२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

बमजन आश्रममा प्रहरीले फेरि मार्‍यो छापा

बलात्कार, हत्या र मानिस बेपत्ता पारको आरोप लागेका तपश्वीको भेष गर्ने रामबहादुर बमजनको आश्रममा फेरि छापा मारेको छ।

बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुलीस्थित बमजन आश्रममा छापा मारेको एसपी रन्जु सिग्देलले बताइन्।

‘बमजनलाई विभिन्न उजुरीमा पक्राउ गर्ने आदेश छ। पटकपटक छापा मार्दा पनि उनी भेटिएका छैनन्। यसपालि भने उनी आश्रममै छन् भन्ने सूचना पाएपछि सिआइबी टोली आएको थियो,’ सिन्धुली जिल्ला प्रहरी प्रमुख समेत रहेकी सिग्देलले भनिन्, ‘हामीले यहाँबाट सपोर्टमात्र गरेको हो।’

बमजन भने आश्रममा नभेटिएको उनले बताइन्। प्रहरीले आश्रमका विभिन्न भवन र वरिपरि खोजेको थियो। बमजनको आश्रम वरीपरि घना जंगल छ।

यसअघि माघ ४ गते पनि प्रहरीले छापा मारेको थियो। तर उनी भेटिएका थिएनन्।

बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ।

बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्।  बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइवा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्।

बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दाकुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन्। आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ।

बमजनले आश्रममा बस्ने नाबालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप छ। गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। अहिले गंगामाया काठमाडौंस्थित बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छन्।

सेतोपाटीले तीन महिना लामो अनुसन्धानपछि २०७५ साल पुस ११ गते बमजनका कर्तुतको फेहरिस्त तयार पारेर एकैसाथ चार स्टोरी प्रकाशित गरेको थियो।

ती स्टोरी प्रकाशित भएपछि बमजनका विभिन्न आश्रमबाट बेपत्ता पारिएका र हत्या गरिएका पाँचै जना आनी र अनुयायीका परिवारले प्रहरीमा जाहेरी दिएका थिए।

त्यसपछि नेपाल प्रहरीले अनुसन्धान सुरू गरेको थियो। केही महिनासम्म प्रहरीले अनुसन्धान जारी राखे पनि पछि त्यो काम सुस्ताएको थियो।

अनुसन्धानले गति नलिएपछि आफूले अवकास लिनुभन्दा केही अघि तत्कालिन प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आफ्नै मातहतमा विशेष टोली परिचालन गरेर अनुसन्धानलाई तीव्रता दिएका थिए।

सोही अनुसन्धानको निचोडका आधारमा प्रहरीले बमजनलाई पक्राउ गर्न जिल्ला अदालत सर्लाहीबाट अनुमति मागेको थियो। त्योबेला पनि सर्लाही आश्रममा छापा मार्दा बमजन भेटिएका थिएनन्।

अहिले भने बमजन त्यहीँ छन् भन्ने सूचनाका आधारमा सिआइबीको टोली आश्रम पुगेको हो।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ असार ४

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP