२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday

सुदूरपश्चिमका नाका हुँदै भारतबाट २५ हजार बढी नेपाल भित्रिए

धनगढी – एक सातायता भारतका विभिन्न शहरबाट दिनहुँ ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन् । स्वदेश फर्कनका लागि बिहानैदेखि कैलालीको गौरीफण्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा नेपालीहरुको तछाडमछाड देखिन्छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार नाका भएर भारतबाट एक सातायता दैनिक दुई हजार भन्दा बढीको संख्यामा नेपाली ओइरिरहेका छन् । त्यस्तै कञ्चनपुरमा पनि फर्कनेको संख्या हाराहारीमा रहेको छ ।

मंगलबार दिउँसो १२ बजेसम्म गौरिफण्टा नाकामा दुई हजार भन्दा बढी नेपाली पुगिसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनले भने, ‘अझै आउने क्रम तीव्र छ, बेलुकासम्म ५ हजारको हाराहारीमा पुग्न सक्छन् ।’

कञ्चनपुरको गड्डाचौकी नाकामा मंगलबार दिउँसो १ बजेसम्म ३ हजारको हाराहारीमा नेपाली पुगिसकेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अभिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । औपचारिक रुपमा सोमबारबाट गड्डाचौकी नाकबाट पनि नेपालीलाई स्वदेश फर्कन दिइएको थियो ।

सोमबार गड्डाचौकी नाकाबाट २ हजार ६ सय ३४ जना नेपालीले नेपाल प्रबेश गरेको सहायक प्रजिअ उपाध्यायले बताए । यता गौरीफण्टा नाकाबाट आइतबार तीन हजार ९ सय ५० र सोमबार दुई हजार २ सय २७ जनाले नेपाल प्रवेश गरेका थिए ।

सोमबारसम्म भारतबाट सुदूरपश्चिमका विभिन्न नाका हुँदै २५ हजार १ सय ३८ जना नेपाल भित्रिएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । भारतका विभिन्न शहरबाट स्वदेश फर्किएका नेपालीहरुलाई स्वास्थ्य परीक्षण नै नगरी सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाउने गरिएपछि सुदूरपश्चिम प्रदेशमा (कोभिड–१९) को जोखिम ह्वात्तै बढेको छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ जेष्ठ १३

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP