२०७९ मंसिर २३, शुक्रबार
December 9, 2022, Friday

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५३१५ पुग्यो

शुक्रवार सुदूरपश्चिम प्रदेशका थप एक सय जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशाला र प्रदेश बाहिरका अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा थप एक सय जनामा संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच सय २९ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालले जानकारी दिए। उनका अनुसार संक्रमण पुष्टि हुनेमा डोटीको शिखर नगरपालिकाका १३, केआईसिंह नगरपालिकाका दुई र जोरायल गाउँपालिकाका एक जना रहेका छन्।

अछामको साँफेवगर नगरपालिकाका २५, पञ्चदेवल विनायक नगरपालिकाका १० र मेल्लेख गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको उनले बताए। डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई र बैतडीको सिगास गाउँपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय २६ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण देखिएको छ।

कैलालीका ३४ र अछामका दुई जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार धनगढी उप–महानगरपालिकाका १४ महिला र १६ पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका चार पुरुष रहेका छन्। उता अछामको बान्नीगढी जयगढका एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अन्य विभिन्न प्रयोगशालमा भएको परीक्षणमा सुदूरपश्चिमका थप ८ जनामा संक्रमण पुष्टि भएको बताए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार तीन सय १५ पुगेको छ। सबैभन्दा बढि कैलालीमा एक हजार चार सय ६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमण पुष्टि भएका मध्ये चार हजार तीन सय ४६ जनाले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भएको छ।  
 

Related News

बैतडीमा जिप दुर्घटना,  एक जनाको मृत्यु
बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु
  • २०७७ भाद्र ५

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।...

TOP