२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

प्रतिनिधि सभाका लागि डोटी कांग्रेसबाट १६ जना आकांक्षी : पार्टीमा कसको योगदान के ?

प्रतिनिधि सभाका लागि डोटी कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न आकांक्षा राख्ने नेताहरु । बीचमा प्रदेश सभापति वीरबहादुर बलायर ।


दिपायल – मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि डोटी कांग्रेसबाट १६ जनाले आकांक्षा व्यक्त गरेका छन् । नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेपछि आकांक्षी उम्मेदवारहरुले बिहीबार आवेदन दिएका छन् ।

प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीबाट प्रत्यक्ष तर्फ ९ जना र समानुपातिकतर्फ ७ जना गरी जम्मा १६ जना आकांक्षी नेताहरुले नाम दर्ता गराएका छन् ।

नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुरसिंहका अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीर बहादुर बलायर, पूर्व पार्टी सभापति एवं पूर्वमन्त्री भक्त बहादुर बलायर, सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्का, पूर्व सभापति एवं महाधिवेशन प्रतिनिधि यज्ञराज पाठक, पूर्व केन्द्रीय सदस्य आनन्द विष्ट, महासमिति सदस्य जितेन्द्र विक्रम शाही, नेवि संघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्प कुमार शाही र तरुण दलका पूर्व केन्द्रीय सदस्य हर्क बहादुर देउवाले नाम दर्ता गराएका छन् ।

त्यस्तै समानुपातिकतर्फ संविधानसभा सदस्य कल्पना सोप, नेताहरु प्रसिस महरा, मुक्तिनाथ शर्मा, पदम सिंह मल्ल, पूर्ण सिंह कठायत, दिल बहादुर शाही र योगेन्द्र माझी (गोपाल) ले नाम दर्ता गराएको सभापति सिंहले जानकारी दिए ।

पार्टीमा कसको योगदान के ?

वीरबहादुर बलायर

वीरबहादुर बलायर नेपाली राजनीतिमा चर्चित नाम हो । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी हाल सुदूरपश्चिम प्रदेशको प्रथम सभापति हुन् । ४ वर्ष बन्दी जीवन बिताएका बलायर ०४६ सालको जनआन्दोलनताका निकै चर्चित विद्यार्थी नेता थिए । उनी तत्कालिन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका लोकप्रिय नेविसंघ लिडर हुन् । उनले विगतमा ठूलठूला आन्दोलनको नेतृत्व सम्हालेका छन् ।

पञ्चायतकालमा ‘पञ्चायत’ भन्ने विषयको जाँचमा सोधिएका प्रश्नको पञ्चायत विरोधी उत्तर दिँदा उनलाई शिक्षकले स्पष्टीकरण सोधेका थिए। डोटीको सीताराम उच्च माध्यमिक विद्यालयबाट २०३३ सालबाट बलायरको राजनीति यात्रा सुरु भएको हो। सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा उनी स्ववियु सदस्य थिए।

महेन्द्रनगरबाट आइएससी गरेर उच्च शिक्षा हासिल गर्न २०३६ सालतिर काठमाडौं आएपछि बलायरले राजनीतिक उचाइ लिन थाले । २०४६ सालको जनआन्दोलन पछि उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेविसंघ अध्यक्ष भए । त्रिवि नेविसंघ अध्यक्ष हुँदा २०४९ सालमा त्रिविमा स्ववियु सभापति पदमा लडे ।

विद्यार्थी राजनीतिपछि उनले गृहजिल्ला डोटीमा कांग्रेसको राजनीति अगाडि बढाए । उनी कांग्रेस डोटीका पूर्व सभापतिसमेत हुन् । २०६४ सालमा संसदीय राजनीतिको यात्रा थालेका बलायरले चुनाव जित्न सकेनन् । २०७० को संविधानसभा निर्वाचनमा भने उनी डोटीको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भए । त्यसपछि उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्रीसमेत बने ।

कांग्रेसको १३औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका बलायरले पार्टीको निर्माण व्यवसायी समन्वय विभागका प्रमुखसमेत रहेर काम गरेका छन् । हाल उनी कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिको जिम्मेवारीमा छन् ।

भक्त बहादुर बलायर

बलायर राजनीतिका साथै कृषि, वन वातावरण स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि सक्रिय छन् । बैतडीस्थित पाटन क्याम्पसका पूर्व प्रमुखसमेत रहेका बलायर डोटी क्षेत्र नम्बर १ बाट तीन पटक सांसद भएका थिए । उनले २०४८, २०५१ र २०५६ सालमा डोटी–१ बाट चुनाव जितेका थिए ।

वातावरण राज्यमन्त्रीसमेत भएका बलायर कांग्रेस डोटीका पूर्व सभापति तथा वर्तमान महाधिवेशन प्रतिनिधि हुन् । मन्त्री हुँदा बलायरले वातावरण प्रदूषण बढेको भन्दै काठमाण्डौंमा सञ्चालन हुँने धुवाँ फाल्ने ट्याम्पु विस्थापित गरेका थिए । सुदूरपश्चिम तथा कर्णालीमा चलनचल्तिमा रहेको धन खाने प्रथा हटाउन उनको योगदान रहेको छ । सुदूरपश्चिमको जनजीविकासँग जोडिएका बेलु र राइमती उनीद्वारा लेखिएका चर्चित पुस्तक हुन् ।

बलायरले गैरसरकारी संस्था मार्फत वन, वातावरण, जटिबुटी, कृषि, शिक्षा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

यज्ञराज पाठक

पाठक नेपाली कांग्रेसका पुराना नेता हुन् । उनी पार्टीमा त्यागी नेताको रुपमा चिनिन्छन् । सक्रिय राजनीतिमा आबद्ध पाठक ६० वर्ष उमेर कट्दा पनि अविवाहित छन् । सादगी नेताका रूपमा छवि बनाएका पूर्वसांसद पाठक कांग्रेसको १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा डोटीबाट निर्वाचित भएका थिए । डोटी जिल्ला सभापति भएर काम गरिसकेका उनी निःस्वार्थ राजनीति गर्ने संस्कारी नेताका रूपमा पनि परिचित छन् ।

पार्टी सभापति देउवाका आलोचक गर्ने पाठक पार्टीभित्र पछाडि पारिएका नेता हुन् । सोही कारण उनले कांग्रेसमा उचित स्थान पाउन नसकेको पार्टीभित्र चर्चा हुने गरेको छ ।

भरतबहादुर खड्का

खड्का पनि कांग्रेस डोटीका पुराना नेता हुन् । उनले पञ्चायतकालमा एक पटक जिविस सभापति, त्यसपछि जिविस उपसभापति र फेरि जिविस सभापति भएर काम गरेका छन् । उनी समानुपातिकतर्फ संविधानसभाका पूर्व सदस्यसमेत हुन् ।

२०७४ सालमा खड्का प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

आनन्द विष्ट

विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका विष्ट कांग्रेसका युवा नेता हुन् । उनी प्रवासबाट पार्टीको राजनीतिमा सक्रिय नेता हुन् । कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका विष्ट नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्षसमेत हुन् ।

विद्यार्थी राजनीतिबाटै कांग्रेसमा आवद्ध रहेका विष्टले २०६२÷०६३ सालको जनआन्दोलनमा अमेरिकामा रहेर संयुक्त राष्ट्रसंघ, अमेरिकी राष्ट्रपति कार्यालय लगायतमा पुगेर नेपालमा जारी जनआन्दोलनलाई सफल पार्न अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराएका थिए । ११औं महाधिवेशनदेखि विष्ट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका छन् । उनले कांग्रेसमा २०६२÷०६३ सालदेखि अन्तर्राष्ट्रिय मामिला हेर्ने जिम्मेवारी पाएका थिए । विष्ट राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय व्यक्ति हुन् ।

पुष्पकुमार शाही

शाही विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा सक्रिय छन् । २०५१ सालमा विन्ध्यवासिनी हाइस्कुल अछामको नेविसंघ इकाइ सभापति र २०५९ मा कैलाली क्याम्पसको इकाइ सभापति भएका थिए । उनले २०६० सालमा नेपाल विद्यार्थी संघ कैलालीको निर्वाचित अध्यक्षका रुपमा काम गरिसकेका छन् ।

शाही २०६१ सालमा त्रिभुवन विश्वविद्यालयमा नेविसंघ अध्यक्ष भएका थिए । २०६४ सालमा केन्द्रीय सदस्य भएका शाही २०७३ सालमा केन्द्रीय उपाध्यक्ष भए । उनी डोटीबाट १३औं र १४औं महाधिवेशनमा कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । उनले पटक–पटक गरेर ६ महिना कारावास जीवन बिताएका छन् ।

जितेन्द्र विक्रम शाही

शाही पनि विद्यार्थी राजनीतिबाट उदायका नेता हुन् । एसएलसी पछि मास्टर्स सम्म विद्यार्थी राजनीतिमा सक्रिय उनी प्रवासबाट सामाजिक सेवा र राजनीतिमा सक्रिय छन् ।

सिटिईभिटिमा कर्मचारी संघको अध्यक्षको जिम्मेबारी पुरा गरिसकेका शाही जनसम्पर्क समिति नर्वेको तीन कार्यकाल अध्यक्ष भए । उनी १४औं महाधिवेशनबाट महासमिति सदस्यमा चयन भएका थिए । नर्वेबाट शाही पटक –पटक पार्टीको महाधिवेशन प्रतिनिधि समेत भएका छन् ।

उनले नर्वेमा बसेर नेपाल तथा जिल्ला स्थित विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् । नर्वेमा राजदुतावास, नर्वे सरकारसँग पनि नजिक रहेका उनी प्रवासमा नेपालीहरुलाई सहयोग गर्दै आएका छन् ।

हर्क बहादुर देउवा

देउवा पनि विद्यार्थी राजनीति, तरुण दल हुँदै पार्टीमा सक्रिय नेता हुन् । बि.स. २०४७ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेका देउवा डोटी जिल्लाको घण्टेश्वर माविको इकाई सभापति । २०४८ सालमा महाधिवेशन प्रतिनिधी । २०५४ देखि ५७ सम्म बानेश्वरमा स्ववियू सभापतिमा चुनाव जितेका थिए । उनको त्यो कार्यकाल २०५७ सालसम्म रह्यो ।

२०५९ सालमा नेविसंघ केन्द्रीय सदस्यमा चुनिएका उनी २०६२ सालमा सम्पन्न नेविसंघको महाधिवेशनमा केन्द्रीय उपाध्यक्षमा प्रत्यासी थिए । यस्तै २०७३ सालमा सम्पन्न नेपाल तरुण दलको महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदका प्रत्यासी रहेका थिए । देउवा हाल नेपाली कांग्रेस संघीय मामिला तथा प्रदेश समन्वय विभागको केन्द्रीय सदस्य छन् । कांग्रेसको १४औं महाधिवेशनबाट देउवा महाधिविशन प्रतिनिधिमा विजयी भएका थिए ।

टेकराज ओझा

विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका ओझा स्व. नेता सिद्धराज ओझाका सहोदर भाइ हुन् । नेपाल विद्यार्थी संघका संस्थापक स्व. नेता सिद्धराज पटकपटक मन्त्री तथा दुई पटक नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत भएका थिए । उनी डोटीबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमाञ्चलका असल नेतामा गनिन्थे ।

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको पालामा शेरबहादुर देउवासँगै स्व. नेता ओझा मन्त्री बनेका थिए । उनले विगतमा कानुन तथा न्याय, सामान्य प्रशासन, वन तथा भू–संरक्षण र भूमिसुधार तथा व्यवस्थामन्त्रीका रूपमा पनि जिम्मेवारी बहन गरिसकेका थिए ।

प्रतिनिधि सभाको टिकटका लागि नाम दर्ता गरेका टेकराज ओझाले स्व. नेता सिद्धराज मन्त्री हुँदा स्वकीय सचिवको जिम्मेबारी निर्बाह गरेका थिए । पार्टीमा पटक–पटक महाधिवेशन प्रतिनिधिका लागि चुनाव लडेका उनि १४औं महाधिवेशनमा जिल्लाको पार्टी सभापतिका लागि चुनाव लडेर पराजित भएका थिए ।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०७९ भाद्र १६

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP