२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday
वडा सदस्य समेत जितेन अन्य दलले

पूर्वीचौकी गाउँपालिकामा कांग्रेसको ‘क्लीन स्वीप’

दिपायल- डोटीको पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेसले एकलौटी विजय हासिल गरेको छ ।

सात वटा वडा रहेको पूर्वीचौकीमा सातवटै वडामा वडाध्यक्ष र सबै वडा सदस्यसहित अध्यक्ष, उपाध्यक्षमा दोब्बर मतान्तरले कांग्रेसका उम्मेदवारहरु विजयी भएको निर्वाचन कार्यालयले डोटीले जनाएको छ ।

गाउँपालिकाको अध्यक्षमा राम प्रसाद उपाध्याय , उपाध्यक्षमा पशुपती खड्का विजयी हुनु भएको हो । उपाध्याय ५ हजार १ सय ३३ मतसहित विजयी हुनुभएको छ । निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्ण कुमार खड्काले २ हजार २ सय ५ मत प्राप्त गर्नु भयो । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उमेदवार देव बहादुर खड्का २ सय ३२ मतमा सिमित रहनु भयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार दिपक बहादुर धामीले २७ मत मात्रै प्राप्त गर्नु भयो ।

उपाध्यक्षमा पनि कांग्रेसकै पशुपती खड्का ४ हजार ७ सय २१ मतसहित विजयी हुनुभएको छ । निकट प्रतिद्वन्द्वी एमालेका सारदा कुमारी साउँदले २ हजार ४ सय ४४ मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का उमेदवार हरिश कुवँरले २ सय ५६ मत मात्रै प्राप्त गर्नु भयो ।

पूर्वीचौकी गाउँपालिकामा जम्मा ८ हजार २ सय ५६ मत खसेको थियो । गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन भए पनि माओबादी र समाजवादी २ सय ५६ मत भन्दा माथि उक्लिन सकेन ।

वडाध्यक्ष र वडा सदस्यहरु सबै कांग्रेसका उमेदवार विजयी हुनुभएको छ । वडा नंं. १ मा अङ्क बहादुर खड्का, २ मा योगेन्द्र ठकुल्ला, ३ मा खडक धामी विजयी हुनुभएको छ । त्यस्तै, वडा नं. ४ मा बल बहादुर खड्का, ५ मा खडक साउँद, ६ मा पुष्प जोशी र ७ मा प्रेम बहादुर खड्का विजयी हुनुभएको छ । सबै उमेदवारहरु भारी मतान्तरले विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको ।

२०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उमेदवार विजयी हुनुभएको थियो ।

नतिजा पछि अध्यक्ष उपाध्यायले पूर्वीचौकी गाउँपालिकालाई नमुना गाउँकोरुपमा बिकास गर्न सबै लाग्नु जरुरी भएको प्रतिक्रिया दिए।

योसँगै डोटीका नौ स्थानीय तहमध्ये पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । जसमा तीन पालिकामा नेपाली कांगैसले जित हात पारेको छ भने एउटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले जित निकालेको छ । 

डोटीको बडीकेदार गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ भने जोरायल गाउँपालिकामा नेकपा एमाले र बोगटान फुड्सिल गाउँपालिकामा नेकपा माओवादीले जितेको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ जेष्ठ २

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP