२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

अस्पतालका बिरामी र दुःखी पीडितका घरमा वडाध्यक्षको जन्मदिन


दिपायल – जन्मदिनलाई विशेष दिनका रूपमा खर्चिलो र भड्किलो तवरले मनाउने प्रचलन बढ्दो छ । जन्मदिनको अवसर पारेर केक काट्ने, पार्टी दिने, शुभकामना, आशीर्वाद ग्रहण गर्ने प्रचलन सामान्य बन्दै गएको छ ।

तर, केही व्यक्तिहरूले भने जन्मदिनमा समाजसेवा गरेर मनाउने गरेका छन् । यस्तै दिपायल सिलगढी नगरपालिका – २ का वडाध्यक्ष राजेन्द्र खड्काले अस्पताल र दुःखी पीडितका घरमा पुगेर जन्मदिन मनाएका छन्। उनले जिल्ला अस्पताल डोटी र सुजङ्ग अस्पताल डोटीमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेका छन् भने केही दुःखी पीडितलाई वडा कार्यालयको तर्फबाट आर्थिक सहयोग गरेका छन्।

कोरोना महामारीका समयमा आफै गाडी चलाएर कोरोना संक्रमितलाई अस्पताल पुर्याउने कार्य देखि वडाबासीलाई सहज सेवा दिन विभिन्न रचनात्मक कार्य गर्दै आएका वडाध्यक्ष खड्का पछिल्लो समय सामाजिक कार्यमा सक्रिय देखिन्छन्।

उनले मंगलबार आफ्नो ३५औं जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण गर्नुका साथै वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई एक जोड न्यानो लुगा उपलब्ध गराएका छन् । जन्मदिनकै अवसर पारेर उनले वडाको “विभिन्न व्यक्ति तथा संस्थालाई राहत एवं आर्थिक सहायता शीर्षक” बाट ५५ हजार नगद आर्थिक सहयोग गरेका छन् । ब्लड प्रेसरका कारण ज्यान गुमाएका दिपायल सिलगढी नगरपालिका – ४ का वडा सदस्य श्याम कठायतको परिवारलाई क्रिया खर्च वाफत २५ हजार आर्थिक सहयोग गरेका हुन् । त्यस्तै उपचारका क्रममा निधन भएका दिपायल सिलगढी नगरपालिका- २ का बालक अन्सु कठायतको परिवारलाई २० हजार र दिपायल सिलगढी नगरपालिका ५ का राजु देवी लुहरको उपचारका लागि १० हजार आर्थिक सहयोग गरेको उनले बताए ।

जन्मदिनको अवसर पारेर हुने खर्च कटौती गरेर सामाजिक कार्यमा लगाएको अध्यक्ष खड्काले बताए । “धेरै शुभेच्छुकहरुले जन्मदिनको शुभकामना दिए, जन्मदिन मनाउन अनुरोध गरे,” उनले भने,” केक काट्ने, पार्टी दिने खर्च घटाएर बिरामी एवं बृद्धाश्रममा रहेका व्यक्तिलाई सहयोग गरेको हुँ । यही अवसरमा वडाबाट छुट्याएको रकमको सदुपयोग गर्दै दुःखी पीडितलाई सहयोग गर्ने अवसर पनि मिल्यो ।”

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७९ माघ ३

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP