२०८१ फाल्गुन २५, आईतवार
March 9, 2025, Sunday

पूर्व वडाध्यक्षसहित दर्जन बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश 

दिपायल – पूर्व वडाध्यक्षसहित दर्जन बढी नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संगठन विभागले शिखरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संगठन विभागका उप- प्रमुख एवं शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संगठन विभाग प्रमुख एवं प्रदेश सभा सदस्य पदम बहादुर शाही प्रमुख अतिथि  रहनु भएको थियो ।

कार्यक्रममा शिखर नगरपालिका -७ का पूर्व वडाध्यक्ष नरबहादुर बलायर कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहेका उनी २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पनि माओवादीबाट वडाध्यक्षका उमेदवार रहेका थिए ।

पूर्व वडाध्यक्ष बलायरसँगै नेकपा माओवादी केन्द्रका नगर कमिटी सदस्य दीर्घ बहादुर महर लगायत ईश्वर महरा, कमल सिंह रावत,

पदम रावत , विमल रावत, गणेश महरा, पृथ्वी ऐर र कमल सिंह रावत पनि नेकपा माओवादी केन्द्र परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए । अन्य नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेश गर्ने तयारीमा रहेको बलायरले बताए ।

त्यस्तै नेकपा एमालेबाट २०७४ मा शिखर नगरपालिका – ८ को वडाध्यक्षका उमेदवार रहेका देव बहादुर बलायर पनि कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । २०५४ साल देखि एमालेको विभिन्न जिम्मेवारीमा रहेका उनी हाल किसान महासंघका जिल्ला कोषाध्यक्ष हुन् । उनीसहित वडा नम्बर ११ का टोल अध्यक्ष धनी दमाई, शिखर १ का वडा कमिटी सदस्य योगेन्द्र दडीमाना, शिखर नगरपालिका – ८ का गणेश कार्की, सोही ठाउँका भीम बहादुर बलायर र शिखर नगरपालिका – ९ का सिद्धराज फुलारा पनि पार्टी प्रवेश गरेको नेपाली कांग्रेस शिखर नगर कमिटीले जनाएको छ ।

पार्टीले प्रदेशको संगठन विभागको जिम्मेवारी दिएपछि पहिलो कार्यक्रम आयोजना गरेर नेताहरुलाई पार्टीमा प्रवेश गराउन सफल भएको संगठन विभागका उप- प्रमुख एवं नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । उनले अन्य पार्टीमा आबद्ध, भातृ संगठनमा आबद्ध व्यक्तिहरू कांग्रेसमा प्रवेश गर्न इच्छुक रहेको बताउँदै उपयुक्त समयमा अर्को कार्यक्रम आयोजना गरेर पार्टी प्रवेश गराउने तयारी रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संगठन विभाग प्रमुख एवं प्रदेश सभा सदस्य पदम बहादुर शाहीले नेपाली कांग्रेस मात्रै जनताको पार्टी भएको बताए । कांग्रेसले जनताका लागि जनताको शासन ल्याउन ठूलो बलिदानी दिएको उल्लेख गर्दै राणा शासन देखि लोकतन्त्र स्थापना गर्न कांग्रेसले अहम भूमिका निर्वाह गरेको बताए । विगतमा कांग्रेस जस्तो विशाल पार्टीमा आबद्ध रहेर, देश र जनताप्रति समर्पित भएका नेता कार्यकर्ताहरु बीचमा अन्यत्र गए पनि पुनः आफ्नै घर फर्किने बेला भएको बताउँदै शाहीले घर फर्क अभियान सञ्चल गर्न जरुरी रहेको बताए ।

पार्टी प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई संगठन विभाग प्रमुख शाही, संगठन विभागका उपप्रमुख बलायर, नेपाली कांग्रेसका जिल्ला सचिव नारायण बलायर, नेपाली कांग्रेस नगर कमिटीका उपसभापति उद्धव सिंह मल्ल लगायतका नेता कार्यकर्ताहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन नगर कमिटीका सचिव अर्जुन बलयरले गरेका थिए ।

 

 

Related News

गेटा मेडिकल कलेज विश्वविद्यालयमा स्तरोन्नति हुनेछ : प्रधानमन्त्री
गेटा मेडिकल कलेज विश्वविद्यालयमा स्तरोन्नति हुनेछ : प्रधानमन्त्री
  • २०८१ माघ १७

कञ्चनपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै...

TOP