२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

कम्युनिष्ट नेतृत्वको सरकारले जन अधिकार माथि हमला ग-यो : क्षेत्रीय सभापति जोशी

सरिता कठायत, डोटी – नेपाली कांग्रेस डोटी प्रदेश सभा ‘ख’ का क्षेत्रीय सभापति तथा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले कम्युनिष्ट नेतृत्वको सरकारले जन अधिकार माथि हमला गरेको बताए । उनले नेपाली कांग्रेस बोगटान फुड्सिल गाउँपालिकाले संविधान विघटनका विरूद्ध गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

वर्तमान सरकारले मानव अधिकार, प्रेस स्वतन्त्रता, वक स्वतन्त्रता, सूचनाको हक लगायतका जनताका अधिकार, स्वास्थ्य सेवा, प्रवासबाट नागरिकको उद्दार जस्ता मौलिक अधिकार समेत हनन गरेको जोशीले बताए । जोशीले भने,’ सरकारले संविधानमा उल्लेखित प्रेस स्वतन्त्रता खोसेको छ । पत्रकारलाई सरकारका गलत कदम विरूद्ध लेख्न रोक लगाउने प्रयास गरेको छ । गलत कार्यको विरोधमा नागरिकले लेख्न बोल्न र विरोध गर्न पाउने अधिकारको हनन भएको छ । सरकारका गलत काण्डका विषयमा बोल्ने लेख्नेलाई थुन्ने बल प्रयोग गर्ने जस्ता कार्य गरेको छ ।’

गलत कार्यको बिरोध गर्ने, त्यसका विरुद्ध आवाज उठाउने र न्याय माग्ने जनता माथि गोली समेत प्रहार भएको बताउँदै जोशीले याे सरकार अधिनायक बादी सरकार भएको बताए । उनले भने,’पछिल्लो समय फैलिँदो कोरोना संक्रमणले जनस्वास्थ्य संकटमा परेका बेला जनताको नि:शुल्क उपचार गर्नु पर्नेमा उल्टै स्वास्थ्य सामग्री खरिदका नाममा करोडौं भ्रष्टाचार गरेको छ । प्रवासमा रहेका नागरिकलाई स्वदेश फर्किनबाट समेत बन्देज लगाएको छ। तसर्थ वर्तमान सरकार र कम्युनिष्टहरू जनमैत्री, राष्ट्रमैत्री छैनन् ।’

क्षेत्रीय सभापति जोशीले कम्युनिष्टद्वारा खोसिएको जन अधिकार, लुटिएको लोकतान्त्रिक व्यवस्था, बलात्कृत संविधान, संकटमा परेको मुलुक, संवैधानिक विधिको शासन व्यवस्था र राजनीतिक संस्कार कांग्रेसले पुन: स्थापित गर्नेमा विश्वस्त हुन आग्रह गरे ।

नेपाली कांग्रेस विगत र वर्तमान अवस्थामा जनता र राष्ट्रप्रति चिन्तित भएको दलित संघ डोटीका अध्यक्ष लाल बिकले बताए। कांग्रेसले अबका दिनमा आफूलाई अझै सुधार गर्दै, अझै सक्रिय बनाउँदै लैजाने र जनभावनाको कदर गर्दै आगाडी बढ्ने उनको भनाई छ ।

दलितका नाममा, पिछडिएका वर्गका नाममा, अपाङ्गता भएका व्यक्तिका नाममा, महिलाका नाममा, जेष्ठ नागरिकका नाममा आश्वासन र भ्रमको खेती गर्दै भ्रष्टाचारमा सक्रिय कम्युनिष्ट नामक कमरेडका पछाडि भाग्न उपयुक्त नभएको बिकले बताए ।

नेपाल तरुण दलका अध्यक्ष नारायण बलायरले कम्युनिष्टहरुको गलत प्रवृति, गलत चरित्र, अपराध,। असंवैधानिक कदम र भ्रष्टाचारका विरूद्ध जनताहरू एकजुट भएर लाग्न आह्वान गरे । जनता, राष्ट्र र राष्ट्रियतालाई एकबद्ध गरेर लैजाने र संकटको समाधान गर्न सक्ने सामर्थ्य कांग्रेस सँग मात्रै भएकाले अबको आवश्यकता र विकल्प कांग्रेस मात्रै भएको बलायरले दाबी गरे ।

नेपाली कांग्रेस बोगटान फुड्सिल गाउँपालिकाका सभापति शेर बहादुर बमको अध्यक्षतामा भएको विरोध कार्यक्रमममा नेता जीत बहादुर बमले स्वागत मन्तव्य राखेका थिए ।

नेता हेमराज बमले सञ्चालन गरेको उक्त कार्यक्रममा गायक सर्जक शेर बहादुर साउदले गीत मार्फत सरकारकाे असंवैधानिक कदमका विरुद्ध आवाज उठाएका थिए l

डोटी कांग्रेसले सरकारको असंवैधानिक कदम, संसद् विघटनका विरूद्ध जिल्लाका ९ वटै स्थानीय तहहरुमा विरोध कार्यक्रमको आयोजना गरेको छ । यसै क्रममा नेपाली कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७७ माघ ३

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP