२०७८ असार ८, मंगलवार
June 22, 2021, Tuesday

हेलो सरकार क्वारेन्टाइनमा बस्नुपर्ने ११,७५५ जना खै ?

कोरोना भाइरस (कोभिड १९) को सन्त्रास विश्वभर बढ्दै गएपछि सरकारले १ चैतबाट संक्रमण फैलिएका देशबाट नेपाल आउनेहरु अनिवार्य क्वारेण्टाइनमा बस्नुपर्ने निर्णय गर्‍यो ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २९ फागुको बैठकको निर्णयमा भनिएको थियो, ‘मार्च १०, २०२० देखि नेपाल प्रवेश गर्ने विदेशीहरुले सेल्फ क्वारेन्टाइन र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था लागू गर्ने ।’

त्यसअघि कोरोनाबाट बढी प्रभावित र उच्च जोखिममा रहेका मुलुकहरुबाट वा ट्रान्जिट भएर आउने नेपाली नागरिकलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्ने निर्णय गरेको थियो ।

त्यसबेलादेखि नै धेरैले यसरी आउनेहरु सेल्फ तथा होम क्वारेन्टाइन बस्छन् त ? भन्ने प्रश्न उठाएका थिए । तर, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भनेका थिए, ‘हरेकको निगरानी गर्छौ, स्थानीय स्वास्थ्य चौकीबाट ज्वरो नाप्न पठाउँछौं । यदि कोही क्वारेन्टाइनमा नबसेको पाइए संक्रमण ऐन २०२० अन्तर्गत कारवाही गर्छौं ।’

अध्यागमन विभागको तथ्यांकअनुसार होम क्वारेन्टाइन अनिवार्य भएको दिन चैत १ गते स्वदेशी तथा विदेशी गरी २२ सय २१ जना नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका छन् ।

त्यसको भोलिपल्ट २४ सय ७०, पर्सिपल्ट २२ सय १३ जना नागरिक नेपाल आएका छन् । निर्णय गरेको चौथो दिन २६ सय २६ जना नागरिक नेपाल छिर्दा पाँचौ दिन अर्थात ५ गते २३ सय ३५ जना नागरिक नेपाल भित्रिए । बिहीबार पनि करिब २ हजारको संख्यामा नेपाल आएका छन् ।

तर, न उनीहरुसँग सेल्फ वा होम क्वारेन्टाइनमा बस्छु भनेर लिखत गराइएको छ, न उनीहरु कहाँ के गरिरहेका छन् भन्ने निगरानी नै भएको छ । अर्थात सरकारको निर्णय कागजमै सीमित छ ।

त्यसलाई पुष्टि गर्दै त्रिभुवन विमानस्थल अन्तर्गत स्वास्थ्य डेस्कका संयोजक गोपाल पाण्डे भन्छन्, ‘अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भन्ने फर्म आज मात्र हेल्थ डेस्कमा आइपुग्यो, त्यसैले उनीहरुलाई भराउन पाइएन । हामीले आजै मात्र ३ सय फर्म एयरलाइन्स कम्पनीहरुलाई पठाएका छौं । अब आउनेले क्वारेण्टाइनमा बस्नुपर्ने फर्म भर्छन् ।’

उनका अनुसार अहिलेसम्म नेपाल आउनेहरुलाई ‘ट्राभल हिस्ट्री’सम्बन्धी फर्म मात्र भर्न लगाउने गरिएको थियो, जसमा देशको नाम, स्वास्थ्य अवस्था र जाने ठाउँबारे जानकारी हुन्छ ।

त्यसकै आधारमा पो निगरानी भइरहेको छ कि ? अहिले कोरोनाको इपिसेन्टर मानिएको युरोपका जर्मनी, बेल्जियम लगायतका मुलुकहरु घुमेर कतारको दोहा ट्रान्जिट हुँदै २ चैतमा नेपाल आएका एक नागरिक भन्छन् ‘विमानस्थलमा ट्राभल हिस्ट्री फर्म भराइयो । तर, न हामीसँग होम क्वारेन्टाइनको फर्म गराइयो, न बस्नुपर्छ भनियो ।’

सरकारले त हरेक व्यक्ति होम क्वारेन्टाइनमा बसेको छ कि छैन हेर्न र ज्वरो नाप्न स्वास्थ्यकर्मी पठाउँछौं भनेको छ, तपाईंकहाँ आएन ? भन्ने प्रश्नमा काठमाडौं उपत्यकामै रहेका उनी भन्छन्, ‘म आफैं सचेत भएर अलग बस्ने प्रयास त गरिरहेको छु । तर, स्वास्थ्यकर्मी आउनु त परको कुरा, क्वारेन्टाइनमा बसे नबसेको पनि हेरेको छैन ।’

आफूसँगै भ्रमणमा गएका कतिपय साथीभाइ दैनिक काममा फर्किसकेको समेत उनले सुनाए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा पनि यस्ता नागरिकको निगरानी नभएको स्वीकार गर्छन् । चैत १ गतेबाट नेपाल प्रवेश गरेकाहरु होम क्वारेन्टाइनमा बसे नबसेको कसरी निगरानी भइरहेको छ ? उनीहरु के गरिरहेका छन् भन्ने अनलाइनखबरको प्रश्नमा मन्त्रालयमा प्रवक्ता देवकोटा भन्छन्, ‘अहिलेसम्म थाहा छैन ।’

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक वासुदेव पाण्डे भने नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न र केही समस्या भए अस्पताल जान भनेको बताउँछन् । उनले अघि भने, ‘अहिलेसम्म समस्या आएर अस्पताल गएको थाहा छैन ।’

विमानस्थलको हेल्थ डेस्क, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य मन्त्रालयको प्रष्ट थाहा हुन्छ, ‘सेल्फ वा होम क्वारेन्टाइनको निर्णय अलपत्र परेको छ ।’

र, सरकारको यो लापरवाही घातक हुनसक्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । किनकी यदि यसरी आएका मानिसमा कोरोनाको संक्रमण रहेछ भने महामारीका रुपमा फैलिन सक्छ ।

जतिबेला संक्रमण भित्रिएको पत्ता लाग्छ, त्यसबेलासम्म उसले फ्रन्टफेसमा भेटेका मानिसहरुको ट्रेसिङ गरेर परीक्षण, आइसोलेसन र क्वारेटाइनमा पठाउनसमेत मुश्किल हुन्छ ।

त्यसको पछिल्लो उदाहरण हो, भारतको महाराष्ट्र ।

भारतको सबैभन्दा प्रभावित प्रान्त महाराष्ट्रमा यो समाचार लेख्दासम्म ४७ जनामा संक्रमण देखिएको छ । त्यहाँ संक्रमण फैलिनुको मुख्य कारण एक टूर ग्रुपलाई लिइएको छ ।

एक निजी कम्पनीले ४० जनालाई फेब्रुअरीमा दुबई भ्रमणमा लगेको थियो, जसमा ३८ जना महाराष्ट्रका थिए । उनीहरु घुमफिर गरेर फ्रेब्रुअरी अन्तिम साता भारत फर्किए । त्यतिबेला क्वारेण्टाइनमा बस्नुपर्ने देशको सूचीमा यूएईलाई समावेश गरिएको थिएन ।

त्यसैले उनीहरु घर फर्किए, नियमित काममा गए । तर, भ्रमण टोलीकै एक सदस्यमा पुनेमा संक्रमण देखियो । सरकारले उनको भ्रमण दलमा कोको थिए, भारत आएपछि कहाँकहाँ गए, कोकोसँग प्रत्यक्ष सम्पर्क भयो भन्ने पत्ता लगायो, क्वारेन्टाइन र आइसोलेसनमा राख्यो तर यो निकै ढिलो भइसकेको थियो । त्यही कारण महाराष्ट्रमा कोरोनाको संक्रमण महामारीको रुपमा फैलिने संघारमा पुगेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएका देशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्न नसक्दा नेपालमा पनि दुर्घटना नहोला भन्न नसकिने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।



Related News

असार मसान्तकै बीच पूर्वीचौकी गाउँपालिकामा ताला
असार मसान्तकै बीच पूर्वीचौकी गाउँपालिकामा ताला
  • २०७६ चैत्र ६

डोटी – असार मसान्तकै बीच पूर्वीचौकी गाउँपालिकामा ताला लगाइएको छ । गाउँपालिकाका अध्यक्षले खेलकुद बजेट आफू निकटका व्यक्तिलाई दिएको आरोप...

२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
  • २०७६ चैत्र ६

काठमाडौं– सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। योसँगै २१ जना मन्त्री जिम्मेवारीमुक्त भएका छन्। ...

सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
  • २०७६ चैत्र ६

डोटी – डोटीस्थित सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बगेर बेपत्ता भएको छ । आइतबार दिउँसो शिखर नगरपालिका–६ अणिउलस्थित...

TOP