काठमाडौं – सत्तासीन कांग्रेसमा पनि एक सय किलो सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने धारणा जबर्जस्ती उठेको छ।
कांग्रेस नेता डा.शेखर कोइरालाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राजस्व अनुसन्धान विभागले मात्रै सुन तस्करी प्रकरणलाई टुंगोमा पुर्याउन नसक्ने भन्दै उच्चस्तरीय समितिको माग गरेका हुन्।
उच्चस्तरीय समितिको माग गर्दै विपक्षी एमालेले लगातार संसद् अवरोध गरिरहेको छ। तर, सत्तापक्षबाट उच्चस्तरीय समिति आवश्यक नभएको धारणा राख्ने गरिन्थ्यो। संसदीय दलको आइतबारको बैठकमा कांग्रेस नेता डा. कोइरालाले उच्चस्तरीय समिति बनाएर सुन तस्करीको गहिरो गरी छानबिन गर्नुपर्ने बताए। ‘राजस्व अनुसन्धानका महानिर्देशक एक साताअघि प्रधानमन्त्रीजीको सचिवालयमा हुनुहुन्थ्यो,’ कोइरालाले भने, ‘महानिर्देशक भएपछि सुन त बरामद भयो। तर, त्यसपछिका घटनाहरू पनि हेरौं न। किन सीआईबीलाई छानबिन गर्न दिनुपर्यो ? राजस्व अनुसन्धानले नै छानबिन गर्न सक्षम छ भनेर महानिर्देशक भन्नुहुन्थ्यो। त्यसैले पनि सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छ।’
दलको बैठकमा सांसदहरूले सरकारले कांग्रेसमाथि प्रतिशोध राख्न थालेको धारणा राखेका थिए। नेता अर्जुननरसिंह केसीले सुन तस्करीको छानबिनलाई मोड्नका लागि सरकारले सांसद सुनील शर्मालाई पक्राउ गरेको आरोप लगाए। ‘शर्माजीको विषय आज निस्किएको विषय होइन,’ केसीले भने, ‘पहिलेदेखि रहेको विषय यत्तिका वर्ष थाती राखेर अहिले निकाल्ने भनेको प्रतिशोध नै हो। उहाँलाई पक्राउ गर्नु भनेको सुन तस्करीका विषयमा सरकारलाई बारम्बार खबरदारी गरेकै कारण हो।’
सुन तस्करीका बारेमा सरकारले उच्चस्तरी छानबिन समिति बनाएर गहिराइमा पुग्नुपर्ने केसीले बताए। ‘सर्वोच्चका पूर्वन्यायाधीशहरूलाई राखेर उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्छ,’ केसीले बैठकमा भनेका थिए।
अर्का सांसद प्रदीप पौडेलले सरकारले नागरिकमा आशा जगाउने गरी काम गर्न नसकेको आरोप लगाए। ‘संसद्को यतिका समयसम्म हामीले जम्मा एउटा कानुन पास गरेका छौं। १४ वटा विधेयक अलपत्र परेका छन्,’ पौडेलले भने, ‘हामी सत्तारुढ दलका सांसदहरू भएकै कारण सरकारले कति बेला के ल्याउँछ र ताली पड्काउने भनेर पर्खिरहनु पर्ने अवस्था छ। सरकारलाई औंला ठड्याउन सकिएको छैन।’
सुन काण्डका विषयमा उनले अगाडि भने, ‘सियो आएको होइन नि एक क्विन्टल सुन पो आएको हो। अध्यागमन कर्मचारी प्रशासन र प्रहरीको मिलेमतो नभए एयरपोर्टमा सुन छिर्न सक्ने कुरै हुँदैन। राजनीतिक नेतृत्व कति दोषी हो ?’ सांसद रामहरि खतिवडाले अहिलेको सुन प्रकरणमात्रै नभई पहिलेको ३३ केजी सुन प्रकरणसहित यति, ओम्नीदेखि गिरिबन्धुसम्मको छानबिन हुनुपर्ने बताए। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...