२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday
सुदूरपश्चिममा ६ हजार १०० मतभर

राष्ट्रिय सभाको निर्वाचन आज : १९ सिटका लागि ५१ उम्मेदवार


दिपायल – राष्ट्रिय सभाका लागि बिहीबार (आज) मतदान हुँदै छ । फागुन २० गतेबाट पदावधि सकिने राष्ट्रिय सभा सभाका २० मध्य १९ सदस्यका लागि सातै प्रदेशका मतदान केन्द्रबाट बिहान ९ बजे देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

निर्वाचनबाट वाग्मतीबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३/३ तथा कोशी, मधेश र लुम्बिनी प्रदेशबाट २/२ सदस्य निर्वाचित हुनेछन् । रिक्त पद जुन समूह र प्रक्रियाबाट निर्वाचित भएको हो, सोही समूह र प्रक्रियाबाट सदस्य निर्वाचित भएर आउँछन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले मतदान सकिएको तीन/चार घण्टाभित्रै परिणाम घोषणा हुने बताए । उनका अनुसार ७ वटा प्रदेशमा रहेका मतदानस्थलमा १९ पदकै लागि मत हाल्ने केन्द्र छन् ।

आयोगले कोशीका लागि प्रदेश निर्वाचन कार्यालय, मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, वाग्मतीका लागि भुटनदेवी मावि र प्राविधिक शिक्षालय, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र, कर्णालीमा निर्वाचन कार्यालय र सुदूरपश्चिममा प्रदेशसभा भवनलाई मतदानस्थल तोकेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशका सांसद, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख मतदाता हुन्छन् । जनसंख्याका आधारमा उनीहरूको मतभार तोकिन्छ । पछिल्लो जनगणनाको तथ्यांकअनुसार आयोगले प्रदेशसभा सदस्यको ५३ र पालिकाका प्रमुख/उपप्रमुखको १९ मतभार तोकिएको छ ।

निर्वाचनमा भाग लिन १२ राजनीतिक पार्टीले आयोगमा दल दर्ता गरे पनि चुनावी मैदानमा ८ दलका ५१ उम्मेदवार छन् । सत्ता गठबन्धनबाट कांग्रेस, माओवादी, नेकपा (एस) र जसपाले साझा उम्मेदवार अघि सारेर गठबन्धन गरेका छन् । जसमा कांग्रेसका १०, माओवादीका ६, एसका २ र जसपाका १ उम्मेदवार छन् ।

सत्ता गठबन्धनसँग कसिलो प्रतिस्पर्धा रहेको कोशीमा प्रमुख प्रतिपक्ष एमालेले राप्रपासँग गठबन्धन गरेको छ । कोशी सरकारमा सत्ता गठबन्धनसँग सभामुख पद लिएको राप्रपाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भने एमालेसँग गठबन्धन गर्न पुगेको हो । एमालेले कोशीमा राप्रपाका अन्य समूहबाट उम्मेदवारी दिएका उद्धव पौडेललाई र राप्रपाले एमालेका महिला उम्मेदवार रुक्मणी कोइरालालाई सघाउने सहमति भएको छ ।

कोशीमा कुल मतभार १० हजार १३५ छ । कांग्रेस, माओवादी, एस र जसपासहितको सत्ता गठबन्धनको मत ५ हजार ४७४ छ भने एमाले र राप्रपाको मत ४ हजार ६०४ छ । स्वतन्त्रको मत ५७ छ । एमालेले अन्य प्रदेशमा भने घोषित रूपमा गठबन्धन गरेको छैन । सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले आफ्नो दललाई गठबन्धनले उपेक्षा गरेको भन्दै मधेश प्रदेशमा उम्मेदवारी दिएको छ । वाग्मतीमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ ।

निर्वाचन आयोगका अनुसार कोशीमा १० हजार १३५, मधेशमा १० हजार ७४४, वाग्मतीमा १० हजार ३३३, गण्डकीमा ६ हजार ४१०, लुम्बिनीमा ८ हजार ७५३, कर्णालीमा ५ हजार ८४ र सुदूरपश्चिममा ६ हजार १०० गरी जम्मा ५७ हजार ५५९ मतभार छ ।

Related News

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
  • २०८० माघ ११

कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...

TOP