२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

आजबाट ७ सय ५३ वटै पालिकामा कांग्रेसको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आइतबारबाट देशभर एकै साथ एक महिने चुनावी अभियान सुरु गर्दै छ । कांग्रेसले अभियानलाई प्रभावकारी बनाउन भन्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत खटाइसकेको छ । अभियानलाई कांग्रेसले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ नारा दिएको छ ।

कांग्रेसले गत बुधबार ७७ जिल्लाका ७ सय ५३ वटै स्थानीय तहमा २९ फागुनदेखि २९ चैतसम्म गरी एक महिना स्थानीय तह निर्वाचन लक्षित विशेष अभियानको घोषणा गरेको थियो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले देशभर एकै साथ आइतबार १ बजे स्थानीय तह निर्वाचन विशेष अभियानको उद्घाटन हुने जानकारी दिए । अभियानको प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

संसद्बाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पनि जनताबीच प्रचार गरिएको भ्रमलाई निर्वाचन अभियानमार्फत चिर्ने कांग्रेसको तयारी छ ।
कांग्रेसले अभियानमार्फत ७५३ पालिकाका ६ हजार ७ सय ४३ वडाका हरेक घरमा अभियानमा खटिएका नेता कार्यकर्ता पुग्नेसमेत भनेको छ । निर्वाचन अभियानका लागि कांग्रेसले देशभर वडा समिति अन्तर्गत रहने गरी टोलसमितिसमेत धमाधम गठन गरिरहेको छ । ती समितिले वडा भित्र पर्ने टोल टोलमा आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउने गरी अभियान चलाउने कांग्रेस सचिव प्रेम केसीले जानकारी दिए ।

अभियानका क्रममा हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व पुग्ने र जनताको आकांक्षा बुझ्ने नीति कांग्रेसले लिएको छ । यस्तै, विगतका कम्युनिस्ट सरकारले गरेका गलत कामको भण्डाफोर गर्नेसमेत अभियानमा कांग्रेसको लक्ष्य छ ।

यस्तै कांग्रेसले अभियानमार्फत स्थानीय तहको पहिलो कार्यकालको समीक्षा गर्नेछ भने सो क्रममा स्थानीय, प्रदेश र केन्द्र सरकारवीच देखिएका समस्या र त्यसको निराकरण’दयगत सुझाव संकलनसमेत गर्ने छ ।

निर्वाचन अभियानका लागि ७७ वटै जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । उनीहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहका नेतृत्वसँगको सहकार्यमा स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै अभियान अघि बढाउने जिम्मेवारी दिएको छ ।

कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयार पार्ने जिम्मा भने स्थानीय समितिलाई नै दिँदै छ । घोषणापत्र तयार गर्दा स्थानीय तहको आवश्यकतालाई ध्यानमा राखेर बनाउनुपर्ने कांग्रेसको निर्देशन छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७८ फाल्गुन २९

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP