काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मा नदिने अन्तिम निर्णयमा नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्। सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेकोे स्थायी कमिटी बैठकमा पदाधिकारीले गृह मन्त्रालय आफैंले राख्न प्रचण्डलाई दबाब दिएपछि रास्वपालाई नदिने निर्णयमा प्रधानमन्त्री पुगेको बताइएको छ।
‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन। प्रधानमन्त्रीसँगै रहन्छ। रास्वपालाई हाललाई गृह मन्त्रालय नदिने लगभग निश्चित भएको छ,’ पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले भने। अमेरिकी नागरिकता नत्याग्दै नेपाली नागरिकता लिएको दाबीसहित सर्वोच्चले रविको सांसद पद खारेज गरेको थियो। त्यसपछि उनी उपप्रधान एवं गृहमन्त्रीबाट पदमुक्त हुनुपरेको थियो।
गत आइतबार पुनः नेपाली नागरिकता लिएपछि रविले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान गर्दै हालसम्म प्रधानमन्त्री प्रचण्डलाई दुई पटक भेटिसकेका छन्। गृह मन्त्रालय नदिई सत्ता गठबन्धनबाट समेत बाहिरिने उनले प्रचण्डलाई बताएका छन्।
काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...