काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भन्नेहरु संविधान विरोधी भएको आरोप लगाएका छन्।
आइतबार राष्ट्रिय सभागृहमा भएको अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रिया कार्यकममा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटनको विरोध गर्नेहरु देशद्रोही भएको बताए।
देशमा स्थिरता हुन नदिएर अस्तव्यस्तता खडा गर्नेहरुका कारण संसद विघटन गर्नुपरेको ओलीको भनाइ छ।
‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्। ती कराउनेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन्,’ उनले भने।
संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्नेहरुले नयाँ जनादेशमा जाने निर्णयको विरोध गरेको ओलीले बताए। उनले भने, ‘संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्ने? सांसद भनेको जागिर हो? जागिर होइन। उनीहरुको तर्क पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्नेछ।’
देशमा स्थिरता ल्याउन खोज्दा आफूलाई तानाशाहीको आरोप लागेको भन्दै प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते हुने चुनावमा त्यस्ता देशद्रोहीलाई ठेगान लगाउन आग्रह गरे।
दिपायल –शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले किसान र कृषकलाई...