२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

लिफ्ट प्रणालीबाट घर आँगनमै धारा: एक घण्टा पैदल हिडेर खानेपानी बोक्नु पर्ने बाध्यता हट्यो

डोटी- शिखर नगरपालिका–६ चुँडीका ७० घरमा लिफ्ट प्रणालीबाट घर आँगनमै खानेपानीको सुविधा पुगेको छ । लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत विकट गाउँका बासिन्दाले खानेपानीको सुविधा पाएका हुन् । लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण भएपछि एक घण्टा पैदल हिडेर खानेपानी बोक्नुपर्ने बाध्यता हटेकोमा स्थानीय खुसि भएकाछन् ।

नेपाल सरकार, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र शिखर नगरपालिकाको संयुक्त लगानीमा लिफ्ट खानेपानी आयोजना निर्माण भएको हो । आयोजना निर्माण भएसँगै सयौँ वर्षदेखिको खानेपानी समस्याबाट स्थानीयले मुक्ति पाएका छन् । ३६ लाख ३४ हजार ८ सय ८८ रुपैयाँको लागतमा २०७६ मंसिर देखि उक्त आयोजना निर्माण गरिएको होे ।

आयोजना नहुँदा स्थानीय एक गाग्री पानी लिनका लागि एक घन्टा पैदल हिँड्न बाध्य थिए । गाउँमा खानेपानी आयोजना निर्माण भएपछि स्थानीयको दैनिकी नै फेरिएको छ । आयोजनाबाट स्थानीय ७० परिवार र एउटा स्कुलले सुविधा पाएका छन् ।

आयोजना बनेपछि वडावासीले ठूलो राहत पाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीका फुलाराले बताए । ‘आयोजना बनेपछि पानीको अभावमा वर्षौंदेखि काकाकुलको नियति भोग्न बाध्य वडावासीलाई ठूलो राहत मिलेको छ,’ उनले भने । आयोजनाअन्तर्गत १२ वटा धारा निर्माण गरिएको छ । बस्तीभन्दा दुई सय ८२ मिटर तल रहेको मुहानबाट तानेको पानीलाई ट्यांकीमा भण्डारण गरी वितरण गरिएको हो ।

घन्टौँ लगाएर पानी बोकेर खानुपर्ने बाध्यता हटेकोमा स्थानीय खुसी भएका छन् । ‘विद्यालय जाने विद्यार्थीले समेत पढाई छोडेर पानी ल्याउने गाग्री बोकेर जानुपर्ने बाध्यता थियो,’ स्थानीय केशब पुलाराले भने, ‘आयोजना बनेपछि विद्यार्थीले पनि दुःखबाट मुक्ति पाएका छन्, गाउँको मुहारै फेरिएको छ ।’
लिफ्ट प्रणालीबाट निर्माण गरिएको उक्त योजनाको नगर प्रमुख सिताराम जोशी र उप–प्रमुख धौली देवी रावलले एक कार्यक्रमका बीच उद्घाटन गरेकाछन् । नगरवासीलाई शुद्ध खानेपानीको अभाव हुँन नदिनका लागि मुहान माथि नभएका ठाउँमा लिप्ट प्रणाली मार्फत आयोजना निर्माण गरी नगरमा खानेपानी बिस्तार गरिने नगर प्रमुख जोशीले बताए । उनले संयुक्त साझेदारीमा निर्माण गरिएको उक्त आयोजनाबाट जनाताले खानेपानीको सहज सुविधा पाएकोमा विश्वास ब्यक्त गरे ।

नगर उप–प्रमुख रावलले खानेपानी, दाउरा चुलोचौकोको जोहो गर्ने जिम्मेबारी महिलाको काँधमा हुने र महिलाले नै घण्टौं लगाएर टाढाबाट टाउकोमा पानि बोक्नुपर्ने बाध्यता हटेकाले महिलाहरुलाई आयोजनाले विशेष सुविधा पुगेको बताइन् । सवैको सहयोग, सहकार्य र मेहनतले सम्पन्न उक्त खानेपानी आयोजनाले गर्दा खानेपानीका लागि जनताले भोग्नु परेको दुःख र कष्टको अन्त्य भएको उनको भनाई थियो ।

वडा अध्यक्ष तेज वहादुर साउदले खानेपानी निरन्तर सुचारु रुपमा चल्नेमा विश्वास बयक्त गरे । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका कार्यक्रम संयोजक प्रमोदलाल श्रेष्ठले परियोजनाले बनाएको संरचनालाई सञ्चालन गर्ने र रेखदेख गर्ने जिम्मा उपभोक्ता समितिको भएकाले दिगो रुपमा सञ्चालन गर्न उपभोक्ताहरु नै अग्रसर हुनुपर्ने बताए । उपभोक्ता समितिका सचिव माधव फुलाराले खाने आयोजनाबाट गाउका वासिन्दाहरुले ठूलो राहत पाएको बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ बैशाख २१

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP