान लिनुका साथै सिकेका कुराहरुलाई व्यवहारमा उतारेको शिखर नगरपालिका–२ की कमला शाहीले बताइन् ।

शिखर नगरपालिका ३ की मनु नेगीले परिचय दिन डराउने ग्रामीण क्षेत्रका महिलाहरु अहिले उपभोक्ता समितिको नेतृत्व देखि योजना छनोटमा सक्रिय हुने गरेको बताइन् । अधिकारका बारेमा जानकारी पाए मात्रै प्रयोग गर्न पाइने रहेको उनले भनिन्,“कानुनी व्यवस्था, सरकार सञ्चालन ऐन, महिला अधिकार, बाल अधिकार, घरेलु हिंसा, राजनीतिक प्रक्रिया सबैका बारेमा जानकारी पाए पछि हामीलाई आफ्नो अधिकार र समुदायको हितमा काम गर्न सहज भएको छ ।”

महिलाहरुको नेतृत्व विकाससँगै जीविकोपार्जनमा पनि सहजता भएको केआईसिंह गाउँपालिका–४ का रत्ना भट्टले बताइन् । परियोजनाले बाख्रा तथा आर्थिक सहयोग गरेर महिलाहरुलाई व्यवसायिक पनि बनाएको उनले बताइन् ।

यही परियाजनाका कारण सक्षम महिलाहरुले स्थानीय सरकारमा पनि सहभागिता जनाएको केआइसिंह ५ की जानकी विकले बताइन् । राजनीतिमा पनि महिलाहरुको सक्षम र अर्थपूर्ण सहभागिता छ,“उनले भनिन्,“संस्थाको सिकाइबाट थुप्रै ज्ञानहरु ीसकेका छौं । १२ वर्ष देखि नागरिकता नपाएका महिलाहरुलाई नागरिकता उपलब्ध गराउन सक्षम भएका छौ । मदिरा नियन्त्रण पछि घरेलु हिंसा अटेका छन् । कुन कामका लागि कहाँ जाने र कसरी गर्ने भन्ने बारे पनि सबै महिलाहरुलाई जानकारी भएको छ ।”

महिलाहरुलाई पुरुषहरुले हरेक ठाउँमा ढाट्ने, सहभागिता नगराउने र घरकै काममा सिमित गर्ने प्रचलन हटेको जोरायलकी शान्ति चुनाराले बताइन् । अब हामीले सम विकास केन्द्रबाट धेरै कुराहरु सिकेका छौं,“उनले भनिनर,“हामीलाई कसैले पनि ढाँट्न, पछाडी पार्न सक्दैनन् ।”

जोरायल गाउँपालिका २ की लक्ष्मी ठगुन्नाले परियोजनाले महिलाहरुलाई एकजुट गराउनुका साथै समूह गठन, पाठशाला सञ्चालन, पढाइ छोडेका महिलाहरु विद्यालय भर्ना , जिपिकोपर्जनका साथै महिलाहरुको आयआर्जन वृद्धि भएको बताइन् । महिलाहरु श्रीमानलाई घरमै रोजगारी दिन सक्ने भएका छन्, उनले भनिन्,“बैंक तथा सहकारीको पैसा जम्मा छ । बाल विवाह, बहुविवाह रोकिएको छ र विद्यालय छाडेका महिलाहरु विद्यालय जान थालेका छन् । यो सबै परिवर्तन, परिवर्तन परियोजना ले ल्याएको हो ।”

गैर सरकारी संस्थाको एउटा परियोजनाले महिलाहरुमा ल्याएको परिवर्तन देखेर निकै खुसी भएको जिल्ला समन्वय समितिका उप संयोजक स्मृति चुनाराले बताइन् । महिला सशक्तिकरण र महिलाको अगुइमा मात्रै समाज अगाडी बढ्ने भएकाले महिलाहरु सधैं सक्रिय हुनु पर्ने बढ्नुपर्ने जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण सिंहले बताए ।

महिलाहरुमा देखिएको परिवर्तन, उनीहरुको क्षमताले ग्रामीण महिलाहरुको जीवनस्तर माथि उठेको महशुस भएको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख विजय खड्काले बताए । परियोजनाले ग्रामीण महिलाहरु सशक्त र जागरुक भएको उनले बताए । समाजको स्तरोन्नति, सामाजिक विकास, जनताको उच्च जीवनस्तर बनाउन, गरिवि हटाउन र सुशासन मैत्री समाज निर्माण गर्न स्थानीय सरकारलाई एनजिओहरुले सघाउदै आएको उनले बताए ।

परियोजनाले सुशासन, महिला सशक्तिकरण, बाल अधिकार र जीविकोपार्जनका क्षेत्रमा काम गरेको परियोजना संयोजक महेश परियारले बताए । यो अवधिमा तीन पालिकामा ३६ वटा सुशासन पाठशाला स्थापना गरेर काम गरेको उनले बताए ।

परियोजनाले राज्यको सार्वजनिक सेवा सुविधाबाट वञ्चित दलित, महिला एवं सिमान्तकृत समुदायमा सुशासनका क्षेत्रमा काम गरेको सम विकास केन्द्रका अध्यक्ष अधिराज विसिले बताए । पालिकाहरुलाई प्रविधियुक्त बनाउन स्मार्ट पालिकाको योजना लागु भएको उनले बताए ।

Related News

नयाँ आईजीपी नियुक्तिको लागि मन्त्रिपरिषद् बैठक बस्दै
नयाँ आईजीपी नियुक्तिको लागि मन्त्रिपरिषद् बैठक बस्दै
  • २०७९ माघ १४

काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। नियमित तालिका अनुसार...

TOP