२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

प्रहरी कार्यालयमै कांग्रेस जिल्ला सचिवमाथि कुटपिट

बारा – नेपाली कांग्रेस बाराले जिल्ला कार्यसमितिका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ।

सवारी दुर्घटनाको विषयमा छलफल गर्न पुगेका यादव प्रहरी कार्यालयभित्रै कुटिएपछि आन्दोलित बनेको कांग्रेसले कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न माग गरेको हो ।

कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारीले बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापन बुझाउँदै प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। कांग्रेसको आन्दोलनमा एकिकृत समाजवादीले समेत साथ दिएको छ ।

प्रहरीले कांग्रेस सचिव यादवमाथि कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथी समेत दुर्व्यवहार भएको भन्दै एकीकृत समाजवादीले कांग्रेसको मागमा समर्थन जनाएको हो। कांग्रेस र एकीकृत समाजवादीले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहले कांग्रेस सचिव यादवमाथी कुटपिट गरी प्रहरी कार्यालयमै थुनामा राखेर मानसिक यातना दिएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमार्फत कुटपिट घटनामा संलग्न प्रहरी अधिकारीलाई कारबाही नभए संयुक्तरुपमा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ। प्रजिअ सापकोटालाई कांग्रेस जिल्ला उपसभापति मनोट भट्ट, जिल्ला सचिव राजेश रौनियार, जिल्ला सहसचिव प्रमोद यादव, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी, जिल्ला सचिव बिक्रम ठाकुरलगायतले ज्ञापनपत्र बुझाएका हुन् ।

कलैया–बघवन सडकमा तीन साताअघि भएको पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनाको विषयमा छलफल गर्न कांग्रेस सचिव यादव मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । सो क्रममा प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्च दलाल हुन्’ भनेपछि आफूले उक्त शब्दको विरोध गरेका र विरोध गर्ने क्रममा आफूमाथी कुटपिट भएको यादवले बताएका छन् ।

कुटपिटबाट यादवको अनुहारमा चोट लागेको छ । उनको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो पटक बारा प्रहरीको कारण बिभिन्न स्थानीय तह र जनप्रतिनिधिबीच विवाद तथा प्रहरीको दमन बढ्दै गएको आरोप लाग्न थालेको छ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८० श्रावण ४

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP