२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

सरकार गठनका लागि कसरत, देउवाले बोलाए संयुक्त बैठक

काठमाडौं – नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आह्वान गरेपछि गठबन्धन दलहरुले आज संयुक्त छलफल गर्दै छन्। 

संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि भएको आह्वानपछि बहुमत पुर्‍याउन विषयमा आज गठबन्धन दलहरुले छलफल गर्न लागेका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे छलफल गर्न दिउँसो २ बजे बुढानिलकण्ठस्थित आफ्नो निवासमा छलफलका लागि नेताहरूलाई बोलाएको नेता रमेश लेखकले जानकारी दिए।

देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएको उनले बताए।

‘राष्ट्रपतिले सरकार गठनका लागि आह्वान भएपछि आज छलफल गर्न लागिएको हो,’उनले भने,‘अब त्यसै अनुसार छलफल गरेर अघि बढ्ने हो।’
विपक्षी गठबन्धनलाई बहुमत पुग्न अहिलेको परिस्थितिमा १३६ जना सांसद आवश्यक पर्छ। तर, हिजो प्रधानमन्त्रीले विश्वासको मत लिने दिन भने विपक्षमा १२४ जना सांसदहरू मात्रै पुगेका छन्। 

उता प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा उनको पक्षमा ९३ मतमात्रै आएको थियो। विश्वासको मत नपाएपछि स्वतः प्रधानमन्त्री ओली पदमुक्त भएका छन्।

‘७६(२) बमोजिम सरकार गठनका लागि समय तीन दिन मात्र दिइएको छ,’नेता लेखकले भने,‘यो अवधिमा आवश्यक गृहकार्य गरेर बहुमत पुर्‍याउने प्रयास हुनेछ।’

जसपाभित्रको विवादले तत्कालै गठबन्धनलाई बहुमत पुर्‍याउन मुस्किल हुने देखिएको छ। योबीचमा माधव नेपाल पक्षका सांसदहरुले यदि राजीनामा दिएको खण्डमा मात्रै विपक्षी गठबन्धनलाई सरकार बनाउन केही सहज हुनेछ। तर, त्यो सम्भावना पनि अबको तीनदिन भित्र होला भन्ने संकेत देखिएको छैन।

नेकपा एमालेको माधव पक्षमा पनि राजीनामा दिने नदिने विषयमा विवाद देखिएकै कारण हिजो राजीनामाको निर्णयबाट पछि हटेर बैठकमा अनुपस्थित भएका हुन्। 

ओलीले विश्वासको मत गुमाएलगत्तै सोमबार नै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बेलुकी दलहरूलाई तीन दिनको समय दिएर धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेकी थिइन्। संविधानको उक्त धाराअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न सक्छन्।

Related News

सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
  • २०७८ बैशाख २८

दिपायल- नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई...

TOP