२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

धनगढी–बाजुरा हवाई सेवा २० वर्षपछि पुनः सुरु

बाजुरा– झण्डै २० वर्षअघि रोकिएको धनगढी–बाजुरा हवाई सेवा पुनः सुरु भएको छ। द्वन्द्वकाल सुरु भएयता रोकिएको हवाई सेवा पुनः सुरु भएको हो।

शुक्रबारदेखि साप्ताहिक उडान भर्ने गरी समिट एयरले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीदेखि बाजुराको कोल्टी विमानस्थलका लागि उडान भर्न सुरु गरेको छ। समिट एयरले शुक्रबार बाजुराको कोल्टीदेखि धनगढी र धनगढीदेखि कोल्टीका लागि उडान भरेको नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले बताए।

२० वर्षअघि बाजुरा धनगढीसँग सिधा हवाई सेवामा जोडिएको र द्वन्द्वको समयमा विमानस्थलमा आक्रमण भएपछि धनगढीसँगको हवाई सम्पर्क अवरुद्ध भएको थियो। बाजुरा नेपालगंंजसँग हवाई सेवामा जोडिए पनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन। हवाई सेवामा बाजुरा धनगढीसँग जोडिएपछि स्थानीयले खुसी व्यक्त गरेका छन्।

नागरिक सेवा सरकोकार मञ्च बाजुराका संयोजक जनेश भण्डारीले विगतका वर्षदेखि नै बाजुरा प्रदेश राजधानी धनगढीसँग हवाई सम्पर्कमा जोडिनु पर्ने माग नागरिकस्तरमा बढेको र अहिले सो सेवाको शुरुवात भएकोमा खुसी लागेको बताए।

बाजुरा धनगढीसँग हवाई सेवामा जोडिएकाले यहाँका नागरिकलाई प्रदेश राजधानी जान आउन सहज हुने अपेक्षा गरिएको छ। पहिले कच्ची रहेको कोल्टी विमानस्थल गत वर्ष मात्रै कालोपत्रे भएको थियो।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ भाद्र २७

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP