रोयल आचार्य- ‘ए कोरोना त केही होइन, त्यही रुघाखोकी जस्तै त हो नि ! लागिहाल्यो भने बेसारपानी खाने, ठीक भइहाल्छ, कोरोनाबारे अनावश्यक हल्ला फैलाइँदैछ, यो सबै नेताहरुको खेल हो । कमिशन खाने बाटो बनाएका हुन् नेताहरुले !’
पछिल्लो समय चिया पसलदेखि सडक र गल्ली–गल्लीमा यस्ता भनाइहरु सुनिन्छन् । म आफैँले रिपोर्टिङका क्रमका सुनेका शब्दहरु हुन् यी ।
कुरो करिब एक महिनाअघिको हो । न्यूरोडमा दसैंको भीडभाड शुरु हुँदै थियो । न्यूरोडदेखि इन्द्रचोकसम्मै सडक किनारा रंगीबिरंगी कपडाहरुले ढपक्कै ढाकेका थिए । अझ विशाल बजारबाट इन्द्रचोक हुँदै भेडासिङतर्फ जाने बाटोमा त बटुवाहरुलाई सहजै हिँड्न पनि गाह्रो थियो । बटुवा हिँड्ने फुटपाथमा फिँजारिएका पसलले बाटो छेकेका थिए । पसलमा सामान हेर्न उभिएका ग्राहकहरुले फुटपाथ पूरै बन्दै गरिदिन्थे । कोरोना संक्रमण फैलन नदिन सरकारले कम्तिमा २ मिटर दूरी कायम गरौं भनेर प्रचार गरिरहेकै छ । तर, सडकमा कसैलाई मतलव थिएन ।
‘के कोरोना केही होइन त ?’ हातमा बोकेको बुम एक महिलातर्फ तेस्र्याएँ । सहकर्मी फोटो पत्रकार आर्यन धिमालजीले क्यामेरा सोझ्याउनुभयो । ती महिलाले कोरोनाको परिभाषा दिइन् ‘यो सबै वाहियात हो, कोरोना सोरोना केही पनि होइन ।’
ती महिला हामीसँग जंगिइन् । उनले आफूलाई लागेका अनेकन शब्दहरु प्रहार गरिन् । उनले हाम्रा लागि खर्चिएका धेरै शब्दहरु सरकारविरोधी थिए । उनले कोरोनालाई सरकारको गरीखाने नाटकसम्म भन्न भ्याइन् ।
जनताका गुनासा सुन्ने क्रम जारी नै थियो । त्यसदिन भेटिएका अधिकांशले कोरोनालाई हलुका रुपमै लिए । यसैक्रममा साझा बसमा यात्रा गरिरहेकी एकजना महिलाले त कसैको हिम्मत भए आफूलाई कोरोना सारिदिन च्यालेञ्ज नै गरिन् ।
११ चैतदेखि देशमा लकडाउन भयो । ११ चैत अघिदेखि नै शुरु भएको थियो कोरोनाबारे रिपोर्टिङ गर्ने काम । चीनको वुहानबाट विद्यार्थीहरु ल्याएर राख्नका लागि बनाइएको खरिपाटी क्वारेन्टाइनमा निकै डराउँदै डराउँदै धेरैपटक भक्तपुरे धुलो खाँदै रिपोर्टिङ गरियो । ११ चैत पछि पनि फिल्डमा कोरोनासँग सम्बन्धित रिपोर्टिङहरु प्रशस्तै भए ।
भर्खरै तयार गरिएको पाटनको कोभिड अस्पताल होस् या लकडाउनमा थलिएको किसानको गोठ । रिपोर्टिङका दौरान खरिपाटी, अस्पतालहरु, किसानका गोठ र खेतबारीदेखि ६ दिनसम्म पैदल हिँडेर काठमाडौं छाड्ने आम नागरिकसम्मका रिपोर्टिङ गर्दै जाँदा धेरै फरकहरु देखिए । जति खरिपाटीमा विद्यार्थी राख्दा त्रास थियो, अहिले त्यसको १० प्रतिशत त्रास पनि छैन । त्यतिबेला मान्छे त डराउँथे नै, निकै सतर्क पनि थिए ।
तर, अवस्था अहिले फरक छ । धेरै मान्छेलाई कोरोना सामान्य लागेको छ । कोरोनालाई हलुका रुपमा लिन थालिइसकिएको छ, जति हलुका होइन भन्ने मेरो आफ्नै अनुभवले देखाएको छ ।
जब आफैंलाई कोरोना लाग्यो
कोरोनाबारे सचेतनामूलक रिपोर्टिङका क्रममा धेरै ठाउँमा दौडिएँ । तर, त्यसबेला आफू भने निकै सावधानीका साथ खटें । तर, अरुलाई सावधान हुनुपर्छ भन्दाभन्दै कोरोनाले आफंैलाई समात्यो ।
नेपाल पत्रकार महासंघले गरेको पीसीआर परीक्षणदेखि गत २८ गते काठमाडौं महानगरपालिका वडा नम्बर १० को कन्ट्रयाक्ट ट्रेसिङमा परेर गरिएको परीक्षणसम्म आइपुग्दा चौथो पटक परीक्षणका लागि स्वाब दिएको थियो । नजिकका साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि गरिएका यी परीक्षणहरु थिए ।
तीन पटकसम्म पीसीआर जाँच गर्दा लगातार नेगेटिभ रिपोर्ट आयो । तर, चौथोपटक २८ असोजमा परीक्षण गर्दा भने पोजिटिभ आयो । अब कस्तो होला ? अब के गर्ने होला ? यी कुराहरु सोच्नुभन्दा पहिला नै म थलिएँ ।
कोरोना केही होइन भनेर जनताको आवाज भिडियोसहित जनतासम्मै पु¥याएको अनुभव बोकेको मान्छेलाई जतिबेला निकै गाह्रो भयो, तब सोचेँ ‘सोचेझंै कोरोना रैन’छ ।’
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...