२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday
ठग्नकै लागि परीक्षा

लोक सेवाको नक्कली परीक्षा सञ्चालन गर्ने नक्कली प्रहरी सहित ६ जना पक्राउ

वीरगञ्ज- असोज १४ गते वीरगञ्ज–१६ स्थित देव पार्टी प्यालेसमा परीक्षा चल्दै थियो । लोक सेवा आयोगको परीक्षा भनेर प्रवेश पत्र, प्रश्न पत्र, उत्तर पुस्तिका बाँडिएको थियो । लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा भनी परीक्षा चलाइएको रहेछ । मध्यान्ह १२ बजेतिर प्रहरी पुग्दा बारा, पर्सा र सर्लाही समेतका २१ जना परीक्षार्थी परीक्षा दिइरहेका थिए ।

लोक सेवा आयोगले कुनै परीक्षा गरिरहेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्सासँग थिएन । जिल्ला प्रहरी कार्यालय तथा प्रहरी कार्यालय विर्ताबाट प्रहरीको टोली पुगेर सोधपुछ ग¥योे । त्यसपछि भयो षडयन्त्रको पर्दाफास ।

परीक्षार्थीहरुसँग नेपाल प्रहरीको सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदारमा समेत जागिर लगाइदिन्छु भनिएको रहेछ । परीक्षा सञ्चालनमा सहयोग गर्ने प्रयोजनका लागि विभिन्न व्यक्तिहरुलाई फोन गरी बोलाएको रहेछ । नक्कली परीक्षाका लागि ९ महिनादेखि तयारी भइरहेको रहेछ ।

जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार सम्पूर्ण हिसाबले सक्कली परीक्षा जस्तै तयरी गरिएको थियो । ‘परीक्षार्थीहरु मास्क लगाएर बसेका थिए, प्रश्न पत्र र उत्तर पुस्तिका बाँडिएको थियो, उनीहरुलाई कतिपयलाई प्रहरी सहायक त कतिपयलाई के को जागिर दिलाइदिने आश्वासन दिइएको रहेछ ।’ उनले भने ‘ परीक्षामा सहयोग गर्ने व्यक्तिहरु समेत थिए ।’

प्रहरीले नक्कली लोकसेवा परीक्षा सञ्चालनको योजनाकार बारा जितपुर सिमरा उपमहानगरपालिका– ७ चौधरी टोल बस्ने २९ वर्षीय अजयकुमार रायलाई प्रहरी निरीक्षकको पोशाकमै नियन्त्रणमा लिएको छ ।

उनको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र १ थान बरामद गरेको छ ।

उनले प्रहरी चौकी परवानीपुर, इलाका प्रहरी कार्यालय नगवा पर्सामा सादा पोशाकमा गई ‘म प्रहरी निरीक्षक हुँ’ भनी परिचय समेत दिँदै हिडेको पाइएको डीएसपी कुँवर बताउँछन् । रायले २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा पूर्पक्षका लागि १ सय १० दिन वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।

परीक्षा हलबाटै प्रहरीले जितपुर सिमरा–५ बस्ने ५७ वर्षीय हिरालाल महतो, २८ वर्षीय बसन्त चौधरी, वीरगञ्ज–१६ बस्ने २१ वर्षीय रविकुमार चौरसिया, पर्साको पकाहामैनपुर गाउँपालिका– ५ सबैठवा बस्ने ४७ वर्षीय शिव नारायण चौरसिया, वीरगञ्ज–रानीघाट बस्ने २५ वर्षीय रामजी चौरसियालाई समेत पक्राउ गरेको छ । उनीहरुको के–कुन भूमिका रहेको छ भन्ने कुरा बारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जागिरको प्रलोभनमा ठगी

रायले परीक्षार्थीहरुलाई जागिर दिने प्रलोभनमा पारेर ठगेको बुझिएको छ । त्यसका लागि उनले परीक्षार्थीहरुसँग रकम समेत लिएका छन् । १३ जनासँग ३ लाख ६१ हजार रुपैयाँ लिएको प्रहरीको प्रारम्भिक अुनसन्धानबाट खुलेको छ । १२ जनासँग १ हजारदेखि ३५ हजारसम्म रकम लिएको र १ जनासँग परीक्षामा उतिर्ण भएपछि १ लाख ५० हजार रुपैयाँ लिने तय भएको प्रहरीले जनाएको छ ।

अनलाइन खबरबाट


Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ आश्विन १५

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP